Comments Add Comment

सभामुख र अध्यक्षलाई सम्माननीय किन भनिएन ? यस्तो छ सरकारको जवाफ

'कांग्रेसलाई मन पर्ने राष्ट्रपति थिए भने यस्तो प्रश्न गर्ने थिएन'

१० जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई संसदको सुझावअनुसारनै सम्बोधन गरेको सरकारले प्रष्ट पारेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिबाट आदरार्थी शब्द प्रयोग नभएको भन्दै नीति तथा कार्यक्रममा संसोधन दर्ता गरेपछि सरकारको तर्फबाट यो जवाफ आएको हो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले संघीय संसदबाटै यस्तो सम्बोधन गर्दा हुन्छ भन्ने विधि आएपछि सोही अनुसार राष्ट्रपतिबाट सम्बोधन भएको प्रष्ट पारे । उनले विपक्षीलाई अनावश्यक आशंका र ‘प्रोभोक’ गर्ने ढंगले प्रस्तुत नहुन आग्रह समेत गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै मुख्य सल्लाहकार रिमालले भने ‘कसलाई पहिले महोदय भन्ने, कसलाई ज्यू भन्ने सन्दर्भमा अनावश्यक प्रोभोक भएको छ । प्रतिनिधिसभाका सभामुख,राष्ट्रियसभाका अध्यक्ष भनेर सम्बोधन गरे हुन्छ भन्ने विधि उहाँहरुलेनै ल्याउनुभयो । यो राष्ट्रपति वा प्रधानमन्त्रीको तहबाट मात्र हुने निर्णय होइन ।’

कांग्रेसले महोदय कहाँ गयो ? ज्यू किन भनिएन ?’ भन्ने जस्ता अनावश्यक प्रश्न उठाएर समयको बर्बादी गरिरहेको रिमालले बताए । उनले यो विषयमा धेरै चरण छलफल भएर सभामुख र राष्ट्रियसभा अध्यक्षको तर्फबाट पनि सुझाव लिएर सम्बोधनको विधि तय भएको बताए ।

रिमालले भने ‘उहाँहरुलाई मन पर्ने राष्ट्रपति भएको भए यो ज्यू र महोदय खोज्नुहुने थिएन । तर के बुझ्नुपर्छ भने यस्तो सम्बोधन त्यहाँको संयन्त्रले तय गरेको विधिअनुसार हुन्छ । राष्ट्रपति वा प्रधानमन्त्रीको इच्छा अनुसारमात्र भएको होइन । यस्ता कागजपत्र एक रातमै त्यत्तिकै लेखिदैन । संविधान, कानुन र परम्परा पल्टाएर गरिन्छ ।’

रिमालले उपराष्ट्रपतिलाई सभामुख आसनसँगै नराखिएको सन्दर्भमा पनि अघिललो पटकको गल्ती सच्याइएको प्रष्ट पारे । संयुक्त संसदको पहिलो बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने क्रममा सभामुख र अध्यक्षसँगै लहरमा उपराष्ट्रपतिलाई राखिएको थियो ।

अन्तर्राष्ट्रिय परम्परा र अभ्यासहरुलाई अध्ययन गर्दा उपराष्ट्रपतिको स्थान त्यहाँ नदेखिएकाले यसपटक सच्याइएको रिमालले बताए । सभामुख आसनसँगै बस्न नपाउने भएपछि उपराष्ट्रपति अस्वस्थ भएको बताएर राष्ट्रपतिको सम्बोधनमा अनुपस्थित भएका थिए ।

यो पनि पढ्नुहोस् 

राष्ट्रपतिले सभामुख र अध्यक्षलाई अनादर गरेको भन्दै कांग्रेसको संशोधन दर्ता

आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति पुन संसदमा अनुपस्थित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment