Comments Add Comment

ठूला नेता मिलेर ‘टीका लाउँदा’ नेकपामा साना नेताको बिचल्ली !

केन्द्रीय सदस्य मनोनयनपछि तत्कालीन एमाले र माओवादीमा असन्तुष्टि


९ जेठ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अहिले अस्पतालमा छन् । उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरिरहेका छन् । संयोग कस्तो भने ओलीकै पार्टीका नेताहरु यतिबेला उनै राष्ट्रकविले आजभन्दा ७० वर्षअघि लेखेको खण्डकाव्य पुनः पल्टाउँदैछन्ः

यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे नि आमा भनी
यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी

छोरी कान्ति र शान्तिको अनुहार हेरेर घिमिरेले पत्नी गौरीको शोकमा लेखेको खण्डकाव्यको यो पंक्ति अहिले पूर्व एमाले पंक्तिमा चर्चित छ । प्रसंग फरक यतिमात्र हो कि ठूला नेता मिले पनि कार्यकर्तालाई सुख छैन, नमिले पनि कार्यकर्तालेनै दुःख पाउछन् ।

केन्द्रीय कमिटी सदस्यमा मनोनित हुन नपाएका एक पूर्व एमाले नेताले ओली र माधव नेपाल नमिल्दा पार्टीले दुःख पाएको र मिल्दा कार्यकर्ताले दुःख पाउन लागेको टिप्पणी गरे । दुई नेता मिलेर खल्तिबाट नाम निकाल्दै केन्द्रीय सदस्य मनोनित गर्दा धेरै ‘जेन्युइन’ नेताहरु छुटेको पूर्वएमाले पंक्तिमा असन्तुष्टि छ ।

भीम रावलले तीव्र असन्तुष्टि जनाएर दयालवहादुर शाहीको नाम कटाउँदै ७ नम्बर प्रदेशका ३ जनाको नाम थपे । तर शीर्ष नेताको घरमा चहार्दै यस्ता धेरै नेताहरु गुनासो गरिरहेका छन्–दुई नेता मिलेपछि आउरेभाउरे मात्रै च्यापे, हाम्रो योगदानको कुनै कदर भएन ।

स्थानीय तहको चुनावमा धनकुटा जिल्लामा क्लीन स्वीप गरेर तीन पार्टीको गठबन्धनलाई पराजित गरेपछि तत्कालीन एमाले अध्यक्ष ओली विजयसभालाई सम्बोधन गर्न धनकुटा पुगेका थिए । उनले धनकुटाका सबै स्थानीय तहमा चुनाव जिताउने जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सन घोषणा गर्दै एमालेको ‘शान’ राखेकोमा उचित स्थान दिइने बताएका थिए ।

तीनै राई ठूलो मतान्तरमा तत्कालीन बहालवाला मन्त्री सुनील थापालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य भए । तर राई ओलीको क्याबिनेटमा परेनन् । उनी नेकपाको केन्द्रीय कमिटीमा पर्ने अपेक्षा सबैको थियो तर धेरै ‘जुनियर’ र जनमत नभएकाहरुले केन्द्रीय कमिटीमा स्थान पाउँदा राईको नाम ओली र नेपालको ‘लिष्ट’मा अटेन ।

राईसँगै जिल्ला अध्यक्ष भएका भोजपुरका शेरधन राई पोलिटव्यूरो सदस्य भइसक्दा उनी भने यसपटक पनि केन्द्रीय कमिटीमा परेनन् । नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्न खोज्दा ओलीलगायतका नेताहरुले उनलाई पछि स्थान दिने भन्दै रोकेका थिए ।

राई एउटा उदाहरण मात्र हुन् । पार्टी एकता र नेताहरुबीच एकता भएको मौकामा कम्युनिस्ट पार्टीभित्र साँढेको जुधाई बाच्छाको मिचाइ जस्तै भएको गुनासो नेताहरुको छ । मापदण्ड नबनाई नेताहरुको दिमागका आएका नाम केन्द्रीय कमिटीमा मनोनयन गर्दा धेरै योग्य नेता छुटेको टिप्पणी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए ।

योगेश भट्टराईकै पालमा अनेरास्ववियूको शीर्ष नेतृत्वमा रहेका र राजेन्द्र राई तथा रवीन्द्र अधिकारीको पालामा उपाध्यक्ष भइसकेका शिव गुरुङ यस्तै अन्यायको पात्र बनेका छन् । दुई पटकसम्म संघीय मामिला बिभागको सचिव भइसकेका गुरुङ नवौं महाधिवेशनमा ५ मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

नवौं महाधिवेशनमा पराजितहरुलाई केन्द्रीय सदस्य बनाइने मापदण्डमा गुरुङ पहिलो नम्बरमै पर्थे । तर पराजितहरु धेरै समेटिँदा उनी कुनै नेताको लिष्टमा परेनन् । पार्टीभित्रको तत्कालीन गुटबन्दीमा उनी माधव नेपाल पक्षका थिए ।

माधव नेपाल पक्षमै लागेबापत टिकटसमेत नपाएका नुवाकोटका राजेन्द्रप्रकाश लोहनी, लमजुङका जमीन्द्रमान घले, कञ्चनपुरका उर्वादत्त पन्तहरु यसपटक माधव नेपालकै रोजाइमा परेनन् । यद्यपि, नेपालले भने आफूले धेरै प्रयास गरे पनि नसकेको भनेर उनीहरुलाई शान्त्वना दिएको स्रोतले जनाएको छ ।

यीबाहेक पाँचथरका गणेश काङमाङ, तेह्रथुमका भवानी खापुङ, सिन्धुपाल्चोकको सुवास कर्माचार्य, धादिङका गुरु बुर्लाकोटी, ललितपुरका कृष्णलाल महर्जनलाई माधव नेपालले चाहेर पनि केन्द्रीय सदस्य बनाउन नसकेको बताएका छन् ।

त्यस्तै, बाँकेका दलबहादुर सुनार, जुम्लाका देवीलाल थापा, कैलालीका गणेश विश्वकर्मा, सर्लाहीका सुरेन्द्र लामा माधव नेपाल पक्षमा लागेर पनि केन्द्रीय कमिटीमा ओली नेपाल भागबण्डामा परेनन् । झलनाथ खनाल निकट पुरुषोत्तम पौडेल पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् ।

दुवैपटक संसदमा अत्यन्त राम्रो प्रदर्शन गरेका चितवनका कृष्णभक्त पोखरेल, अघिल्लो संसदमा भूमिका खेलेका र भीम आचार्यको कोपभाजनमा परेर सुनसरीमा टिकट नपाएका रेवती भण्डारी पनि नेताको रोजाइमा परेनन् ।

त्यसो त अध्यक्ष ओलीसँग झन् ठूलो लिष्ट थियो । उनले आफ्ना धेरै सहयोगीहरुलाई केन्द्रीय सदस्य बनाउँदा पनि ठूलो संख्या छुटेको भन्दै उपयुक्त अवसर दिइने आश्वासन बाँडिएको छ ।

धनकुटाका राजेन्द्र राई, पाँचथरका वसन्त नेम्वाङ, सर्लाहीका गणेश प्रसाईं, सिन्धुपाल्चोकका सरेश नेपाल, हस्त पण्डित, नुवाकोटमा केशव पाण्डे, मकवानपुरमा कृष्णप्रसाद दाहाललगायतलाई ओलीले केन्द्रीय सदस्य बनाउन सकेनन् ।

त्यस्तै युवा संघ अध्यक्ष भइसकेका राजीव पहारी अखिल अध्यक्ष भइसकेका किशोरविक्रम मल्ल, नवीना लामा पनि केन्द्रीय कमिटीमा पर्न सकेनन् । पोखराको मेयर भइसकेका कास्कीका चर्चित नेता कृष्ण थापा, बागलुङका हीरा केसीको दौडधुप पनि काम लागेन ।

नवौं महाधिवेशनमा एक मतले केन्द्रीय सदस्यमा पराजित भएका तर बैतडीबाट २ पटक निर्वाचित सांसद् दामोदर भण्डारी अझै दौडधूप गरिरहेका छन् । जाजरकोटका दीलबहादुर सिंह अहिलेसम्म कुनै अवसर नपाउने अभागी नेतामा यसपटक पनि दर्ज भएका छन् ।

तत्कालीन एमालेमा केन्द्रीय सदस्य बन्न योग्य नेताहरुको ठूलो समूह रहेकाले निश्चित कोटामा सबै अटाउन नसकेको पूर्वमहासचिव ईश्वर पोखरेलले बताए । पोखरेलले एकीकृत पार्टीमा योग्यता र क्षमताका आधारमा सबैले जिम्मेवारी पाउने भएकाले कसैलाई निराश नहुन आग्रह समेत गरेका छन् ।

पूर्वमाओवादी समूहमा झन् ठूलो हलचल मच्चिएको छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादलबीच सहमति भएर आएको भनिएको २०० जना केन्द्रीय सदस्यको सूचीमा नपरेकाहरुले सामाजिक सञ्जालबाटै आक्रोश व्यक्त गरिरहेका छन् ।

केन्द्रीय सदस्यको सूचीमा परेका रुकुमका गोपाल शर्माले आफूभन्दा सिनियर धेरैजना छुटेको भन्दै पद अस्वीकारको घोषणा गरेका छन् । आफूलाई आमन्त्रितमा राखेकोमा वरिष्ठ नेता अमिक शेरचन नै असन्तुष्ट रहेको स्रोतको दावी छ ।

माओवादी धारमा झन् भद्रगोल

तत्कालीन एमालेमा भन्दा माओवादीमा भद्रगोल देखिएको छ । तत्कालीन एमालेमा २०० जना निर्वाचित केन्द्रीय सदस्य भएकाले ४५ जनामात्र थपिएकाले ४५ भित्र नपर्नेको मात्र असन्तुष्टि आएको हो । तर तत्कालीन माओवादीमा पार्टी संरचना नै लथालिंग थियो ।

पार्टी एकीकरणको दिन निर्वाचन आयोगमा बुझाइएको सूचीमा तत्कालीन माओवादीबाट ८८ जनामध्ये ३१ नम्बरमा टंक राईको नाम थियो । खोटाङबाट २ पटक एमालेको सांसद निर्वाचित भएका राई माले हुँदै माओवादी भएका थिए । उनी सचिवालय सदस्य थिए तर अन्तिम सूचीमा उनको नाम रहेन ।

४ हजार केन्द्रीय सदस्यबाट २ सय जना छान्दा कुनै मापदण्ड नबनाइएको गुनासो उनीहरुको छ । विशेष गरी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, पूर्वसभासदहरु राजकुमार श्रेष्ठ, निरु दर्लामी, झापाका झलकसिंह दर्लामीलगायतले तीव्र असन्तुष्टि जनाएका छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादीका ८८ सदस्यीय केन्द्रीय कमिटीकै सदस्य रहेका रामेछापका धावा लामा यसपटक परेनन् । उनी रामेछापका तत्कालीन माओवादीका इञ्चार्ज र सबैभन्दा सिनियर हुन् । त्यस्तै जिल्ला संयोजक मैनकुमार मोक्तान पनि परेनन् । सह–संयोजक श्याम श्रेष्ठले भने बाजी मारे ।

पूर्वमन्त्रीसमेत रहेका काभ्रेका सूर्यमान दोङ, ३ नम्बर प्रदेशकै वरिष्ठ महिला नेतृ मीना तामाङ नपरेकोमा आपत्ति जनाइएको छ । सिन्धुपाल्चोकबाट पनि वर्षमान पुनले युवराज दुलाललाई अघि बढाउन खोज्दा सरल सहयात्री केन्द्रीय कमिटी बाहिर परेका छन् ।

स्रोतका अनुसार, प्रचण्ड समूहमा वर्षमान पुन र जनार्दन शर्माले आ–आफ्ना मान्छे टिप्न खोज्दा केन्द्रीय कमिटीमा पर्नुपर्ने धेरै सिनियर नेताहरु छुटेका छन् । नेताको रोजाइमा परेकाहरुले मौका पाएको गुनासो पूर्व माओवादी नेताहरुको छ ।

कुनै प्रक्रियाविना केन्द्रीय सदस्य बनाइएको भन्दै केन्द्रीय कमिटीमा नपर्ने पूर्वमाओवादी नेताहरुले ‘टीके केन्द्रीय सदस्य’को संज्ञा दिएका छन् । सिन्धुलीकी पूर्वसभासद् निरु दर्लामीले लेखेकी छन्– टीकेहरुको दिन पनि हेरौंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment