Comments Add Comment

बोल मायाः सन्नाटामा गुन्जिएको शोक धून

'जाँदाखेरी आकाशैमा, आउँदा बाकसैमा'

गाउँको युवक वैदेशिक रोजगारीका लागि जीपको छतमा बसेर शहरतिर जाँदैछ । पहाडको कच्ची अनि नागबेली बाटोमा जीप गुडिरहेको छ, युवककी प्यारी पत्नी रुँदै रुँदै जिपको पछिपछि दौडिरहेकी छन् ।

‘छिट्टै फर्केर आउनु है ।’

प्यारीले कागजको सानो चिर्कटोमा लेखेका यीनै वाक्य मनमा साँच्दै अमिलो मन पारेर ती युवा विदेशिन्छन् । बा-आमा गहमा आँसु लुकाउँछन्, छोराले पठाउने रेमिट्यान्सको आशमा ।

बिडम्बना, केही समयपछि त्यही जिपको छतमा युवकको शव राखिएको कफिन गाउँ फर्कन्छ । गाउँले र आफन्जन स्तब्ध हुन्छन् । बा-आमाले गहभरी लुकाएको आँसु वर्षे भेल झै उर्लन्छ । प्याराको मृत शरीर सुम्सुम्याउँदै डाँको छाडेर रोइरहेकी पत्नीलाई कसले सम्हाल्ने ? अनि त्यही सन्नाटामा सारंगीको धुनसँगै गुञ्जन थाल्छ मुटु छियाछिया पार्ने शोक धुन-

‘जाँदाखेरि आकाशैमा, आउँदा बाकसैमा…’

यो वेदना नेपालका हरेक गाउँघरको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन औसत तीनवटा कफिन उतारिन्छन् । ती कफिनभित्र विदेशी भूमिमा श्रम गर्न पुगेका नेपालीको निर्जिव शरीर मात्र होइन, रोगले थलिँदै गएका आमा-बुवा, भर्खर तोतेबोली बोल्न थालेका लालाबाला, जवान पत्नीको खुसी, आकांक्षा, सपना सबै-सबै गुटमुटिएर आइपुग्छन् ।

वैदेशिक रोजगारीको यही शोक-धुनले यतिबेला ग्रामीण समाजमा सन्नाटा छाएको छ । र, यस्तै सन्नाटाबाट गुजि्रए प्रकाश सपूत पनि । त्यही भएर त उनले रचे, ‘बोल माया’ ।

‘बोल माया’ गीत यतिबेला युट्युबमा भाइरल भइरहेको छ । ‘यो गीत हेरेर कसको मन रुँदैन होला ?’ भन्दै यसको भिडियो सामाजिक सञ्जालमा साझेदारी गर्नेको लर्को लागेको छ । वैदेशिक रोजगारीका संवेदनालाई जिवन्त र मार्मिक ढंगले प्रस्तुत गरिएकाले भिडियो हेर्नेको मन पग्लिहाल्छ । तर, यतिले मात्र यो गीतले हलचल ल्याएको होइन ।

‘बोल माया’ गीत खासमा प्रकाशकै अनुभूति हो, भोगाइ हो ।

प्रकाशले त्रिभुवन विमानस्थलमा शव बुझेका छन्, गाउँ पठाइदिएका छन् । शवका आफन्तको रोदनले उनको छाती भिजेको छ । त्यो चिच्याहटले उनको छाती चिरिएको छ । छोराछोरीको ‘मेरो बाबालाई के भो ?’ भन्ने अवोध प्रश्नले उनको छाती छियाछिया बनाइदिएको छ ।

‘बोल माया’ गीत यस्तै अनुभूतिहरूले पैदा गरेको झंकार हो । अनलाइनखबरसँगको भेटमा उनी यही गीतको फेरो समातेर सुदूर अतीतमा फर्किए । सपूतको अनुभव, उनकै शब्दमा-

मेरो बुबा खोइ ?

म बाग्लुङको यस्तो परिवारमा जन्मिएँ, जसलाई खान-लाउन सधैं अभाव हुन्थ्यो । जहान-परिवारको पेट भर्ने र आङ ढाक्ने समस्याले बुवालाई लखेटिरह्यो । सम्भवतः त्यही कारण उहाँ कहिल्यै घरमा बस्न पाउनुभएन । पत्नी, छोराछोरीलाई छाडेर कहिले भारत त कहिले मलेसिया पुग्नुभयो । १८ वर्षदेखि विदेशमा श्रम बेच्न थालेको बुवाले ५० वर्षको हाराहारीमा पुगेपछि मात्र विश्राम लिनुभयो । आफ्नो सम्पूर्ण जीवन विदेशी भूमिमै घोटिएर बिताउनुभयो ।

प्रकाशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझेका छन्, गाउँ पठाइदिएका छन् । शवका आफन्तको रोदनले उनको छाती भिजेको छ

मैले यो गीतको भिडियोमा लगाएको लुगा बुवाको हो, जुन उहाँले ‘सम्झनाका लागि’ भनेर मलेसियाबाट ल्याउनुभएको रहेछ । त्यही लुगा लगाएर म कफिनभित्र सुतेको छु, गीतको भिडियोमा । मलाई त्यस्तो अवस्थामा देखेपछि आमा वास्तवमै भक्कानिनुभयो । मेरो घरमा भेला भएका सबै छिमेकी भावुक भए । हामीले त्यही दृश्यलाई फ्रेमभित्र राख्यौं । गीतको सुटिङजस्तो भएन, बरु वास्तविक घटनाजस्तै भयो ।

परिवारमा हामी चार दाजुभाइ । आमा एक्लैलाई भान्साको काम भ्याउनु निकै कठिन थियो भन्ने कुरा उहाँले ‘छोरी जन्मिए हुन्थ्यो’ भनी बेलाबेला गर्नुहुने आकांक्षाबाट पनि बुझ्न सकिन्छ । पति साथमा नहुनु, खान-लाउन धौ-धौ हुनु, साना लालाबाला हुर्काउनु एउटी महिलाका निम्ति कति कष्टकर हुन्थ्यो होला ?

चाडपर्वमा हामीलाई बुवाको अभाव महसुस हुन्थ्यो । तर, हामी गर्न के नै सक्थ्यौं र ?

हिरो बन्ने चक्करमा

घर-धन्दाको काममा मलाई जाँगर नचल्ने । अल्छी थिएँ । आमालाई सघाउन सक्दिनथें । बरु यताउता गरेर खर्च जुटाउँथें । त्यसबेला म एफएममा काम गर्न थालिसकेको थिएँ । धौलागिरी एफएममा । त्यहाँ मेरो एउटा कार्यक्रम थियो, ‘जस्ट फर यू’ । यसमा आफैं नाटक लेख्थें र प्रस्तुत गर्थें । मिक्सिङ गर्ने, रेकर्डिङ गर्ने सबै काम आफैं ।

त्यही बेला एकजना दलित र गैरदलितको जोडीले भिरबाट हाम फालेर आत्महत्या गरे । दलित केटी र श्रेष्ठ थरका केटाको प्रेमलाई उनीहरूका परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेका रहेछन् । यही सन्दर्भलाई जोडेर आत्महत्याअघि उनीहरू कस्तो मनोदशामा गुजि्रए होलान् भन्ने मनोवाद लेखें । त्यसलाई नाटकमा उतारें । त्यो हिट भयो । अहिले पनि कतिपयको मोबाइलमा यो नाटकको अडियो सुरक्षित होला ।

एक हिसाबले भन्ने हो भने, बाग्लुङमा म चिनिदै थिएँ । मेरो कार्यक्रम सुन्नेहरू बढ्दै थिए ।

तर, ठ्याक्कै के बन्ने भन्ने कुरामा चाहिँ म आफै पनि स्पष्ट भइसकेको थिइन । रेडियोमा बोलेर, नाटक बनाएर घर-व्यवहार चलाउन पुग्दैनथ्यो । आफ्नै जीवन चलाउन धौ-धौ ।

सानो छँदा म हिरो बन्छु भन्थें । बन्न त हिरो नै बन्न मन लाग्थ्यो तर, हिरो बन्न कहाँ सजिलो छ र ?

भित्तामा हिरोको पोस्टर टाँसेर, त्यस्तै बन्ने सपना बुन्दै हुर्किएको मैले भिडियोमा आफ्नै सपनाको प्रतिविम्ब उतारेँ । हिरो बन्ने मेरो आकंाक्षा थियो । वाध्यता एवं परिस्थितिले हुत्याएर मलाई हिरो होइन, वैदेशिक रोजगारीको बाटोमा पुर्‍याइदियो ।

वैदेशिक श्रमिक बन्न खोज्दा

वैदेशिक रोजगारीकै आडमा परिवार चलेको थियो । पाखुरीमा बल छँदासम्म त बुवाले विदेशमा पसिना चुहाएर परिवारको पेट भर्नुभयो । तर, विदेशमै बैंस, ऊर्जा निखि्रएपछि उहाँ घर फर्कनुभयो । अब परिवार पाल्ने जिम्मा मेरो भागमा थियो । अन्ततः मैले पनि त्यही बाटो समात्नुपर्ने भयो, जुन बुवाले समात्नुभएको थियो । मैले कतार जानुपर्ने भयो ।

त्यस बेलासम्म म दोहोरी गाउने भइसकेको थिएँ । स्थानीय क्षेत्रमा गाइरहेको पनि थिएँ । यद्यपि गाएर गुजारा चलाउन सके पो !

‘हिरो बन्नु मेरो अतृप्त आकांक्षा थियो । वाध्यता एवं परिस्थितिले हुत्याएर मलाई हिरो होइन, वैदेशिक रोजगारीको बाटोमा पुर्‍याइदियो’

मन नलागी-नलागी काठमाडौं आएँ । २५ दिन सेक्युरिटी गार्डको तालिम लिएँ । एकजना अरबीले अन्तर्वार्ता लियो । त्यही क्रममा उसले भन्यो, ‘यू आर सो चाइल्ड ।’ म सेक्युरिटी गार्डका लागि अयोग्य भएँ । त्यो मेरा लागि खुसीको कुरा थियो ।

काठमाडौं आउनका लागि सर-सापट गरेर पाँच हजार बोकेको थिएँ । त्यसमध्ये १५ सय रुपैयाँ आउजाउका लागि खर्च भयो । बाँकी ३५ सयले छानीछानी पुस्तक किनें । फुरुङ्ग भएर घर फर्कें ।

भिडियोमा मूल पात्र विदेश जान्छ । खासमा उसले विदेश जान चाहेको हुँदैन । हिरो बन्ने इच्छालाई थाती राख्दै विदेश जानु उसको बाध्यता बन्छ ।

अनि काठमाडौं आएँ

विदेश गइएन । अब के गर्ने ?

कमाइ खानका लागि काठमाडौं आएँ । एउटा होटलको कोठामा डेरा जमाएँ । काम खोज्न थालें । काम खोज्नासाथ पाउने कुरा भएन । अर्कोतिर होटलमा कति बस्ने ? खर्च टार्नै गाह्रो । गाउँकै एक साथीको कोठा थियो । उसैसँग बस्छु भनें । तर, अर्कै साथी बस्न थालेछ । म बिचल्लीमा परें ।

त्यही होटलको बास अरु लम्बिने भयो । चिनेजानेकै साथीको होटल थियो । त्यहीँ बसें । साथीले ‘यसो सघाउनू’ पनि भनेका थिए । मैले खाना दिने, जुठो भाँडावर्तन उठाउने काम गरें । उता काम पनि खोज्दै गरें ।

ठमेलको ‘गामबेंसी दोहोरी’मा काम पाइयो । तलब त थोरै थियो । तर, टिप्स पाइने । राम्रोचाहिँ के भइदियो भने, त्यहाँ सुरुको महिनादेखि पाँच महिनासम्म मेरो तलब बढेको बढ्यै भयो । त्यो संघर्षको समयमा शान्ति सुनार, तेजु छन्त्यालले गरेको सहयोग म भुल्न सक्दिनँ ।

फेरि विदेश

गामबेंसी दोहोरीमा काम गर्दैं थिएँ । जीवन चल्दै थियो । त्यसैको शाखा खुल्ने भयो दुबईमा । अब मैले दुबई जानुपर्ने भो । श्रम भिसामा होइन, कलाकारका रूपमा । छोटो अवधिका लागि पाइने त्यही भिसामा म दुबई गएँ । दुबईको ‘याक एन्ड यति’मा तीन महिना गाइयो ।

त्यसपछि घर फर्किएँ । बिहे गरियो । फेरि दुबई गइयो, अरू दुई वर्षको श्रम भिसामा ।

बिहे गर्नासाथ विदेश जानुपर्दा मन साँच्चै अमिलो भयो । एक किसिमले मलाई ‘होमसिक’ भयो । दुई महिना पनि टिक्न सकिनँ । नेपाल फर्किएँ ।

फेरि उस्तै संघर्ष । यतिबेलासम्म केही गीत रेकर्ड गराइसकेको थिएँ । एउटा गीत राम्रै चलेको थियो । दोहोरी रेष्टुरेन्टहरूमा मेरो गीत गाइन्थ्यो ।

पृथ्वी थकाली दाइलाई भेटेपछि मेरो सबै बोझ बिसाए झैं भयो । उहाँले मलाई आफ्नै परिवारका सदस्य झै सहयोग गर्नुभयो । उहाँको ‘पृथ्वी इन्टरटेनमेन्ट’मा जोडिएँ । अब मलाई सानोतिनो खर्चको अभाव भएन । दशैंमा घर आउने बेला ‘खर्च चाहिन्छ ?’ भनेर सोध्नुहुन्थ्यो । र, भर्खर बैंकबाट निकालिएका नयाँ-नयाँ नोटको बिटा दिनुहुन्थ्यो ।

पछिल्लो समयमा मलाई गीत रेकर्ड गर्न, भिडियो बनाउन पनि खर्चको समस्या भएन । लोक दोहोरी गायनमा मलाई पत्याइयो । गीत गाएँ । मोडलिङ गरें । तर, धीत मर्नेगरी केही गर्न पाइएको थिएनँ ।

दोहोरी ब्याटलको धून

दोहोरीमा पनि पहिलाको जस्तो रस थिएन । त्यो निथि्रदै गएको अवस्था थियो । अझ युवापुस्ता त यसबाट विमुख भइसकेका थिए । अब कसरी युवाहरूलाई पनि लोक दोहोरी गीतमा अभ्यस्त बनाउने होला भनेर सोचेर बस्थें ।

त्यसबेला र्‍याप ब्याटल चल्न थालेको थियो । युवापुस्ता त्यतै तानिएका थिए । मैले र्‍याप ब्याटलबाटै आइडिया निकालें, यस्तै त दोहोरीमा पनि गर्न सकिन्छ नि । दोहोरी भनेको आफैंमा ब्याटल हो । सवाल-जवाफ हुन्छ । अझ यसमा मेलोडी पनि छ । तर, र्‍याप ब्याटलमा जुन आक्रामक हाउभाउ हुन्छ, त्यो दोहोरीमा हुँदैन । दुईतिर पलेंटी मारेर गीतमा छेडछाड गरिन्छ । र्‍याप ब्याटलको यही कुरालाई जोडेर मैले दोहोरी ब्याटल सुरु गरें । दोहोरीमा यो नयाँ प्रयोग थियो ।

हजुरआमाको बिरही भाका

म काठमाडौंमै हराइरहेको थिएँ । उता हजुरबा बित्नुभयो । हजुरबा भजन गाउनुहुन्थ्यो रे ।

हजुरबाको मलामी जान पाइएन । अर्को दिन म घर पुगें । पुग्नासाथ, हजुरआमा अँगालो मारेर रुनुभयो । यसरी रुँदा उहाँले भाका हालेर केही पंक्तिमा आफ्नो गुनासो पोख्नुभयो । हाम्रोतिर मान्छे मर्दा त्यसरी नै भाका हालेर रुने गरिन्छ । ‘हजुरबालाई गीतमा खेलाउँछु भन्थिस्, तर पाइनस्’ भन्ने खालको कुरालाई लय मिलाएर उहाँ रुनुभयो । मैले ‘बोल माया’ गीतको क्लाइमेक्समा त्यही भाका, शैलीलाई उतारें ।

भिडियोमा पत्नीको भूमिकामा देखिने अन्जली अधिकारीबाहेक सबै मेरा आमा, बुवा, भाइहरू र छिमेकीहरू हुन् । भिडियो छायांकन पनि गाउँमै गरिएको हो, अझ मेरै घरमा । कफिनमा लास लगेको, रुवाबासी चलेका दृश्यहरूले गाउँमा एक किसिमको सन्नाटा छाएको थियो । त्यो कुनै छायांकनजस्तो नभएर वास्तविक घटनाजस्तै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment