Comments Add Comment

वार्ता रद्द गर्ने अमेरिकी निर्णय दुःखद र विश्वको इच्छाविपरितः उत्तर कोरिया

जुनसुकै बेला ट्रम्पसँग वार्ता गर्न तयार रहेको उत्तर कोरियाको भनाइ


११ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुर वार्ता रद्द गरेकोमा उत्तर कोरियाले दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ ।

आगामी १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच वार्ता हुने तय भएको थियो । तर, ट्रम्पले सो वार्ता बिहीबार रद्द गरेका थिए ।

उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार किम जोङ्ग उनले ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेका थिए तर, ट्रम्पको फैसलाले निराश बनाएको छ ।

उत्तर कोरियाले अमेरिकासँग सम्बन्धित मुद्दाहरुलाई ‘जहिले पनि जसरी भए पनि’ समाधान गर्न चाहेको पनि बताएको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको बारेमा ह्वाइट हाउसका अधिकारीहरुले उत्तर कोरियाले विगतमा धेरै बाचा तोडेकाले वार्ता रद्द गर्नु परेको बताएका छन् ।

उत्तर कोरियाले सिंगापुरमा तय भएको वार्ताको लागि तयारी बैठक आयोजना नगरेको र परमाणुस्थल ध्वस्त पारेको दृष्य प्रत्यक्ष अवलोकन गर्न पर्यवेक्षकहरुलाई अनुमति नदिएको लगायतका आरोप पनि अमेरिकाले लगाएको छ । तर, उत्तर कोरियाले विदेशी पत्रकारहरुको एक समूहलाई साक्षी राखेर आफ्नो एक परमाणु स्थल नष्ट पारेको थियो ।

अमेरिकाको पहलमा उत्तर र दक्षिण कोरियाली नेताहरुबीच भएको ऐतिहासिक भेटवार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्ने, उत्तर कोरियाले आफ्नो परमाणु केन्द्र नष्ट गर्ने लगायतका सहमति भएको थियो । सोही सहमतिअनुसार परमाणु केन्द्र नष्ट गरेको उत्तर कोरियाको भनाइ छ । तर, दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि भने उत्तर कोरिया रुष्ट थियो ।

अमेरिकाको आलोचना

अमेरिका र उत्तर कोरियाबीच वार्ता नै रद्द भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्- अमेरिका र उत्तर कोरियाको परमाणु निशस्त्रीकरणको दिशामा बाटो पहिल्याउने प्रयास जारी राख्नुपर्छ ।

यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले पनि वार्ता रद्द गरिएको प्रति खेद व्यक्त गरेका छन् । उनले सुरक्षा सहयोगीहरुसँग आपतकालीन बैठकसमेत आह्वान गरेका छन् ।

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पका विरोधीहरुले भने वार्ता रद्द गर्नु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले भने यस समय उत्तर कोरियासँगको बैठक उचित नभएको बताएका छन् । उनले उत्तर कोरियाली नेताको भट्काउपूर्ण अभिव्यक्तिका कारण वार्ता रद्द गरिएको स्पष्ट पारेका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई पत्र लेख्दै ‘कुनै दिन’ भेट्ने बताएका छन् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment