Comments Add Comment

इरानमा प्रतिवन्ध लगाउने अमेरिकी घोषणाको कडा आलोचना

अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी


८ जेठ, काठमाडौं । हालसम्मकै कडा प्रतिवन्ध लगाउने अमेरिकाको घोषणाप्रति इरानले कडा शव्दमा आलोचना गरेको छ । प्रतिवन्ध लगाएमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी इरानले दिएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले इरान र विश्वका लागि निर्णय गर्ने अधिकार अमेरिकालाई नभएको बताएका छन् ।

यसैगरी इरानका विदेशमन्त्री जवाद जरिफले अमेरिका असफल नीतिहरुको बन्दी बनेको टिप्पणी गर्दै नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको बीबीसीले लेखेको छ ।

युरोपेली संघ (ईयू)को विदेश नीति प्रमुख फेडरिका मोग्रिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् । उनले सन् २०१५ को इरान परमाणु सम्झौताको विकल्प नभएको बताएकी छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि भन्दै बिभिन्न १२ शर्तहरु सार्वजनिक गरेका थिए र इरानले त्यसको पालना नगरे हालसम्मकै कडा प्रतिवन्ध भोग्नुपर्ने चेतावनी दिएका थिए ।

शर्तहरुमा सीरियाबाट आफ्ना फौज फिर्ता बोलाउनेदखि यमनमा विद्रोहीलाई समर्थन नगर्नेसम्म छन् ।

यसैगरी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई आफ्नो पूर्वन्युक्लियर मिलिट्री प्रोग्रामको पूरै जानकारी दिनुपर्ने र परमाणुसम्बन्धी कामलाई सधैंको लागि बन्द गर्नुपर्ने, छिमेकी देशप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने (यसमा इजरायललाई ध्वस्त बनाउने तथा साउदी अरब र युएईमा मिसाइल प्रहार गर्ने धम्की पनि सामेल छन्) र झूठा आरोपमा पक्राउ परेका इरानमा हराएका अमेरिका र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नुपर्ने शर्तहरु पनि अमेरिकाले राखेको छ ।

यसलाई पोम्पियोले इरानविरुद्ध अमेरिकाको ‘प्लान बी’ भनेका छन् । प्लान बी अन्तर्गत इरानमाथि कडा वित्तीय दबाव बढाउने अमेरिकाको रणनीति छ । त्यसअन्तर्गत अमेरिकाले गत हप्ता इरानको केन्द्रीय बैंकमाथि प्रतिवन्ध लगाइसकेको छ । यसलाई अमेरिकी विदेशमन्त्री पोम्पियोले शुरुआतमात्र भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment