Comments Add Comment

कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम–नेपाल बन्छ, विकास गरेर धनी भइन्छ

घोषणापत्र र रारा सम्बोधनको फ्युजन


७ जेठ, काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम वाम गठबन्धनको चुनावी घोषणा र प्रधानमन्त्री केपी शर्मा ओलीको रारा सम्बोधनमा आधारित भएर आउँदैछ ।

अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा वाचन गर्ने नीति तथा कार्यक्रममा कम्युनिस्ट पार्टीको सरकारले गर्ने कामहरुको क्यालेन्डरसहित सम्बृद्धिका योजना समेटिएको छ ।

सम्बृद्ध नेपाल, सुखी नेपाली भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम तयार पारिएको एक मन्त्रीले बताए । मुलतः हाम्रो चुनावी घोषणापत्र र प्रधानमन्त्रीले नयाँ वर्षको दिन राराबाट गरेको सम्बोधन पढेपछि नीति कार्यक्रम कस्तो आउँदैछ भन्ने बुझ्न सकिन्छ’ ती मन्त्रीले भने ।

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाका योजनाहरुलाई जोड दिइएको छ । वृद्ध, अशक्त, बालवालिका, गरिवीको रेखामुनी रहेका र सिमान्तकृत समुदायलाई लक्षित गरेर नयाँ कार्यक्रम समावेश गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै उर्जाको विकास, रेलमार्ग र जलमार्ग सहितको ‘कनेक्टिीभिटी’का आयोजनाहरुका विस्तृत कार्यक्रम समेटिएका छन् । सामाजिक न्याय सहितको विकास गर्ने योजनाहरु नीति कार्यक्रममा समावेश गरिएका छन् ।

प्राबिधिक शिक्षालाई ७० प्रतिशतमा पुर्‍याउने र साधारण शिक्षालाई ३० प्रतिशतमा झार्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ । तीब्र गतिको विकासलाई सरकारको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको छ ।

आर्थिक अभावका कारण कुनै पनि बालवालिकाले पढाइ छाड्नु पर्ने अवस्थाको अन्त्य गर्न नीति तथा कार्यक्रमले विशेष प्याकेज अघि सार्ने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रममा विदेशी लगानीसँग हातेमालो गर्ने, लगानी मैत्री वातावरण बनाउने, अनावश्यक प्रशासनिक झन्झट हटाउने सरकारको लक्ष्य रहेको सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

उनले भने, ‘नेपाल बन्छ र विकास गरेर धनी भइन्छ भन्ने विश्वास जनतामा जगाउने प्रधानमन्त्रीको घोषणा हो, नीति तथा कार्यक्रम जनतालाई त्यो विश्वास जगाउने गरी आउँदैछ । जुनसुकै चुनौतीको पनि पहाड नाघ्न सकिन्छ र नेपाल बन्छ भन्ने आत्मविश्वस जगाउने कुरामा नीति कार्यक्रम केन्द्रित हुनेछ । कम्युनिस्ट सरकारले जनताको अपेक्षालाई विफल हुन दिदैन ।

सरकारको नीति तथा कार्यक्रमले आगामी ५ वर्ष कम्युनिस्ट पार्टीले कसरी सत्ता सन्चालन गर्नेछ भन्ने संकेत दिनेछ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा आगामी ५० वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रमले पनि घोषणापत्रको उद्देश्यलाई छुन खोजेको बताइएको छ ।

सरकारको नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे रक्षामन्त्री ईश्वर पोखरेलसँग गरिएको संक्षिप्त कुराकानीः

कम्युनिस्ट पार्टीको एकल बहुमतको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम ल्याउँदैछ, कस्ता योजना समेटिएका छन् ?

यो नीति तथा कार्यक्रममा मुलतः कम्युनिस्ट पार्टीले सम्बृद्ध नेपाल र सुखी नेपालीको जुन नारा अघि सारेर चुनाव जितेको छ, त्यसको कार्यन्वयनका योजना आउने हुन् । हामीले निर्वाचनको बेला संयुक्त घोषणापत्र जारी गरेका थियौं, त्यो घोषणापत्रले जे हाम्रो कार्यक्रम प्रतिबद्धता र योजना अघि सारेको थियो ती कुरानै मुलतः घोाषणपत्रमा प्रतिबिम्बित हुने हो ।

यो वर्षमा केन्द्रित भएर नीति कार्यक्रम एकप्रकारका हुन्छन् । सँगसँगै आउने दिनमा हामी कुन दिशामा मुलुकलाई लैजान्छौं भन्ने संकेतको प्रक्षेपण गर्छौं । नीति कार्यक्रमलाई राष्टपतिज्यूले पढ्नुहुन्छ,संयुक्त संसद बैठकमा । त्यसैले मसिनो गरि अहिले बताउन सकिन्न । नीति कार्यक्रम मुलतः घोषणपत्रमा आधारित हुन्छ भनेर बुझ्नुस ।

अब ५ वर्ष त कम्युनिस्ट सरकार चल्ने भयो, त्यो ५ वर्षका योजना त नीति कार्यक्रममा आउलान् नि ?

हाम्रो घोषणापत्रमासामान्य चुनावका अमूर्त कुरामात्र छैनन् । त्यो घोषणापत्रमा समयतालिका सहितको वर्किङ क्यालेन्डर छ । हामी एक वर्षमा के गर्छौ,पाँच वर्षमा के गर्छौ र यस्तै सरकार रहँदा दश वर्षमा के गर्छौ भन्ने हाम्रो लक्ष्य छ । त्यस अनुसारनै हामी जाने हो ।

भन्नुको मतलब अब कम्तिमा १० वर्ष सत्तामा रहन्छौं भन्ने हो ?

यसमा लुकाउनुपर्ने कुरा केही छैन । चुनावको बेला हामीले अबको ५० वर्षपछिको नेपालको प्रक्षेपण पनि गरेका थियौं । त्यसबेला लौ ५० वर्ष सरकार चलाउछौं भने, अधिनायकवादको गन्ध आयो भनेर हामीमाथि आरोप पनि लाग्यो ।

हामी त जनताको मन जितेर ५० वर्ष होइन वर्षौवर्ष शासन गर्न चाहान्छौं,यसमा लुकाउने कुरै छैन । हाम्रा नीति कार्यक्रम र बजेटबाट जनताको समर्थन लिएर वर्षौ सरकार सन्चालन गर्न सक्छौं । अहिले चाहिँ यहि सरकार रहँदा हामीले १० वर्षसम्मको योजना त बनाउछौं । यसलाई अन्यथा लिनु जरुरी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment