Comments Add Comment

कस्तो आउला नयाँ बजेट ? यस्ता छन् अर्थमन्त्रीको संकेत


७ जेठ, काठमाडौं । सरकार अहिले आगामी आर्थिक वर्ष -आव) २०७५/७६ को बजेट निर्माणको अन्तिम तयारीमा छ । बजेट वक्तव्य आउन अब करिब एक साताको अवधि बाँकी रहँदा अर्थ मन्त्रालयको ‘कोर टिम’ यसमा जुटिरहेको छ । यसबीचमा आगामी बजेट कस्तो आउला भन्नेमा आमचासो छ ।

अर्थमन्त्री खतिवडाले सार्वजनिक कार्यक्रममा सरकारी ढुकुटी कमजोर भएको कुरा प्रायः छुटाउँदैनन् । उनको यस्ता अभिव्यक्तिमा नै आगामी आवको बजेट विगतका बजेटका तुलनामा ‘टाइट’ हुने छनक स्पष्ट मिल्छ ।

मुलुकको समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छैनन् भने सरकारी ढुकुटी सम्भवतः इतिहासकै कमजोर छ । जसलाई गत १६ चैतमा अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत स्वेतपत्रले पनि प्रश्ट्याएको छ । उक्त स्वेतपत्रमा भनिएको छ – सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि नेपाल राष्ट्र बैंकको गभर्नसमेत भइसकेकाले मन्त्री खतिवडा अर्थतन्त्रका बारेमा आफैं बढी जानकार छन् । त्यसैले पनि बजेट निर्माणमा उनी नै ‘हावी’ छन् । यतिसम्म कि आगामी आवको बजेटको सिद्धान्त र प्रागमिकता तय गर्दा आफूहरूसँग छलफलसम्म नगरेको भन्दै केही पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीलेसमेत सार्वजनिक असन्तुष्टि व्यक्त गरे । मन्त्रालयका सचिव, केही सहसचिव र सल्लाहकारको ‘सानो टिम’ ले बजेटको अन्तिम तयारी गरिरहेको छ ।

विगतमा गभर्नर हुँदाताका अर्थतन्त्रलाई ‘ट्रयाक’ मा ल्याउन जोखिम मोलेका अर्थमन्त्री खतिवडाले आगामी आवको बजेटमा पनि त्यही स्वरुपमा प्रकट हुने अनुमान धेरैको छ, भलै यो निकै चुनौतीपूर्ण किन नहोस् । प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले उनलाई बजेट निर्माणमा एक हदले ‘फुक्काफाल’ छाडेका छन् ।

आगामी आवको बजेट मुलतः मुलुकको अर्थतन्त्रमा देखिएको अराजकता सुधार गर्ने पहिलो कदम हुने स्पष्ट संकेत अर्थमन्त्री खतिवडाले गर्दै आएका छन् । गत २६ वैशाखमा सरकारको आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले भनेका थिए – विद्यमान चुनौतीको सामना र अवसरको उपयोग गरी दीर्घकालीन विकासका अपेक्षित लक्ष्य हासिल गर्न आगामी बजेट असल सुरुवात हुनेछ ।

संविधानमा उल्लेखित नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको परिधिभित्र रहेर नयाँ बजेट तय गरिने बताएका थिए । बजेट निर्माणको मूलभूत सिद्धान्त यही नै हो ।

वाम गठबन्धन पक्षधर भएकाले वाम घोषणापत्र, स्वेतपत्र तथा केही समयअघि प्रस्तुत गरेको बजेटका प्राथमिकता र सिद्धान्तकै सेरोफेरोमा बजेट बन्ने विषय सैद्धान्तिक हो । तर, यसबीचमा उनले राज्यको ढुकुटीको चावी लिने व्यक्ति निर्मम हुनुपर्ने इंकित गरेबाट आगामी बजेट साविकको जस्तो नहुने प्र्रष्ट छ ।

यसबीचमा सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका लगायतका कानूनी प्रावधान ल्याएर सरकारले कर्मचारीको विदेश भ्रमण, भत्ता सुविधादेखि होटलमा कार्यक्रम गर्न कडाई गर्नेसम्मका नीतिगत व्यवस्था गर्न भूमिका खेलेर उनले अर्थतन्त्रको अराजकता न्यूनीकरणमा आफ्नो दिव्यदृष्टि प्रकट गरिसकेका छन् ।

बजेटको प्राथमिकतामार्फत् उनले साना आयोजनालाई साविकमाझैं बजेट नछर्नेसम्म बताइसकेका छन् । बैंक तथा वित्तीय संस्थालाई कस्नेगरी नयाँ बजेटले केही व्यवस्था गर्नसक्ने आँकलनसमेत अधिकारीहरूको छ ।

यसबाहेक नयाँ बजेट आउँदै गर्दा कर्मचारीको तलव वृद्धि हुन्छ कि हुँदैन, करको दर बढ्छ कि बढ्दैन, सामाजिक सुरक्षाको विषयमा केही सम्बोधन हुन्छ कि हुँदैन लगायतका विषयमा आम चासो रहन्छ ।

तर, वर्तमान अर्थमन्त्री डा. खतिवडा राज्य ढुकुटीमा चाप पर्ने कार्यक्रम ल्याउने पक्षमा नरहेको अधिकारीहरू बताउँछन् । ‘अर्थमन्त्री स्वयंले बारम्बार राज्य ढुकुटी अत्यन्तै चापमा रहेको र त्यसलाई कस्नु आवश्यक रहेको बताउँदै आउनुभएको छ,’ एक अधिकारी भन्छन्, ‘यस हिसावमा पनि आगामी आवको बजेटमा लोकपि्रय कार्यक्रम आउने अपेक्षा अत्यन्त न्यून छ ।’ यसबीचमा राज्य ढुकुटीमा चाप पर्ने स्वेच्छिक अवकास, निर्वाचन क्षेेत्र पूर्वाधार लगायतका कार्यक्रममासमेत बजेट रोकिएको छ ।

राज्य ढुकुटीको प्रमुख स्रोत राजस्वका सम्बन्धमा भने यसपटकको बजेट अलिक निर्मम हुनसक्ने आँकलन अधिकारीहरूको छ । राजस्व चुहावटमा निर्मम नीति बजेटले ल्याउने अधिकारीहरू बताउँछन् । आगामी आवमा राजश्वको दर समेत बढ्न सक्ने एक अधिकारी बताउँछन् । ‘राज्यको खर्च अत्यधिक बढेर गएको छ,’ ती अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा आम्दानीको स्रोतको जोहोका लागि मनासिव दरमा राजश्वका दर वृद्धि र वैदेशिक सहयोग अभिवृद्धि र आन्तरिक तथा बाहृय लगानी प्रवर्द्धनका लागि पनि स्पष्ट नीति बजेटले ल्याउने अनुमान गर्न सकिन्छ ।’

यसैबीच सरकारले आजै आगामी आवको नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment