Comments Add Comment

विकासमा बेथितीः कारवाही सिफारिसको फाइल नै गायव !

७ जेठ, विराटनगर । सुनसरीको तेतरियास्थित सिंघीया खोलाको पुल ०६० पुसमा निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा थियो । तर, यो पुल पूर्वनिर्धारित समय सीमा गुजि्रएको १४ वर्ष पूरा भए पनि बनिसकेको छैन । हालसम्म ३० प्रतिशत मात्र काम भएको छ ।

१ करोड २१ करोड ५८ हजार रुपैयाँमा विवेक निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो । पुल निर्माण आयोजनाको कार्यालयबाट निर्माण कम्पनीले ९० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरी कार्यालयका अनुसार ठेकेदार कम्पनी काम अधुरै छाडेर अहिले सम्पर्क बाहिर छ । जसका कारण सुनसरी मोरङ पुल निर्माण आयोजनाले यो आर्थिक वर्षमा उसँगको ठेक्का प्रक्रिया रद्ध गर्नुपरेको छ ।

सुनसरी र मोरङ जिल्लामा स्थानीय सडकअन्तर्गत निर्माणको चरणमा रहेका धेरै पुलहरुमध्ये ठेकेदारको चरम लापर्वाहीको एउटा नमूना सिंघिया खोलाको पुल हो । सुनसरी र मोरङमा ठेकेदारको लापरवाहीबाट समयमै काम नसकिएका यस्ता धेरै उदाहरण छन् ।

पुल आयोजना कार्यालयका अनुसार सुनसरी मोरङ जिल्लामा निर्माण चरणमा रहेकामध्ये अधिकांश पुल १० वर्षभन्दा बढी समयसीमा गुजि्रइसकेका छन् । समयमै पुल निर्माण नगर्दा पनि नियामक निकायले ठेकेदारलाई कार्वाही गरेको उदाहरण भने देख्न र भेट्न कठिन छ ।

ठेकेदारले सम्झौतामा उल्लेख भएअनुसार समयमा काम सम्पन्न नगरेको खण्डमा त्यस्ता ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर कार्वाही गर्न सक्ने कानुनी प्रावधान छ । सुनसरी मोरङ पुल निर्माण आयोजनाका अनुसार दुई जिल्लामा निर्माणको चरणमा रहेका पुलहरु दुई करोडदेखि १२ करोडसम्म लागतका छन् ।

जसमा सम्झौता भएको मितिले ३६ महिनाभित्र यी पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।

१० वर्षदेखि एउटै पुल निर्माण

पुल निर्माण आयोजनाका अनुसार सुनसरी मोरङमा निर्माणका चरणमा रहेका साना ठूला गरी करिव एक दर्जनको हाराहारीमा रहेका पुल कम्तीमा १० वर्षदेखि निर्माणको चरणमा छन् ।

नाम चलेका कालिका ओएसिस जेभी, एशियन’निलगिरी/विराट जेभी, कान्छाराम कन्सट्रक्सन, सूर्य एण्ड सन्स प्रालि, वाईपी गौरी पार्वती जेभी, खाम्पाचे/धुलिखेल/हिमालयन जेभी, नागार्जुन एचएम बिल्डर्स, कृष्ण निर्माण सेवा, फ्युचर स्टार/सराजुदिन जेभी लगातका निर्माण कम्पनीले ती पुलको निर्माणको जिम्मा पाएका छन् ।

सडक विभागले तोकेको समयमा काम पूरा नगरेका यस्ता निर्माण कम्पनीलाई कालो सूचीमा राखी कार्वाही नगर्दा जिल्लाका अन्य विकास निर्माणका कामको ठेक्कामा पनि यीनै कम्पनीहरुको हालीमुहाली देखिन्छ ।

निर्माण कम्पनीले पुल निर्माणका चरम लापर्वाही गर्दा पनि नियामक निकाय उदासिन भइदिँदा पुल निर्माणको प्रगति अवस्था पनि टिठ लाग्दो देखिन्छ । यी ठेकेदार कम्पनीलाई स्थानीय सडकअन्तर्गत निर्माणका लागि जिम्मा दिएका पुल बढीमा सम्झौता भएको ३६ महिना गरिसक्नु पर्ने छ । तर पनि पुल निर्माणको चरण भने अहिले पनि जारीे छ ।

‘दल निकटका ठेकेदारलाई कारवाही गर्न गाह्रो’

सुनसरी मोरङ पुल आयोजनाका प्रमुख कैलाश साहले आर्थिक वर्ष २०५७/५८ सालबाट ठेक्का लागेका पुल अहिले पनि निर्माणको चरणमा छन् । कतिपय पुल त ठेकेदारले पुलको निर्माण बीचैमा छाडेर भागेको अबस्था समेत छ ।

कार्यालय प्रमुख साहले भने, ‘ठेकेदारलाई कार्वाहीको त कुरा परै जाओस्, उनीहरुलाई अहिलेपनि काम सम्पन्न गराउन फकाउनु पर्ने अबस्था छ ।’ उनले पुल निर्माणको ठेक्का लिने अधिकांश ठेकेदार मन्त्री र राजनीतिक दल निकटका भएकाले कार्वाही गर्न सम्भव नभएको बताए ।

समयमै काम सम्पन्न नगरेको भनेर कार्वाहीका लागि विभागमा सिफारिस गरेपनि विभागबाट फाइल नै गायव हुने गरेको उनको भनाइ छ ।

सुनसरी र मोरङमा ३७ वटा पुल बन्दै

पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा साना-ठूला गरी न्युनतम २ करोडदेखि १४ करोड रुपैयाँसम्मका ३७ वटा पुल निर्माण भइरहेका छन् ।

जसमा चालु आर्थिक वर्षमा मात्र १५ वटा पुल निर्माणको ठेक्का लागेर निर्माणको काम अघि बढेको छ । अन्य पुल भने अघिल्ला अघिल्ला आर्थिक वर्षमा ठेक्का लागेका र केही भने १५ वर्षअघि ठेक्का लागेका समेत छन् ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि पुल निर्माणका लागि सडक विभागबाट दुई पटक गरी १५ करोड ६० लाख रुपैयाँ निकासा भएको छ । तर अहिले पुल निर्माणको काम गरिरहेका र बिल पेश गरेका ठेकेदारहरुलाई ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

सडक विभागबाट सानो आकारमा बजेट निकासा हुन्छ, पुल आयोजनाका प्रमुख साहले भने, ‘काम पूरा गरेको बिल भुक्तानीका एक अंश पनि रकम कार्यालयले ठेकेदारलाई दिन नसकेको अवस्था छ, यस्तो अबस्थामा निरिह भएर ठेकेदारलाई तंर्साउने धम्काउने भन्दापनि काम लिने उपायमा हामी सधैं रहने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment