Comments Add Comment

बालापन खोसिएकी आमा

१४ वर्षमा आमा बनेकी ममताको मुटुको भल्भ फेरिँदै


७ जेठ, काठमाडौं । बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रको चौंथो तल्लामा रहेको सर्जिकल वार्डको बेड नम्बर ४ मा एउटी १४ वर्षीया बालिका आफ्नो काखमा सानी बच्ची खेलाइरहेकी छिन् । पत्याउन गाह्रो हुन्छ, एक महिने बच्ची उनकी छोरी हुन् ।

आफैं आमाको काखमा लुटुपुटु गर्ने उमेरमा सुुनसरीकी ममता मरिक आमा बनिन् । उनको कथा यतिमा सकिँदैन ।

छोरी जन्माएको निहुँमा उनलाई श्रीमानले घरबाटै निकाले । त्यसपछि उनको मुटुमा समस्या देखियो र विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरियो । तर, त्यहाँ उपचार हुन नसकेपछि इनरुवाका स्थानीय राकेश निरौलाको सहयोगमा काठमाडौं ल्याइएको हो । गगालालमा उपचाररत उनको स्वास्थ्यमा केही सुधार आएको छ ।

ममतालाई खान, बस्न तथा उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत निःशुल्क गरिएको अस्पतालले जनाएको छ । उनकी महिना दिनकी छोरी कुपोषणबाट ग्रसित छिन् । जसको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

ममतालाई भेट्न हामी अस्पताल पुग्दा उनी छोरीलाई कष्टसाथ काखमा लिएर अस्पतालको बेडमा बसिरहेकी थिइन् ।

आमा हुनुको अर्थ र महत्व बुझ्ने उमेर नै भएको छैन उनको । उनको आँखामा न आमा हुनुको गौरव झल्किन्छ, तर त यो बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ता । उनलाई केवल चाँडो बिसेक भएर अस्पतालबाट निस्किनु छ ।

यसरी भयो बिहे

इनरुवाको गढी गाउँपालिका वडा नं ५ स्थित सत्तरजोडाकी ममताकोे विवाह गत जेठमा सिराहा गोलबजार नजिकै रहेको मुशरिया गाउँ निवासी ३५ वषर्ीय प्रकाश मरिकसित भएको थियो । उनी विवाह गर्दा जम्मा १३ वर्षकी थिइन् । ममतालाई उदयपुर अम्बासी बस्ने आˆना फुपू तथा फुपाजुले जर्बजस्ती विवाह गरिदिएका थिए ।

‘फुपूले पहिले नै एक व्यक्तिबाट पटक-पटक गरी असी हजार रुपैयाँ लिइसकेकी रहिछन् । त्यही पैसा तिर्न उनले ममतालाई झुक्याएर ती व्यक्तिसित जबर्जस्ती विवाह गराइदिएकी रहिछन्’ ममताकी आमा २९ वषर्ीया भुट्टी मरिकलाई उधृत गर्दै सहयोगी राजेश निरौलाले भने । निरौलाले ममतालाई इनरुवाबाट नोबेल अस्पताल हुँदै सहिद गंगालालसम्म ल्याउन सहयोग गर्नुका साथै थप उपचारका लागि दिनरात नभनी सहयोग गर्दै आएका छन् ।

निरौलाका अनुसार भुट्टी तथा उनका श्रीमान् उपेन्द्र मरिकलाई त्यति बेलासम्म ममताको विवाहबारे कुनै जानकारी थिएन । फुपूको घर गएको ४/५ महिना बितिसक्दा पनि छोरीको कुनै खबर नआएपछि ममताका बाबुआमाले उनको बारेमा सोधीखोजी गरेका थिए । सोधिखोजीपछि उनीहरूले ममताको विवाह प्रकाशसित भएको थाहा पाए । केटा साउदीबाट फर्केको र राम्रै पैसा कमाउने हुँदा उनीहरुले कुनै गुनासो गरेनन् ।

छोेरी जन्मेपछि दुर्व्यवहार

भुट्टीका अनुसार ममतालाई विवाह गर्दासम्म पनि उनको सौता छ भन्ने थाहा थिएन । जेठी श्रीमती मरेकाले दोस्रो विवाह गर्न लागेको भनेका रहेछन् ।

वास्तविकता भने अर्कै थियो । त्यति बेला श्रीमान् प्रकाशसँग झगडा भएकाले पहिलो श्रीमती आˆना दुई बालबच्चालाई लिएर माइती गएकी रहिछन् । यो कुरा ममतालाई त्यति बेला मात्र थाहा भयो, जति बेला प्रकाशकी श्रीमती घर फर्किन् ।

आफू घर आइपुगेपछि प्रकाशकी पहिलो पत्नीले ममतालाई कज्याउन थालिन् । अवस्था त्यति बेला गम्भीर बन्यो, जब ममता गर्भवती भइन् र उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिइन् । छोरी जन्मेको पहिलो दिनदेखि नै ममतामाथि उनको परिवारले दुव्र्यवहार गर्नुका साथै सुत्केरी भएको तीन दिनमै कुटपिट गर्न थाले । ‘चौथो दिनमा ममतालाई काट्छु भनेर उनको श्रीमानले खुकुरीसमेत तेस्र्याएछन्,’ भुट्टीले भनिन् ।

छैटौं दिनमा बाबुलाई छोरी भेट्न बोलाएर बाबुकै साथ लगाएर घरनिकाला गरिएको थियो । सुत्केरी भएको सातौं दिनमा ममताको रक्तश्राव भएपछि उनलाई परिवारका सदस्यले सुनसरीस्थित सुनसरी जिल्ला अस्पताल भर्ना गराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि ममतालाई थप उपचारको लागि विराटनगरस्थित नोबल अस्पताल पुर्‍याइएको थियो ।

डेढ महिनाभित्र मुटुको भल्भ फेरिँदै

ममताको मुटुमा जन्मजात समस्या रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले जनाएको छ । उनको आउँदो डेढ महिनाभित्रमा मुटुको भल्भ फेरिने भएको छ ।

मुटुमा समस्या भएपछि एउटी महिलालाई आमा बन्न लगभग असम्भव हुने गर्छ । ममताको हकमा भने उनी सुत्केरी भएपछि मात्र उनको रोगबारे पत्ता लागेको थियो । ‘यो समस्या हुँदाहँुदै पनि ममताको बच्चा कसरी भयो भन्नेमा हामी आफैं चकित छौँ,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने ।

ममतासित उनको विवाहको बारेमा जानकारी लिन खोज्दा उनले विवाहको समयमा आफूलाई अनौठो महसुस भएको तथा फोटो खिच्न लाज लागेको प्रतिक्रिया दिएकी थिइन् । अहिले ममता आफ्नी आमा भुट्टी र छोरीविना एकछिन पनि बस्न सक्दिनन् । एकैछिन मात्र छोरी दायाँबायाँ लागिन् भने ममता उनलाई खोज्न थालिहाल्छिन् ।

ममतालाई आˆनो छोरीको जति माया छ, ममताको आमा भुट्टीलाई पनि आफ्नो छोरी र नातिनीको त्यति नै धेरै माया छ ।

भुट्टी अब आˆनी छोरीलाई कुनै पनि हालतमा त्यस घरमा पठाउने पक्षमा छैनन् । उनी भन्छिन्, ‘जे जस्तो भए पनि अब छोरी तथा नातिनीलाई आफंैसित राख्छु । तर त्यो घरमा कुनै हालतमा पनि जान दिन्न ।’

तीन छोरी र एक छोराकी आमा भुट्टी पहिलेदेखि नै आफ्ना सन्तानहरूको विवाह २० वर्ष पुगेपछि मात्र होस् भन्ने चाहन्थिन् । उनले आफ्ना छोराछोरीलाई आफूले झाडु लगाएर, ढकनी बुनेरै भए पनि जसोतसो पालिरहेकी थिइन् । ‘मेरो सोच त छोरी २० वर्ष पुगेपछि मात्र विवाह गरोस् भन्ने थियो । तर के गर्नु ?…’ बोल्दाबोल्दै भुट्टी निःशब्द भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment