Comments Add Comment

छापामा आज: संसदमा गम्भीर बहस तर सांसद् गायब

भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा, सार्वजनिक पदमा रहन ८ कक्षा अनिवार्य !

११ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कुनैले राजनीतिक विषयलाई बढी जोड दिएका छन् भने केहीले आर्थिक, सामाजिकलगायत क्षेत्रका बेथिति उधिनेका छन् ।

नयाँ पत्रिका दैनिकले आज संसदमा गम्भीर बहस चलिरहे पनि सांसदहरु भने अनुपस्थित हुने गरेको खबर छापेको छ । नेकपामा महासचिवलाई पाँच र प्रवक्तालाई दुई अधिकार दिने अर्को खबर पनि नयाँ पत्रिकामै छ ।

नागरिकमा निपा भाइरसको उच्च जोखिममा नेपाल भए पनि तयारी नगरिएको, विदेश भ्रमणमा अंकुश लगाइएको लगायतका खबर छ ।

कान्तिपुरले १३ वर्षमै आमा बनेकी किशोरीको कथासँगै भ्याटको ५४ अर्बमा भएकाे अनियमितताबारे समाचार छापेको छ ।

अन्नपूर्णले सरकारको १०० दिनको समीक्षा गरेको छ भने राजधानीले बजेट तान्न दौडधुप शुरु भएको जनाएको छ ।

संसदमा गम्भीर बहस तर सांसद् गायब

संसदमा यतिबेला महत्त्वपूर्ण मानिने नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ । विषय गम्भीर भए पनि सांसदहरुले भने यसमाथि बेवास्ता गरेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार सांसदका ८० प्रतिशत कुर्सी खाली हुने गरेका छन् । प्रतिपक्षी सांसद् पनि नाम लेखाएर गायब हुने गरेको नयाँ पत्रिका दैनिकका खबरमा उल्लेख छ ।

‘नीति तथा कार्यक्रम संसदको नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो’, नयाँ पत्रिका लेख्छ– तर राष्ट्रपतिद्वारा संसदमा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट शुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो ।छलफलमा सांसदको सहभागिता त लगभग शून्य नै थियो ।’

कान्तिपुरले पनि याे विषयलार्इ ‘बैठकमा ४०, हाजिर २२२’ शीर्षक दिएर भित्री पृष्ठमा समेटेकाे छ ।

नेकपामा जिम्मेवारीः महासचिवलाई पाँच, प्रवक्तालाई दुई अधिकार

नेकपाले महासचिव र प्रवक्तालाई अधिकार प्रत्यायोजन गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार महासचिवले अध्यक्षको परामर्शमा पार्टीको नीति, निर्णय कार्यान्वयनका लागि योजना तयार गरी बैठकमा पेश गर्ने, स्थायी पोलिटब्युरो, राष्ट्रिय परिषद् बोलाउने, कार्यसूची तयार गर्ने लगायत काम गर्नेछन् ।

पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटि बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने । बैठकका निर्णय कार्यान्वयन गराउने र स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीले तोकेका अन्य काम पनि महासचिवले नै गर्ने गरी अधिकार दिइएको नयाँ पत्रिकाले लेखेको छ ।

प्रवक्ताले पार्टी कमिटीका निर्णय सार्वजनिक गर्नेछन् ।

भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा

उपभोक्ताले तिरेको ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) को रकम सरकारले व्यापारीको खल्तीमा पुर्याएको छ ।

कान्तिपुर दैनिकका अनुसार, उपभोक्ताबाट उठाइएको भ्याट रकम स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा व्यापारीलाई सरकारले फिर्ता दिएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार वनस्पति घिउ तथा तेल, चिनी, मैदा, कपडा र मोबाइल फोनलगायत सामग्री बिक्रीका क्रममा उपभोक्ताबाट उठाइएको ५४ अर्ब रुपैयाँ १५ वर्ष अवधिमा व्यापारीको पोल्टामा पुगेको हो ।

सार्वजनिक पदमा रहन ८ कक्षा अनिवार्य !

सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ अनिवार्य उत्तीर्ण हुनैपर्ने व्यवस्थ ागर्न लागेको छ ।

कान्तिपुर दैनिकका अनुसार २०८३ वैशाख १ गतेपछि आधारभूत शिक्षा नलिएका व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।

शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानून आयोग पठाइएको छ ।

सांसदले कुटे प्रशासकीय अधिकृत

सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति मलंगवामा प्रदेश सांसदले दुव्र्यवहार गरेका छन् ।

कान्तिपुर दैनिकका अनुसार लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद् सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।

समाचार अनुसार यादवले वडा सचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् । उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए ।

दूधमा ‘तर’ मारेर करोडौं घोटाला


दुग्ध विकास संस्थान (डीडीसी) का अध्इक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं घोटाला गर्ने गरेको दाबी गरेका छन् । संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ फ्याट हुनुपर्नेमा दुई दशमलव आठ मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष राम गौतमले यस्तो अभिव्यक्ति दिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न भने सकेको छैन ।

अक्सिजनमै धोका, चचुरो नजिकैबाट १९ अरोही फर्किए

न्यूनतम आवश्इकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोका दिएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकैबाट १९ आरोही आधार शिविरमा ओर्लिएका छन् ।

ज्यान जोखिममा परेपछि उनीहरु ८ हजार ६ सय मिटरबाट आधारशिविरमा ओर्लिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । ज्यान जोखिममा परेर फर्किनेमा १० अमेरिकी र ९ जना शेर्पा गाइड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment