Comments Add Comment

स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ


९ जेठ, भोजपुर ।  सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ ।  संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ ।

व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि भोजपुर सदरमुकाम अहिले सुनसानजस्तै देखिन थालेको छ । “सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ । जन्म दर्ताको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ”, साल्पासिलिछो गाउँपालिका–१ का वडाध्यक्ष गणेश बुढाथोकीले भने, “अब स्थानीय तह नै बलियो भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।”

सदरमुकाम छाडेर गाउँ फर्किएपछि रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन्, संघीयता कार्यान्वयन पछिको चहलपहलले गाउँमा उमंग छाएको पाइन्छ । गाउँपालिकामा चहलपहल बढेको बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन सरकारी अड्डामा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस जिल्ला समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।

यसअघि ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु सोही मुल्यमा आफ्नै घरपायकमा पाइने भएपछि सदरमुकाम शून्यजस्तै बन्दैछ ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आजभोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् ।

सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेशनरीजस्ता व्यवसाय भने संकटमा परेका छन् । करीब १५ वर्ष अघिदेखि सदरमुकाममा बुटिक पसल गर्दै आउनुभएकी शान्ति राईको व्यवसाय ह्वात्तै खस्केको उहाँको गुनासो छ । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताएको छ भने स्थानीय तहको केन्द्रमा जग्गाको भाउ आकासिएको छ ।

सदरमुकाम रित्तिँदै गएपछि यहाँका व्यवसायी चिन्तित बनेका छन् । सरकारी कामकाज स्थानीय तहमा पुगेपछि सदरमुकाम आउनेको चाप घटेपनि गुणस्तरीय स्वास्थ्य, शिक्षाजस्ता सेवा पूर्णतया स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम सोचेजस्तो शून्य अवस्थामा नहुने नागरिक अगुवा पर्शुराम तिवारीको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment