Comments Add Comment

विवादबीच न्यूयोर्कमा तेस्रो नेपाल डे परेड सम्पन्न, सहभागी भन्छन्– खल्लो भयो


न्युयोर्क । विगत दुई वर्षदेखि अमेरिकाको न्यूयोर्क शहरमा हुँदै आएको ‘नेपाल डे परेड’को तेस्रो संस्करण निकै विवादित बनेको छ । आइतबार म्यानह्याटन शहरमा विभिन्न जातजातिको पोशाकमा सजिएर परेडमा सहभागी हुन आएका अधिकांश व्यक्तिहरु खुलेर रमाउन सकिरहेका थिएनन् ।

परेडमा सहभागी हुनेलाई ‘आयोजक पक्ष’ र सहभागी नहुनेलाई ‘वहिष्कारवादी’ भन्ने टिकाटिप्पणीले यस क्षेत्रमा बसोबास गर्नेको सामाजिक सन्जाल भरिएका थिए ।

यसअघिका दुई संस्करण नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले आयोजना गरेको थियो । जसको अगुवाई तत्कालिन अध्यक्ष लुइसाङ्ग वाइबाले गरेका थिए, जो दुबै कार्यकाल त्यस संस्थाका अध्यक्ष थिए । आफ्नो कार्यकाल सकिएपछि वाइबाले नयाँ संस्था ‘नेपाल डे परेड’ मार्फत् तेस्रो संस्करण गर्न खोज्दा फिप्नाले आपत्ति जनाएको थियो । विवादको चुरो नै यहि थियो ।

वाइबाले भने परेड प्राविधिक रुपमा मात्र फिप्नाले गरेको र नयाँ संस्था मार्फत परेड गर्न सहयोग पुग्ने दाबी गरे । ‘परेड एउटा संस्थाको होइन पुरै नेपालीको हो त्यहि भएर यो संस्था मार्फत परेड गरिएको हो,’ उनले भने ।

यता फिप्नाका वर्तमान अध्यक्ष मानबहादुर रानामगर भने उक्त कुरालाई कुतर्कको संज्ञा दिँदै भने ‘पहिले फिप्नाले गर्न हुने अहिले एकाएक नयाँ संस्था चाहियो उहाँलाई ।’

परेडबारे विवाद भइरहँदा आइतबार परेडमा सहभागीहरुले भने आफू नेपालको लागि आएको भन्दै थिए ।

क्विन्स निवासी २५ वर्षीया रमा खतिवडाले भनिन्, ‘मलाई कसैसँग लिनुदिनु छैन, म आफ्नो राष्ट्रिय भेषभुषा लगाएर आफ्नो संस्कृति चिनाउन आएकी हुँ ।’

गत वर्ष करिब ५ हजार सहभागी परेडमा यस पटकको सहभागिता भने धेरै नै न्यून थियो । आयोजकहरुले २ देखि ३ हजार सहभागी रहको दाबी गरिरहँदा परेडमा सहभागीहरुसंग कुराकानी गर्दा बढीमा १२ सय सहभागी रहेको जनाए ।

हरेक वर्ष परेडलाई सफल बनाउन सक्रिय भूमिका निभाउने स्थानीय संचारकर्मी शैलेश श्रेष्ठ योपटक भने परेडमा सहभागी भएनन् ।

‘म बहिष्कार भन्ने शब्द प्रयोग गर्न चाहन्नँ तर आयोजक भाइहरुले अन्य पक्षलाई नमिलाई इमोसनल ब्ल्याकमेलिङ गरेको कारण मैले यो निर्णय लिएको हुँ,’ उनले भने, ‘मैले सक्दो प्रयास गरेँ विवाद मिलाउनका लागि तर भाइहरुको अहंको अगाडि मेरो केही लागेन ।’

यस पटकको परेडलाई ३० भन्दा बढी संस्थाले बहिस्कार गरेका थिए । नाम नखुलाउने सर्तमा परेडमा सहभागी एकले भने, हेर्नुस् न पहिला १७ वटा झाँकी थिए, अहिले २ वटा मात्रै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment