Comments Add Comment

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नु मधेस विरोधी कामः यादव


७ जेठ, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाएकाे छ ।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको बताए ।

प्रेस फोरम पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद् यादवले प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको अरोपसमेत लगाए । ‘प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भन्नेमा लागेका छन् । मुख्य मन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने काम निन्दनीय हो । यसलाई सच्याउनुपर्छ ।’

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए । तर सरकारले प्रदेशस्तरमा कानून, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै राउतको भ्रमण रोकेको थियो ।

त्यसैगरी उनले जनताबाट पराजित भएका कांग्रेसका एक नेताले वीरगञ्जमा पत्रकार सम्मेलन गरेर मुख्य मन्त्रीको राजीनामा माग्नु आपत्तीजनक कार्य भएको समेत बताए । आइतबार नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का सभापति विजय सर्राफले पत्रकार सम्मेलन गरेर मोदी भ्रमणका क्रममा लालबाबुको सम्बोधनप्रति आपत्ती जनाउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment