Comments Add Comment

अर्थले रकम नदिएपछि गोरखामा सञ्चालित जनता आवास कार्यक्रम अलपत्र


७ जेठ, गोरखा । अर्थ मन्त्रालयले रकम नदिएपछि गोरखाको जनता आवास कार्यक्रम प्रभावित बनेको छ ।

कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा ३ सय आवास निर्माणको काम शुरु भएको थियो । गन्धर्व, कुमाल, माझी, बोटे, दराइ, बराम, चेपाङ र दलित समुदायलाई लक्षित गरी आवास निर्माणको काम अघि बढाइएको हो । तर अर्थले रकम नदिएपछि अल्पसंख्यक र सिमान्तकृत वर्गका लागि निर्माण भइरहेका आवासहरु अपलत्र परेका छन् ।

निर्माण सम्पन्न घरहरुले पनि अनुदान रकम पाएका छैनन् । ऋण गरेर आवास निर्माण गरेका लक्षित समुदायका नागरिकहरु अलमलमा परेका छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले रकम अभावका कारण अनुदान वितरण गर्न नसकेको जनाएको छ ।

आवास निर्माणका लागि एक परिवारले तीन लाख ३२ हजार रकम चार किस्तामा पाउने प्रावधान छ । सम्झौता गरेर जग खन्न शुरु गरेपछि पहिलो किस्ताबापतको ८३ हजार, डीपीसी गरेपछि दोस्रो किस्ता वापतको ९९ हजार, गारो लगाउने काम सम्पन्न भएपछि तेस्रो किस्ता वापतको एक लाख १६ हजार र शौचालयसहित घर निर्माण सम्पन्न गरिसकेपछि चौथो किस्ता वापतको ३३ हजार रकम पाउने प्रावधान रहेको कार्यालयका सवइन्जिनियर एवं जनता आवास कार्यक्रमका सदस्य सचिव राजेश चित्रकारले बताए ।

उक्त शीर्षकअन्तर्गतको बजेट निकासामा रोक लगाएपछि समस्या भएको कार्यालयका प्रमुख रोशन श्रेष्ठले बताए । ‘अर्थ मन्त्रालयले यो शीर्षकमा पैसा दिन मानेन, रकम नभएपछि मन्त्रालयले यो कार्यक्रम रोक्न निर्देशन गरेको छ,’ उनले भने ।

जनता आवास निर्माणका लागि चालु आर्थिक वर्षमा ९२ लाख रकम निकासा भए पनि त्यसयता अरु रकम नआएको उनको भनाइ छ । ‘पहिलो पटक ९२ लाख रकम पठाइयो, त्यसपछि रकम नै पठाइएको छैन, अहिले कार्यक्रम स्थगित गर भनेर निर्देशन आयो, पहिले घर निर्माण गर्न लगायौं । अब अहिले कार्यक्रम रोक भनेको छ, पैसा पनि दिएको छैन, अब के गर्ने अन्योलमा परेका छौ,’ श्रेष्ठले भने ।

श्रेष्ठले फ्रिज भएर जाने अन्य शीर्षकको रकम जनता आवास कार्यक्रममा रकमान्तरण गरी पाउँ भनेर अर्थ मन्त्रालयमा निवेदन दिएको र त्यो स्वीकृत भएर आएपछि रकम बाँड्ने बताए ।

सम्झौता भएर काम शुरु गरेकाहरुलाई चालु आर्थिक वर्षमा रकम उपलब्ध गराउने र बाँकी लाभग्राहीलाई अर्काे आर्थिक वर्षमा उपलब्ध गराउने उनले बताए । आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारको मातहतबाट उक्त कार्यक्रम सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।

गोरखामा २ सय ५२ घरको निर्माण कार्य शुरु भइसकेको कार्यालयका सवइन्जिनियर चित्रकारले बताए । हालसम्म २ सय जनाले पहिलो किस्ता, ९७ जनाले दोस्रो किस्ता र २१ जनाले तेस्रो किस्ता पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अधिकांश लाभग्राहीले ८० प्रतिशत काम सम्पन्न गरे पनि रकम अभावका कारण अनुदान उपलब्ध गराउन नसकिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

गोरखाको मकैसिङ, ताङलीचोक, घ्याल्चोक, च्याङली, ताकुकोट, थुमी, लापु, सिमलगैरी लगायतका स्थानमा आवास निर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment