Comments Add Comment

सिर्जनात्मकता र पागलपनमा उभिएर आश्चर्यको व्यापार

काठमाडौंको कुनै सिनेमा हलमा फिल्म हेर्न गएका बेला पर्दामा फिल्मको सट्टा तपाईँकै नाम र तस्वीर देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ ?

‘ह्या कस्तो कुरा गरेको ? यस्तो पनि सम्भव हुन्छ र ?’ सोच्नुभो होला होइन ?

तर, पर्खनुस् । यो सम्भव भइसकेको छ । हो काठमाडौंमै यस्तो घटना भएको धेरै महिना भइसक्यो ।

कसरी ? आउनुहोस् एउटा कथा सुनौं ।

काठमाडौंमा बसोबास गर्ने करिब २० वर्षका एक युवक पोहोर साल कमलपोखरीस्थित बिग मुभिजमा सिनेमा हेर्न जाँदा अचम्ममै परे । चलचित्र सुरु हुनुभन्दा अगाडि त पर्दामा उनको फोटो पो देखियो । साथमा यस्तो सन्देश आयो, ‘तिमीलाई यो संसारमा सकुशल फिर्ता गरिदिएकामा भगवानलाई हार्दिक धन्यवाद !’

उनलाई एउटा गम्भीर रोग लागेको थियो । धेरै साथी मात्र होइन, परिवारकै केही सदस्यले समेत आश मारिसकेका थिए । तर, केही महिनाको उपचारपछि उनी रोगमुक्त भए ।

उनकी एक साथीलाई यो कुरा भगवानले आफूलाई दिएको ‘सरप्राइज’जस्तो लागेको थियो । त्यसैले उनले ती साथीसँग आफ्नो आश्चर्यलाई बाँड्न चाहेकी थिइन् ।

धन्न, उनले यस्ता ‘सरप्राइज’हरूको योजना बनाउन अनि तिनको सञ्चालन गर्नका लागि खुलेको एक कम्पनीबारे थाहा पाइन् र आफ्नो चाहना पूरा गरिन् । ‘अफरिङ् ह्याप्पिनेस’ले आफ्नो नामजस्तै दुवै साथीलाई ह्याप्पिनेसको अफर गर्‍याे ।

कुरा सुन्दा अलिअलि हावादारी र अलिक बढी रचनात्मक लाग्छ । तर काठमाडौंमा यस्तो कम्पनीले आफ्नो व्यवसाय सुरु गरेको १५ महिनाभन्दा बढी भइसक्यो ।

केही युवा उद्यमीले २०७३ फागुनमा सुरु गरेको यो व्यवसायले हालसम्म करिब ५०० कार्यक्रमको व्यवस्थापन गरिसकेको छ । हरेक कार्यक्रमको उद्देश्य उही छः आफ्ना ग्राहकका प्रेमीप्रेमिका, साथीसङ्गी, परिवारजन र नातागोतालाई आश्चर्यमा पार्ने !

कलेज गफले जन्माएको व्यापार

कम्पनीको संस्थापकमध्ये एक सन्तोष पाण्डे (२२) का अनुसार काठमाडौंको एउटा कलेजमा स्नातक पढ्दै गरेका युवाहरूले सुरु गरेको कम्पनी हो अफरिङ् ह्याप्पिनेस ।

त्यति बेला, अर्का संस्थापक निरज काफ्ले (२५)ले विदेशमा रहेका नेपालीले पठाएका उपहारहरू तिनका साथी र परिवारलाई पठाइदिने व्यवसाय गरौं भनेपछि यसबारे कुराकानी सुरु भएको थियो । ‘हो, सुरुमा हामीले खालि एउटा डेलिभरी बिजनेस मात्र सुरु गर्न खोजेका थियौं । तर व्यवसाय सुरु गर्नु अगाडि यसका विभिन्न पक्षबारे पढ्दै जाँदा थाहा भयो कि संसारमा ‘सरप्राइज उद्योग’को क्षेत्र पनि एकदम ठूलो भइसकेको रहेछ । यसको दायरा अझ फराकिलो हुँदै रहेछ,’ काफ्ले बताउँछन्, ‘अनि हामी पनि सुरुमा सोचेभन्दा नितान्त भिन्न कम्पनी खोल्न पुग्यौं ।’

व्यवसायबारे छलफल सुरु गर्दा उनीहरूका समूहमा छ जना थिए । खास व्यवसाय सुरु गर्दा दुई जना हराइसकेका थिए । अलिक पछि अर्का एक साथी पनि समूहमा समेटिए । अहिले अफरिङ् ह्याप्पिनेसको व्यवस्थापन समूहमा पाँच युवा छन् ।

सबभन्दा जेठाबाठा अविनाश चौधरी (२९)लाई उनीहरूले प्रमुख कार्यकारी अधिकृत बनाएका छन् । पाण्डे, काफ्ले र दर्शन पराजुली सहसंस्थापकका रूपमा कार्यरत छन् ।

सहरको एउटा गतिलो कलेजमा बीबीए पढ्दापढ्दै बरालिएर पढाइ छाडेका, तर आज आफूलाई ‘गौरवान्वित ड्रपआउट’ भन्न रुचाउने मनीष खतिवडा व्यापार साझेदार बनेका छन् ।

चौधरी, पाण्डे, काफ्ले र पराजुलीले एक वर्षसम्म अध्ययन, अनुसन्धान गरेपछि सन् २०१७ को नयाँ वर्ष (पुस २०७३)मा व्यवसाय सुरु गर्ने निधो गरे । तर फेरि यस्तो व्यवसायका लागि नयाँ वर्षभन्दा फेब्रुअरी १४ (फागुन पहिलो हप्ता) मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन्स डे) अझ बढी उपयुक्त भएको ठहर गर्दै उनीहरूले आफ्नो योजनालाई डेढ महिना धकेले ।

तर ‘आश्चर्यको व्यापार’ सुरु गर्न भनेजस्तो सजिलो थिएन । बजारबारे पर्याप्त ज्ञानको अभावमा उनीहरूले योजनामै लामो समय खर्चिए । त्यसैगरी कम्पनी कसरी खोल्ने र कसरी दर्ता गर्ने भन्ने प्रक्रियाबारे बुझाइदिने पनि कोही थिएनन् । कम्पनीलाई आफ्नो नाम चिनाउनु (ब्रान्डिङ) सबैभन्दा पेचिलो चुनौती थियो ।

त्यसैले त कम्पनीलाई आफ्नो नाम राख्नै हम्मेहम्मे पर्‍याे । कम्पनीको नाम र वेबसाइटको ठेगाना एउटै हुनुपर्ने अनि आफूले चाहेको ठेगाना (डोमेन) पाउन नसकिने भएकाले काफ्लेलाई एकदमै दिक्क लागेको थियो । केही महिनाको प्रयास पनि असफल भएपछि काफ्लेकै सुझावमा उनीहरू जुन डोमेन पाइन्छ त्यही नाम राखेर कम्पनी खोल्न तयार भएका थिए । हुन त ‘अफरिङ् ह्याप्पिनेस’ पनि कसैलाई चित्त बुझेको नाम होइन । तर, आफ्नो कामले नै नाम चिनाउनुपर्छ भनेर उनीहरू यसलाई स्वीकार गर्न तयार भए ।

सामानदेखि सेवासम्म


सरप्राइज उद्योगका रूपमा आफूलाई स्थापित गर्ने योजना बनाए पनि यी उद्यमीहरू सुरुमै त्यस्ता सरप्राइजिङ इभेन्टको योजना र व्यवस्थापन गर्ने अवस्थामा थिएनन् । कसैलाई कम्पनीबारे थाहा नै नभई कुनै अर्डर आउने कुरा पनि भएन । त्यसैले अफरिङ् ह्याप्पिनेसले गिफ्ट बेचेर आफ्नो व्यवसाय सुरु गर्‍याे ।

त्यस सिलसिलामा पनि उनीहरूले आफूलाई अन्य पसलभन्दा फरक देखाउन सक्दो प्रयास गरे । ‘हाम्रा लागि सबभन्दा मुख्य कुरा व्यक्तिगत रुचि थियो । हामीले सामाजिक सञ्जालमा भेटेका केही मान्छेहरूलाई आफ्ना प्रेमीप्रेमिकाका लागि विशेष सन्देश लेख्न र ती सन्देश हामीलाई दिन आग्रह गर्‍याैं ताकि हामी त्यसैअनुसार, तिनका आवश्यकता तथा अपेक्षाअनुसार आफ्ना सामानको डिजाइन गर्न सकौं,’ पाण्डे भन्छन्, ‘हामीले भ्यालेन्टाइन्स डेका लागि भनेर बनाएका त्यस्ता उपहारलाई ‘मायाको बट्टा’ नाम दियौं र चार सयदेखि हजार रुपैयाँसम्ममा बेच्यौं ।’

सुरुका तीन महिना यसैगरी बिते । संवत् २०७४ को जेठ असारतिर आइपुग्दा एक व्यक्तिले आफ्नी श्रीमतीले थाहा नपाउने गरी आफ्नो विवाहको वार्षिकोत्सव (एनिभर्सरी) मनाइदिन आग्रह गरे । त्यसपछि नै हो कम्पनीले आफ्नो व्यापारलाई वस्तुबाट ‘सेवा’मा रूपान्तरण गरेको ।

ती ग्राहकको आवश्यकताअनुसार कम्पनीले ‘रोमान्टिक गजेबो इन’ नामको कार्यक्रम ढाँचा तयार गरी बाँसबारीको एक रेस्टुरेन्टमा कार्यक्रम गर्‍याे ।

आज पनि कम्पनीसँग विभिन्न प्रकारका उपहार निर्माण, प्याकेजिङ र बजारीकरण गर्ने क्षमता छ । तर पनि उनीहरू विभिन्न कार्यक्रमको आयोजनामै व्यस्त छन् । आफूले उत्पादन गरेका सामग्री पनि उनीहरूका आफ्नै कार्यक्रममा सकिन्छन् ।

कम्पनीले आफ्ना ग्राहकहरूका लागि चार हजार नौ सय रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्मका विभिन्न प्याकेज निर्माण गरेको छ । यसले ग्राहकका मागअनुसार अन्य किसिमका प्याकेज पनि बनाउँछ । आजसम्मको यात्रामा कम्पनीले दुई हजार रुपैयाँको जन्म दिन कार्यक्रमदेखि एक लाख ३५ हजार रुपैयाँमा पास्नीको व्यवस्थापन गरेको छ ।

सिर्जनात्मकता र पागलपनको व्यापार

गत भ्यालेन्टाइन्स डेको कुरा हो । हाल अस्ट्रेलियामा रहेका एक नेपाली युवाकी प्रेमिका काठमाडौंमा थिइन् । प्रेमीलाई आफ्नी प्रेमिकालाई केही उपहार दिन मन लाग्यो, त्यो पनि उनलाई आश्चर्य पार्ने हिसाबमा ।

‘उनले चाहेअनुसार हामी उनकी प्रेमिकाको घर पुगेर गिफ्ट दिनुपर्ने भयो । त्यो काम अलिक चुनौतीपूर्ण थियो,’ ती ग्राहकको माग व्यवस्थापनमा खटिएका खतिवडा सुनाउँछन्, ‘तर हामीले सुरुमा ती प्रेमिकाकी बहिनीलाई खोज्यौं । प्रेमीले चाहेअनुसार प्रेमिका आश्चर्यमै परून् भन्ने सुनिश्चित गर्नका लागि हामीले तिनै बहिनीसँग समन्वय गर्‍याैं । हामी उनको सामाखुसीस्थित घर पुग्नुभन्दा केही मिनेट अगाडि बहिनीले आफ्नी दिदीलाई नजिकैको पसल गएर आफ्ना लागि केही किनिदिन लगाइन् । उनलाई फर्कन १० मिनेट लाग्ने भयो । हामीले त्यसै अवधिमा सबै कुरा तयार गर्‍याैं ।’

आफूले नचिनेका मान्छे आफ्ना कोठामा पसेको देख्दा ती युवतीलाई सुरुमा रिस उठ्यो । ‘उनले आफ्नी बहिनीलाई खुब गाली गरिन् । अलि पछि सोधिन् कि यो सब के भइरहेको छ । आफ्नो कोठामा भएको परिवर्तन अनि आकर्षक उपहारहरू देखेर उनी दङ्ग पनि परिन्,’ खतिवडा भन्छन्, ‘हामीले पनि उनलाई कुल हुन समय दियौं र एक छिनपछि भन्यौँ कि यो सब उनकै ब्वाइफ्रेन्डको योजना हो ।’

‘त्यसपछि उनले भनिन्, ‘हो, यो संसारमा मेरो ब्वाइफ्रेन्ड बाहेक कोही पनि यस्तो पागल छैन । उनी साँच्चै नै मख्ख परेकी थिइन् ।’

खतिवडाका अनुसार ती युवा गत महिना नेपाल आएर र आफ्नी प्रेमिकासँग टीकाटालो (इन्गेजमेन्ट) गरेर फर्किए । इन्गेजमेन्टको व्यवस्थापन पनि अफरिङ् ह्याप्पिनेसले नै गर्‍याे ।

प्रेम जोडी र दम्पतीका अतिरिक्त कम्पनीले केही पारिवारिक प्रकृतिका कार्यक्रमहरूको पनि व्यवस्थापन गरेको छ । गत महिना आमा खुवाउने औंशीका अवसरमा, विदेशमा छुट्टाछुट्टै ठाउँमा बसिरहेका तीन दाजुभाइ मिलेर आफ्नी आमालाई केही उपहार दिनका लागि भने । तीन दाजुभाइ एकअर्काबाट, अनि आमाबाट छुट्टिएको धेरै समय भइसकेको थियो । त्यसैले त तिनै जना मिलेर आमालाई गिफ्ट पठाएको सुन्दा उनले आँसु रोक्न सकिनन् । ‘उनले भनिन् कि उनले त्यस बेला पाएको खुसी अन्य कुनै खुसीसँग तुलना गर्न मिल्ने थिएन ।’

कुरा सुन्दा खुबै मज्जा लागे पनि हरेक पटक आश्चर्यले भरिपूर्ण योजना बनाउनु कम चुनौतीपूर्ण छैन । अझ कुनै ग्राहक दोहोरियो भने चुनौती पनि दोब्बर नै हुन्छ । यस वर्षको म्यारिज एनिभर्सरीमा श्रीमानको आग्रहमा श्रीमतीलाई आश्चर्यमा पारियो अनि अर्को वर्ष श्रीमतीले आफ्ना श्रीमानलाई आश्चर्यमा पार्न चाहिन् भने उही रणनीतिले काम गर्नेवाला छैन । त्यस बेला साँच्चै नै सिर्जनात्मक भएर सोच्नुपर्छ । तर पनि यी युवा उद्यमीहरूको दाबी छ कि उनीहरूले आजसम्म आफ्ना ग्राहकलाई निराश बनाएका छैनन् ।

‘किनकि हामी हरेक पटक हाम्रा ग्राहकले आजसम्म सोच्न नसकेको कुरा सोच्छौँ । आजसम्म हामी सफल नै भएका छौं,’ पाण्डेले यसो भन्दै गर्दा काफ्ले आफ्नो कम्पनीलाई मान्छेले ‘गिफ्ट सप’ त्यो नभए ‘इभेन्ट म्यानेजमेन्ट कम्पनी’ भनेको सुन्दा रिस उठ्ने बताउँछन् । उनका अनुसार अफरिङ् ह्याप्पिनेस गिफ्ट सप पनि होइन, न त इभेन्ट म्यानेजर नै हो ।

त्यसो भए यो खास के हो त ?

‘हामी नेपालको पहिलो सरप्राइज प्लानिङ् कम्पनी हौं,’ तीनै जना एकै स्वरमा जवाफ दिन्छन् ।

आगामी दिनका आश्चर्यहरू

आज कम्पनी जुन अवस्थामा छ त्यो यसका संस्थापकले सोचेभन्दा धेरै माथि नै हो । चार जनाले ८०/८० हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गर्ने योजना भए पनि अन्तिममा उनीहरूले जम्मा ८० हजार रुपैयाँको लगानीमा कम्पनी खोले । आज यसको भौतिक सम्पत्तिको हिसाब गर्ने हो भने २० लाख रुपैयाँ नाघिसकेको छ ।

पाँच जनाको व्यवस्थापनका अतिरिक्त कम्पनीले ११ जना युवालाई पूर्णकालीन रोजगारी प्रदान गरेको छ । फोटोग्राफी, भिडियोग्राफी, सङ्गीत व्यवस्थापनका प्राविधिक कामदेखि लिएर बेलुन किन्न अनि तिनको प्रयोगले हल सिँगार्नका लागि अन्य व्यक्तिलाई परिचालन गरिन्छ । औसतमा करिब १० लाख रुपैयाँजतिको कारोबार हुन्छ ।

तर यसका संस्थापकहरू यसमै चित्त बुझाउने पक्षमा छैनन् । सकेसम्म धेरै ग्राहकलाई सेवा पुर्‍याउने उद्देश्यले अझ धेरै प्रकारका प्याकेजहरूका योजना बनाउँदै छन् । ‘माउन्टेन फ्लाइटदेखि सगरमाथा आधार शिविरमा लन्च वा डिनरसम्मका प्रिमियम प्याकेज बनाउने तयारीमा छौँ । यस्ता कार्यक्रमको मूल्य दुईदेखि पाँच लाख रुपैयाँसम्म हुन सक्छ,’ काफ्ले सुनाउँछन् ।

उता अर्को वर्षदेखि पर्यटन उद्योग तथा कर्पोरेट हाउससँग पनि आफूले सहकार्य गर्न चाहेको पाण्डेको भनाइ छ । यस भनाइलाई प्रस्ट्याउन काफ्ले अघि सर्छन्, ‘आजसम्म हामीले आन्तरिक ग्राहकलाई मात्र सेवा दिएका छौं । तर अब हामी विदेशी पर्यटकलाई पनि नेपाली आतिथ्यको स्वाद चखाउन चाहान्छौं । यस्तो सेवा उनीहरू विमानस्थलमा उत्रिएदेखि उनीहरू पुग्ने हरेक कुनाकन्दरामा हुन सक्छ ।’

त्यसैगरी कर्पोरेट हाउससँगको सहकार्यमा कम्पनीले सानादेखि ठूला उद्योग व्यवसायमा काम गर्ने कर्मचारीका लागि सामूहिक रूपमा सरप्राइज उपलब्ध गराउन चाहेको छ । ‘कुनै पनि कम्पनीले हामीलाई उनीहरूका कर्मचारीबारे सूचना दिन सक्छन् र हामी हरेक कर्मचारीको जन्म दिन तथा म्यारिज एनिभर्सरी मनाउने व्यवस्था गरिदिन्छौं,’ पाण्डेको प्रस्ताव छ ।

आजसम्म यो कम्पनी काठमाडौंभन्दा बाहिर धुलिखेलसम्म मात्र पुगेको छ । तर देशैभरि आफ्नो सेवा विस्तार गर्ने यी उद्यमीको सोच छ । ‘पहिलो चरणमा आगामी छ महिनाभित्रै हामी पोखरा र धरानमा आफ्ना आउटलेट खोल्छौं,’ पाण्डे सुनाउँछन्, ‘ती आउटलेट पनि हामी आफैं चलाउँछौँ । हामी अन्य कसैलाई हाम्रो फ्रेन्चाइज दिन सक्दैनौं किनकि हाम्रो व्यवसाय नै आइडियाको सिर्जनात्मकता र पागलपनमा टिकेको छ ।’

‘तर हामीले चाहेको के मात्र हो भने हरेक अवसर अझ विशेष होऊन्, अझ सम्झनायोग्य होऊन् ।’

याे सामग्री अंग्रेजीमा पनि पढ्नुहाेस् 

Offering Happiness: Nepal’s first surprise planning company plays with people’s love for amusement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment