Comments Add Comment

नक्सापास नगरी सेनाले बुटवलमा बनायो चारतले भवन

उपमहानगरपालिका भन्छ : स्थानीय सरकार र कानुनको अपमान

७ जेठ, बुटवल । नेपाली सेनाले नक्सापास नगराई बुटवलमा चारतले व्यवसायिक भवन बनाएको छ । सेनाले बुटवल उपमहानगरपालिकामा नक्सापास नगराई वडा नं ४ स्थित मुख्य व्यापारिक केन्द्र अमरपथमा टक्सार कम्प्लेक्स  (व्यवसायिक भवन) बनाएको हो ।

भवन बनाउनुअघि नक्सापास गर्न बेवास्ता गरेको सेनाले भवन बनिसकेपछि भने नक्सा पासका लागि पटकपटक उपमहानगरपालिकामा प्रयास गरे पनि प्रक्रिया मिचेर भवन बनेको भन्दै उपमहानगरपालिकाले नक्सा पास गरिदिएको छैन ।

भवन बनेपछि सेनाले सो ठाउँमा ४ तले भवन बनेको छ भन्ने ब्यहोराको सामान्य पत्र भने उपमहानगरपालिकाबाट लगेको नक्सा शाखा प्रमुख ज्ञानप्रसाद अर्यालले जानकारी दिए ।

‘भवन बनाउनुअघि उहाँहरु आउनुभएन, बनिसकेपछि पटक पटक नक्सापास गराउन प्रयास गर्नुभयो तर ऐन, कानुन विपरीत हुने भएकाले हामीले दिएका छैनौं’ अर्यालले भने ।

भवन बनाउनुपूर्व खानेपानी र विद्युत जडानका लागि खानेपानी संस्थान र विद्युत प्राधिकरणले स्थानीय सरकारको सिफारिस अनिवार्य माग्ने गर्दछ । तर सेनाले उपमहानगरपालिकाको सिफारिसविनै पानी र विद्युत जडान गरेको छ । यो व्यवसायिक भवन मात्र होइन, नेपाली सेनाले बुटवल रामनगरमै पेट्रोल पम्प र अन्य ब्यारेक बनाउँदा पनि स्थानीय सरकारसंग नक्सापास नगराई आफूखुशी बनाउने गरेको छ ।

राष्ट्रिय सुरक्षासंग सम्बन्धित हातहतियार भण्डारण प्रयोजनको भवन बनाउनमात्रै सेनाले सम्बन्धित निकायसंग नक्सापास गराउनु नपर्ने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ (२८) मा निजी वा सार्वजनिक भवन निर्माण गर्नुअघि भवनको इन्जिनियरिङ डिजाइनको स्थानीय सरकारबाट अनिवार्यरुपमा नक्सापास गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

सेनाले भवन निर्माणका क्रममा ऐन कानुनलाई बेवास्ता गरेर स्थानीय सरकारको समेत अपमान हुने गरी काम गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् । ‘ऐन कानुन सबैले परिपालना गर्नुपर्ने हो, कानुन भन्दा माथि कोही पनि हुंदैन भन्ने कुरा सेनाले बुझ्नुपर्छ’ उपप्रमुख आचार्यले भनिन् ।

उपमहानगरपालिकाबाट नक्सापास विना बनेको टक्सार कम्प्लेक्स भाडामा दिन सेनाले टेण्डर आहृवान गरे पनि भाडा दर महंगो भएको भन्दै व्यवसायीले भाडामा लिएका छैनन् । नेपाली सेनाको बुटवलस्थित २२ नंं बाहिनीले उक्त भवन सेनाको पृतनाले बनाएकाले केन्द्रमै बुझनुपर्ने जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment