Comments Add Comment

कविता– शहीद नहुनेहरू

जनयुद्धमा शहीद हुनेहरूलाई त

सबैले सम्झना गर्छन्

प्रधानमन्त्रीले पनि

माल्यार्पण गर्छन्

एउटा दिवस नै मनाउँछन्

भाषण गर्छन्

बलिदानको चर्चा गर्छन्

चोकहरूको नामाकरण गरिन्छन्

पत्रपत्रिकामा तिनीहरुका नाम छापिन्छन्

सम्बन्धित पार्टीहरुले गर्व गर्छन्

तिनीहरुकै रगत र बलिदानले ल्याएको

परिवर्तन भन्छन्

 

मनमनै सोच्छन्

तिनीहरुकै कारण आफूहरु यो पदमा पुगेको

लक्ष्यमा पुगेको

सत्ताको बागडोर सम्हालेको

 

तर, जनयुद्धमा मारिएर पनि

शहीद नहुनेहरूलाई

कसले सम्झने

कसले माल्यार्पण गर्ने

कसले

अकाल मृत्युको दिवस मनाइ दिने

भाषण गरिदिने

उनीहरुको जीवनको चर्चा गरिदिने

चोकहरुको नाम राखिदिने

पत्रपत्रिकामा नाम छापिदिने

सम्बन्धित पार्टीहरुले गर्व गरिदिने

 

सिवाय तिनका बा र आमा

सिवाय तिनका छोरा र छोरी

सिवाय तिनका पति औ पत्नी

 

तिनीहरु मारिए

त्यसै बिर्सिए

कहाँ पुगे कसरी पुगे

माटोमा मिसिए या

धुँवामा हराए

 

ती सारा शहीद नहुनेहरू

केवल तिनीहरुलाई माया गर्ने मुटुमा

जिन्दगिभर पग्लिरहे

दु:खको मुहान बनेर ।

राकेश कार्की (लस एन्जेलस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment