Comments Add Comment

नोकियाले बेच्यो ७ करोड मोबाइल फोन, लगानीका लागि जुटायोे १० करोड डलर


नोकिया ब्राण्डको स्वामित्व रहेको फिनिस कम्पनी एचएमडी ग्लोबलले कम्पनीका प्रडक्टहरुको विस्तार तथा वृद्धि गर्नका लागि १० करोड डलर लगानी संकलन गरेको छ ।

गत वर्ष सन् २०१७ मा ७ करोड नोकिया फोन बिक्री गरी १ अर्ब ८० करोड युरो रकम आम्दानी गरेको कम्पनीले यो वर्ष नोकिया स्मार्टफोन दोब्बरको संख्यामा उत्पादन गरी बजारमा पठाउने र मुख्य विश्व बजारमा बिक्री च्यानललाई पनि दोब्बर पार्ने घोषणा गरेको छ ।

‘हाम्रो लक्ष्य भनेको विश्व स्मार्टफोन बजारमा एउटा अग्रणी खेलाडी बन्ने नै हो । हाम्रो सुरुवाती सफलताले हाम्रो विश्वास मजबुत बनाएको छ कि हामी सन् २०१८ र त्यसपछिका वर्षहरुमा पनि यो वृद्धिदरलाई कायम राख्न सक्दछौँ’, कम्पनीका सीइओ फ्लोरियन सिचेले एक विज्ञप्तिमा भनेका छन् ।

नोकिया ब्राण्डको विस्तारका लागि एचएमडीमा थपिएका नयाँ लगानीकर्ताहरुमा डिएमजे एसिया इन्भेस्टमेन्ट अपर्चुनिटी कम्पनी तथा फोक्सकनको भगिनी कम्पनी एफआइएच मोबाइल लगायत छन् ।

नोकियाका लागि लगानी जुटाउने कार्य गिन्को भेन्चर्स नामक फन्डमार्फत गरिएको हो । त्यसको अगुवाई जिन फ्रान्कोइस ब्यारिलले गरेका थिए । उनी लामो समयसम्म नोकिया कम्पनीको वरिष्ठ उपाध्यक्षको रुपमा काम गरेका व्यक्ति पनि हुन् ।

हाल एचएमडीका प्रडक्टहरु एफआइएच मोबाइल कम्पनीले बनाउने गर्दछ र यी स्मार्टफोनमा गुगलको एन्ड्रोइड प्लेटफर्म प्रयोग हुने गरेको छ । नोकियाको ब्राण्ड र पेटेन्टका लागि एचएमडीले रकम भुक्तान गर्ने गरेको छ तर एचएमडी कम्पनीमा नोकियाको प्रत्यक्ष लगानी चाहीँ छैन ।

एचएमडीले पछिल्लो समयमा नोकिया ब्राण्डका विभिन्न स्मार्टफोनहरु एकपछि अर्को गर्दै बजारमा ल्याइरहेको छ । यसका साथै कम्पनीले सन् १९९० को दशक र त्यसपछिका लोकप्रिय नोकिया मोबाइल फोनहरुको पुनः उत्पादन पनि गर्ने गरेको छ ।

कुनैबेला विश्वको मोबाइल फोन बजारमा एकछत्र राज गरेको नोकिया कम्पनी समयक्रम सँगै टचस्क्रिन स्मार्टफोनको प्रविधिमा प्रतिस्पर्धा गर्न नसकेपछि टाट पल्टिने अवस्थामा पुग्यो र सन् २०१४ मा कम्पनीको मोबाइल व्यवसाय माइक्रोसफ्ट कम्पनीलाई बेच्यो । अहिले नोकिया कम्पनी टेलिकम नेटवर्क साधनहरुको उत्पादन र व्यापारमा केन्द्रित छ ।

नोकिया पूर्व उच्च पदस्थ कर्मचारीहरुले स्थापना गरेको एचएमडी कम्पनीले सन् २०१६ मा माइक्रोसफ्टसँग नोकिया फिचर फोनको व्यवसाय खरीद गरेको हो । साथै कम्पनीले नोकिया कम्पनीसँग आफ्ना स्मार्टफोनमा नोकिया ब्राण्ड प्रयोग गर्न पाउने सम्झौता पनि गरेको हो ।

काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार गत वर्ष सन् २०१७ मा कम मूल्यका फिचर फोनको बिक्रिमा नोकिया पहिलो नम्बरमा रहन सफल भयो । त्यस्तै स्मार्टफोनको बिक्रीकाे हिसाबले चाहिँ नोकिया ११ औँ नम्बरमा रह्यो ।

रोयटर्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment