Comments Add Comment

नेम्वाङले भने– वेपत्ताको सपना नेकपाले पूरा गर्छ

 ७ जेठ, काठमाडौं । पूर्व सभामुख एवम् नेकपाका नेता सुवास नेम्वाङले सहिद तथा वेपत्ता ‘योद्धा’को सपना नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने बताएका छन्।

पूर्व माओवादीको कार्यालयमा सोमबार आयोजित वेपत्ता योद्धा स्मृति दिवसमा बोल्दै नेम्वाङले सो धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘वेपत्ता योद्धाले देखेको सपना अब नेकपाले पूरा गर्छ।’

पहिलोपटक पेरिसडाँडा पुगेका नेम्वाङले मुलुकको परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने योद्धाहरुको उच्च सम्मान गर्नुपर्ने बताए । नेम्वाङले वेपत्ता योद्धाहरुको समस्या स्थायी रुपमा नै समाधान गर्न सरकार लागिरहेको बताए ।

नेता नेम्वाङले वाम एकताबाट सहिद वेपत्ता परिवार अझ खुसी हुनुपर्ने बताए । ‘देशको मुहार फेर्न कम्युनिस्टको स्थायी सरकार बनोस् भन्ने सहिद तथा वेपत्ता योद्धाको सपना पूरा हुँदै गएको छ,’ उनले भने, ‘संकटकालमा धेरै माअोवादी साथीहरूको मुद्दा मैले हेरेको छु, उहाँहरुको वलिदानले नै आज हामी यहाँ आइपुगेका हौं ।’

कार्यक्रममा दुई छोरा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत गुमाएका झापाका भीमबहादुर बस्नेतले तत्कालीन राज्यले वेपत्ता बनाएका १ हजार ९८ जनाको अवस्था अविलम्ब सार्वजनिक गर्न माग गरे ।

पूर्व माओवादीले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मृति दिवस मान्दै आएको थियो । ०५६ साल जेठ ७ गते तत्कालीन माओवादी नेता दण्डपाणि न्यौपाने, मिलन नेपाली, नवीन गौतम र कमला शर्मालाई सरकारले वेपत्ता बनाएको दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment