Comments Add Comment

कलंकी-महाराजगञ्ज सडक सीमाभित्रका संरचना तत्काल खाली गर्न निर्देशन


८ जेठ, काठमाडौं । कलंकी-महाराजगञ्ज सडक खण्ड विस्तारका लागि सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउने काम सुरु भएको छ । चक्रपथ सडक विस्तार आयोजनाले १५ दिनभित्र सडक सीमामा पर्ने सबै संरचना हटाउन भन्दै सूचना जारी गरेको छ ।

सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐनअनसार आफैंले हटाउनेर त्यसबापत लागेको खर्च अशुल्ने चेतावनी दिइएको छ ।

कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको छ । चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो ।

चीनले केही महिनाअघि नै वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो । चक्रपथको कोटेश्वर-कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमी लामो छ ।

कलंकी-महाराजगञ्ज खण्ड विस्तारको लागत निक्र्योल भइसकेको छैन । अब विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने भएको छ । चक्रपथकै बाँकी महाराजगञ्ज-कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तार सम्बन्धी सहमति भएको थियो ।

चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ ।

चक्रपथको बाँकी खण्डको डिजाइन भने कलंकी-कोटेश्वरको भन्दा फरक हुने विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा खाली ठाउँ राखिनेछ ।

कोटेश्वर-कलंकी खण्डको बीचमा मेडियन राखिएको छैन । मेडियन नराखिएका सडकमा राति गुड्ने सवारी साधन चालकको आँखामा विपरित दिशाबाट आइरहेका सवारीको बत्ति पर्छ । र, निर्वाध अगाडि बढ्न असहज स्थिति बेहोर्नुपर्छ । यो अवैज्ञानिक ठहर भइसकेको छ ।

कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वरसम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन् । पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment