Comments Add Comment

संस्कृत विद्यालयमा अंग्रेजी पढाइ, संस्कृत पढ्ने शून्य !

९ जेठ, सुर्खेत । पूर्वीय दर्शन, साहित्य, वेद, उपनिषद्को भाषा रहेको प्राचीनतम भाषा संस्कृत हो । तर, अहिले यो भाषा नगण्य मान्छेको मात्रै सरोकारको विषय बनेको पाइन्छ ।

भाषा शिक्षामा ‘संस्कृत भाषा’ अहिले नेपालमा लोपोन्मुख अवस्थामा पुगेको छ । यसको एउटा उदाहरण हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय ।

डेढ दशकअघि दर्जनौं विद्यार्थी संस्कृत शिक्षामा उत्तीर्ण गर्ने यो विद्यालयलाई अब भने अध्ययन गर्ने विद्यार्थी पाउन धौ–धौ परेको छ ।

विसं ०४३ देखि यो विद्यालय संस्कृत मावि बनेको हो । तथापि यहाँ अंग्रेजी पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ । नयाँ शैक्षिक सत्रमा एक हजार ८०० विद्यार्थीमा एक जना पनि संस्कृत पढ्ने विद्यार्थी भर्ना नभएको विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरे बताउँछन् ।

पश्चिमाहरूले पूर्वीय संस्कृत भाषा ध्वस्त बनाइसकेको आरोप लगाउँदै प्रधानाध्यापकले घिमिरे भने, ‘डेढ दशकअघि यो विद्यालयबाट दुई दर्जनभन्दा बढीले संस्कृत शिक्षाबाट माध्यमिक शिक्षा पूरा गरे तर अहिले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था आयो ।’

विसं ०७३ मा यहाँबाट एकजना छात्रा कल्पना शर्माले मात्र संस्कृत शिक्षामा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । त्यसको एकवर्ष पछि २०७४ सालमा यहाँ माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थी नै नभएको सो विद्यालयका सूचना अधिकारी पूर्णप्रसाद पौडेलले बताए ।

‘हामी कक्षा ६ देखि संस्कृतमा पढ्ने विद्यार्थीको भर्ना लिन्छौं तर, नयाँ शैक्षिकसत्र शुरु भएदेखि आजका दिनसम्म कोही विद्यार्थी संस्कृत भाषामा भर्ना हुन आएको छैन,’ सूचना अधिकारी पौडेलले भने ।

संस्कृत शिक्षक गणेश देवकोटाले संस्कृत शिक्षाप्रति सरोकारवालाको नै सरोकार घट्दै गएको बताउनुभयो । ‘प्राचीन सभ्यता बोकेको संस्कृत शिक्षाको महत्व नबुझेर होला, विद्यार्थीमा पनि यसप्रतिको आकर्षण घट्दै गएको छ,’ शिक्षक देवकोटाले भने ।

बिनाविभेद अध्ययन अध्यापन गरिने उक्त विद्यालयबाट हालसम्म संस्कृत शिक्षामा दुई जना दलित विद्यार्थी धर्मराज नेपाली र लोकबहादुर नेपालीले पनि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment