Comments Add Comment

अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास, बाबुलाई भेटेर के भने ?

१० जेठ, विराटनगर । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् ।

बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको नेक्सस खुलाएका छैनन् । स्रोतले भन्यो, ‘बुधबारको तुलनामा गोरे केही फ्रेस देखिन्थे तर, हामीले सोधेको प्रश्नको पेरिफेरिमा केन्द्रित हुनुभन्दा अनौपचारिक कुरामा केन्द्रित छन् ।’

साढे ३३ किलो सुन हराएपछि विमानस्थलका कर्मचारीलाई बोलाएर गरेको सोधपुछ, सिलगुढीमा दिएको यातना, खनियाखर्क होटलमा बसेको बैठकको निष्कर्षबारे भने सुनाएका छन् । कान्छी चोकमा यातना दिएको पनि स्वीकार गरेका छन् ।

गोरेले आफूलाई ‘माथिल्लो तहका मान्छेले फसाए’ मात्र भनेका छन् । सुन तस्करीको नेक्सस खुलाएका छैनन् । स्रोतले भन्यो, ‘केही नाम त लिएका छन् तर, कोअपरेट गरेका छैनन् ।’

तर, प्रहरी अधिकारीहरुले भने बयानमा गोरेले देखाएको व्यवहार अर्थपूर्ण भएको मान्छन् । कुख्यात अपराधीहरु प्रहरी वा अनुसन्धानकर्ताको मनोविज्ञान पढ्छन् र यदि आफ्नोबारेमा पर्याप्त जानकारी छैन भने डोमिनेट गरेर कुरा मोड्छन् । एक पूर्वप्रहरीले भने, ‘मैले अनुसन्धानका क्रममा थुप्रै पटक फेस गरेको छु । तपाईले पेल्न सक्नुभयो भने खुरुखुरु सूचना दिन्छ । नभए उल्टो तपाईलाई नै पेल्छ ।’

बयानकै क्रममा बाबुलाई भेटेर के भने ?

गोरेको बयान सकिएको छैन । तर, बयानकै क्रममा उनले बिहीबार अदालतमै बाबुलाई पनि भटेका छन् ।

टिफिन टाइममा उनीहरुबीच झण्डै आघा घन्टा बयान भएको कक्षमा नै कुराकानी भएको थियो ।

त्यसक्रममा उनले आफूलाई गौरीघाटबाट नभई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको बताएका छन् । सिलगुढीबाट झापा हुँदै आएको र सोमबार नै छानबिन समितिका सदस्यले भेटेपछि आफूलाई सोधपुछ गरेको उनले बाबुलाई बताएका छन् ।

त्यो रात नेताको घरमा राखेको र भोलिपल्ट पक्राउ परेको भनेर सार्वजनिक गरेको उनको दाबी छ । तर, उनलाई राखिएको घर कुन नेताको थियो भन्ने खुलाएका छैनन् ।

तर अनुसन्धानकर्ताहरु भने गोरेको यो बयान उनीमाथि केन्द्रित अनुसन्धान प्रभावित पार्ने प्रयासमात्र भएको बताउँछन् । पक्राउ परेपछि पनि उनले सुन तस्करीबारे सोधेको प्रश्नमा यस्तै अप्रासंगिक कुरा झिकेेको छानबिन समितिका एक सदस्यले सुनाए ।

गोरेका बाबुले भने आफ्ना छोरालाई तत्कालीन डीआईजी गोविन्द निरौलाले समयमै बचाएको भए आफ्नो छोरा दुष्कर्ममा नलाग्ने बताएका छन् । आफ्नो छोराले गरेको गलत कामको सजाय पाउनुपर्ने तर, अरुलाई पनि छाड्न नहुने उनले बताए ।

लहरो तान्दा पहरो गयो

हराएको भनिएको साढे ३३ किलो तस्करीको सुन र शनम शाक्यको हत्याबाट छानबिन सुरु भएको थियो । तर, जब अनुसन्धान अघि बढ्दै गयो, लहरो तान्दा पहरो नै गयो ।

समिति गठन भएको दुई साता बित्न नपाउँदै प्रहरीकै केही उच्च अधिकारी गोरे समूहमा संलग्न भएको प्रमाण फेला पर्‍यो । सुरुमा त समितिका अधिकारीहरुलाई त्यो विश्वास गर्न गाह्रै भयो । तर, जब ०७२/०७३ मा विमानस्थल सुरक्षामा खटिएका पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनालसहितका प्रहरी अधिकारीले गोरेबाट मोटो रकम लिएको लिष्ट समितिले हात पार्‍यो, त्यसपछि सुन तस्करी भयावह अवस्थामा पुगेको खुल्यो ।

केही प्रहरी अधिकारी बयानमा जाँदा पक्राउ परे । एसएसपी खत्री समितिको छेऊमै पुगेनन्, बरु फरार भए ।

बयानको बीचमै निस्किएका डिएसपी सञ्जय राउत पनि एकाएक सम्पर्कविहीन भए । त्यसपछि गोरे समूहमा उनीहरुको संलग्नता रहेको आशंकालाई विश्वास गर्न समितिलाई लामो समय कुर्नै परेन । अन्ततः बयानका लागि आएका सबै प्रहरी अधिकारी पक्राउ परे ।

अनुसन्धानका क्रममा पक्राउ परेका राप्रपा प्रजातान्त्रिका नेता भुजुङ गुरुङ लगायतका प्रतिवादीहरुबाट सुन गोरेको नभएको खुल्यो । भुजुङसहितका अभियुक्तले सुनमा मोहन अग्रवालको लगानी भएको बताएपछि अनुसन्धानको दायर बढ्यो ।

र, पछिल्लो चार वर्षको अवधिमा मात्र करिब ३८ क्वीन्टल सुन तस्करी भएको निश्कर्षमा समिति पुर्‍यो ।

गोरे त भर्‍याङ मात्र हुन् !

प्रहरी अधिकारीहरुले गोरे पक्राउ पर्नु सुन तस्करीको अनुसन्धानलाई महत्वपूर्ण उपलब्धी मानेका छन् । हो पनि, यो मुद्दामा मुख्य अभियुक्त नै उनलाई बनाइएको छ र पक्राउ परेकाहरुमध्ये उनी नै सुन तस्करीमा संलग्न माथिल्लो तहका हुन् ।

तर, गोरेको पक्राउ सबैथोक होइन । एक पूर्वप्रहरी अधिकारी भन्छन्, ‘गोरे त भर्‍याङ मात्र हुन्, जसले सुन तस्करीका लागि आवश्यक सेटिङ मिलाउने काम गरेका हुन् ।’

गोरे स्वयंले पनि यो स्वीकार गरेका छन् कि उनी सुनको लगानीकर्ता होइनन् । सेटिङ मिलाएबापत आउने रकमबाट बेलाबेला सुन मगाउँथे । तर, लगानी जुटाउने काम एमके अग्रवालले गर्थे । उनले भारतीय लगानीकर्ताबाट रकम जुटाउने गरेको आशंका छ । तर, गोरेले यसबारे केही भनेका छैनन्, एमके फरार छन् ।

एक प्रहरी अधिकारी भन्छन्, ‘भारतमा वैधानिक प्रक्रियाबाट ल्याएको सुनले माग धान्न सक्दैन । त्यसैले तस्करी गरेर ल्याउँछन् । यसका लागि गोरेहरु प्रयोग भए ।’

अब बलियो अनुसन्धान चाहिन्छ

प्रहरी अधिकारीहरुका अनुसार अहिलेसम्म छानबिन समितिले जे गरेको छ, त्यो ठूलै उपलब्धी हो । यसले कसरी सुन तस्करी भइरहेको छ भन्ने तस्वीर बाहिर ल्याएको छ ।

तर, अब २/४ दिन म्याद थप गरेको भरमा छानबिनलाई निश्कर्षमा पुर्‍याउन नसकिने बताउँछन् ।

समितिलाई विस्तार गरेर वा अधिकारसम्पन्न टास्कफोर्स बनाएर छानबिन गर्दा प्रभावकारी हुने उनीहरु बताउँछन् ।

खासगरी विमानस्थलबाट भएको तस्करीमा भन्सार विभाग कहिँ न कहिँ जोडिन्छ । हुण्डीलगायतबाट रकम जाने भएकाले अनौपचारिक बैंकिङबारे अध्ययन गर्ने राष्ट्र बैंकको भूमिका पनि अनुसन्धानमा महत्वपूर्ण हुन्छ ।

एक पूर्वप्रहरी अधिकारी भन्छन्, ‘सुन तस्करीका लगानीकर्तासम्म पुग्ने हो भने छानबिन समितिको म्याद एक/दुई हप्ता थपेर हुँदैन । बरु एक वर्ष, दुई वर्ष लागे पनि लागोस् तर, प्रष्ट टीओआर बनाएर अधिकार सम्पन्न समिति बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment