Comments Add Comment

स्थानीय बजेटमा अनियमितताः १० हजारमा शून्य थपेर एक लाख, कार्यालयमा ताला लाग्यो


७ जेठ, सप्तरी । उहिले साहुमहाजनले अनपढ ऋणीलाई तमसुकमा सुटुक्क अंक थपेर ऋणमा चुर्लुम्म डुबाउने गरेका थिए । यस्तो फट्याइँ अहिले स्थानीय तहमा सरेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ ले १० हजार रुपैयाँको कागजमा पछाडिबाट एउटा शून्य थप्दै एक लाख बनाएर रकम निकासा गरेको खुलासा भएको छ । जनप्रतिनिधीहरुले नै जथाभावी तरिकाले आफू निकटका गैरसरकारी संस्थाहरुलाई कार्यक्रम वितरण गरिरहँदा विष्णुपुर गाउँपालिका–६ ले सूचीकृत नै नभएका संस्थालाई बजेटमा शून्य थपेर रकम निकासा गरेको पाइएको हो ।

गाउँपालिका र वडा कार्यालयमा सूचीकृत नै नभएका संस्थालाई रु १० हजार दिएर आँखा शिबिर गर्न लगाउने सम्झौता गरेको थियो । यो वडाले पछि १० हजारमा एउटा शून्य थपेर एक लाख रुपैयाँ बनाएर रकम निकासा गरेको पाइएको छ ।

दोष कसको ?

शून्य थपेर एक लाख बनाई रकम निकासा गरेको स्थानीयबासीले थाहा पाएपछि यसको खोजबिन थालिएको छ । स्थानीयबासी आइतबार वडा कार्यालयमा पुगेर जनप्रतिनिधि र कर्मचारीहरुबाट यसको जवाफ मागेका छन् । तर, चित्तबुझ्दो जवाफ नपाएपछि उनीहरुले कार्यालयमै ताला लगाइदिएका छन् ।

वडा अध्यक्ष बहादुर सदाले आफूले कुनै काम नगरिरहेको र सम्पूर्ण कामहरु वडा सदस्य रामकुमार रायले गरिरहेको भन्दै पन्छिए । रायले भने वडा अध्यक्ष सदाले भने अनुसार पछाडिबाट शून्य थपेर एक लाख रुपैयाँ बनाइएको स्वीकार गरे । उनले भने, ‘मलाई जसरी सल्लाह दिइयो, मैले पनि त्यसरी नै गरेको हुँ ।’

आँखा शिविर गराउन १० हजारकै बजेटमा सम्झौता भएपनि गाउँपालिकाको कार्यसमितिले संशोधन गरेर एक लाख रुपैयाँ बनाएकाले यसमा आफ्नो दोष नरहेको वडा अध्यक्ष सदा बताउँछन् । आफ्नो वडामा सूचिकृत भएका गैरसरकारी संस्थालाई शिविरको काम नदिई विषहरियाको संस्थालाई दिनु कमजोरी भएको भने उनले स्वीकार गरे ।

वडा सचिव भुवनेश्वर राउतले आफू कर्मचारी भएकाले जनप्रतिनिधिहरुले गरेको काममा विरोध गर्न नसक्ने बताए । वडा सचिव राउतले शून्य छुटेकाले पछिबाट थपिएको बताएपछि गाउँलेहरुले उनलाई घेराउ गरेर र्‍याखर्‍याख्ती पारेका थिए ।

आरोप अनगिन्ती, लगाइयो ताला

विजष्णुपुर गाउँपलिका वडा नम्बर ६ का लागि छुट्याइएको बजेट अनुसार जनप्रतिनिधिहरुले गोप्य रुपमा काम गरिरहेको र व्यापक अनियमितता भएको गाउँलेहरुले आरोप लगाएका छन् । वडा नम्बर ६ मा निर्माण हुने विकासका कामको लागि गोप्य रुपले वडा नम्बर ७ का उपभोक्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको स्थानीयहरुको आरोप छ ।

महिलाहरुले कृषि सामाग्रीहरु वितरण नगरी वडा सचिव भुवनेश्वर राउतले घरमा प्रयोग गरेको, नम्बरी जग्गामा ग्राभेल गर्ने गिट्टीसहितको माटो खसाउने काम गरेको आरोपसमेत लगाए ।

परमेश्वरी शर्माले सिलाई, कटाई, मैनबत्ती, भुजिया बनाउने घरेलु तालिमहरु गाउँका महिलाहरुले थाहै नपाइ सम्पन्न भएको बताइन् ।

जनप्रतिनिधिदेखि कर्मचारीसमेतले मनोमानी तरिकाले काम गरेको, व्यापक अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयवासीले आइतबार तालाबन्दी गरेका छन् ।

कमिशनको लोभमा जनप्रतिनिधिहरुले गाउँलेहरुलाई जानकारी नै नदिई कार्यक्रमहरु गर्न लागेको भन्दै गाउँलेहरुले जनप्रतिनिधिहरुलाई कार्यालय कोठाबाट बाहिर निकाली ताला लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment