Comments Add Comment

डेढ दशकपछि राजबिराजको एयरपोर्टमा उत्रियो विमान


९ जेठ, काठमाडौं । झण्डै डेढ दशकदेखि बन्द सप्तरीको राजबिराज विमानस्थल बिहिबारदेखि सञ्चालनमा आउने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थलमा १५ सय मिटरको रन-वे पिच गर्ने काम दुई वर्षअघि सुरु भएको थियो ।

करिब ०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल बन्द भएको १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

१४ वर्षअघि पिच नभएको अवस्थामा रहेको यो विमानस्थल सडक यातायात सहज भएसँगै बन्द भएको थियो । ०६० अघि नेपाल एयरलाइन्सको १७ सिटे जहाजले मात्रै उडान भथ्र्यो ।

बुधबार श्री एयरलाइन्सको सीआरजे २०० ले परीक्षण उडान गरेको छ । ५० सिटको उक्त जहाजले विराटनगरदेखि राजबिराजसम्मको उडान गरेको हो ।

बिहिबारदेखि यो विमानस्थल सञ्चालनमा ल्याउनको लागि बुधबार टेस्ट फ्लाइट गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बिरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

अहिले श्री एयरलाइन्सले मात्रै यो विमानस्थलमा काठमाडौंदेखि उडान गर्ने इच्छा देखाएको छ ।

बिहीबार राजबिराज विमानस्थलको मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । बिहिबार पनि श्री एयरलाइन्सले नै काठमाडौंदेखि राजबिराजसम्मको उडान गर्दैछ ।

उडान कहिलेदेखि गर्ने भन्ने बारेमा अहिलेसम्म कुनै टुंगो नलागेको श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।

‘दैनिक उडान गर्ने योजना बनाएका छौं, कहिलेदेखि नियमित उडान गर्ने भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन,’ उनले भने ।

काठमाडौंदेखि राजबिराजसम्मको उडान गर्नका लागि मौखिक रुपमा सहमति पाइसकेको मानन्धरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment