Comments Add Comment

ट्रकोमा उन्मूलन गरेकामा विश्व स्वास्थ्य संगठनद्वारा नेपाल सम्मानित

७ जेठ, काठमाडौं । आँखामा लाग्ने खस्रे रोग  (ट्रकोमा) निर्मूलन गरेको भन्दै विश्व स्वास्थ्य संगठनलले नेपाल सरकारलाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई प्रमाण पत्र प्रदान गरी सम्मान गरेका हुन् । विश्व स्वास्थ्य संगठनको ७१ औ महासभामा भाग लिन जेनेभा पुगेको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरूबीच भएको दुईपक्षीय छलफलका क्रममा उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि तथा योजनाका विषयमा छलफल भएको थियो । त्यस क्रममा नेपालले हासिल गरेको उपलब्धि एवं यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका विषयमा मन्त्री अर्यालले स्मरण गराएकी थिइन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको ‘जनरल प्रोग्राम अफ वर्क (जीपीडब्लु) र नेपालमा सम्मृद्धिको सपना सहित अघि बढेको सरकारको योजना एकसाथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिइन् ।

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग प्रदान गर्न तथा नेपाली विज्ञहरूको अर्थपूर्ण सहभागितामा विश्व स्वास्थ्य संगठनका नीति, योजना तथा कार्यक्रमहरू जारी गरी विज्ञहरूलाई जिम्मेवारी दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन् ।

छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा विश्वस्त रहेको बताए ।

स्वास्थ्य क्षेत्रको संस्थागत विकास र सम्मृद्धिमा सहयात्री बन्न गरिएको आग्रहले आफू निकै उत्साहित भएको उनले बताए ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय पद्मा अर्यालको नेतृत्वमा नेपालको जेनेभास्थित स्थायी नियोगका स्थायी प्रतिनिधि दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि तीर्थराज वाग्लेसहित ९ जना र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस तथा दक्षिण-पूर्वी एसिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित विश्व स्वास्थ्य संगठन मुख्यालयका ७ जना प्रतिनिधिहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment