Comments Add Comment

चियापानः इलामे चियादेखि फापरको ममसम्म

अकबरे खुर्सानी, टिमुर र गोलभेडाको तिख्खर अचारसँग कोदोको रोटी खानुको स्वाद कस्तो होला ? त्यसमाथि अलिकति गुन्द्रकको अचार होस्, चिसो मोही होस्, थोरै मकै होस् ।

तपाईंलाई लाग्दो हो, यस्तो खान्कीको स्वाद लिन त गाउँ नै पुग्नुपर्छ । ग्रामिण वातावरणमा रमाएर रैथाने परिकारको स्वाद लिन यहाँ कहाँ पाइन्छ ?

पाइन्छ । यसका लागि अन्त जानै पर्दैन । काठमाडौंभित्रै, बालुवाटारमा । प्रधानमन्त्री निवास ३ नम्बर गेटको सम्मुखमा उभिएपछि तपाईले देख्नुहुनेछ, चियापान ।

थरीथरीका चिया र रैथाने खान्की

झट्ट हेर्दा चिया मात्र पाइने ठाउँ हो कि भन्ने भान पर्छ । स्वभाविक हो, त्यो चियाकै अखडा हो । नेपालभरका चिया बगानमा उपलब्ध थरीथरीका चियाको स्वाद लिने यो उपयुक्त जक्सन हो । तर, यहाँ चिया मात्र पाइँदैन । कोदाको रोटी पाइन्छ । मकै र भटमास पाइन्छ । मोही र गुन्द्रक पाइन्छ । सिलामको अचार पाइन्छ । यी त भए, रैथाने स्वाद ।

शहरीय जिब्रोलाई फ्युजन स्वाद

अब रैथाने परिकारमा शहरीय स्वादलाई फ्युजन गरिएको खानेकुरा पनि यहाँ पाइन्छ । जस्तो तपाईले त्यहाँ फापरको मम खान सक्नुहुनेछ । यस्ता अरु थुप्रै भेराइटी छन्, जो स्वादिलो मात्र छैनन्, स्वस्थ्यकर पनि छन् ।

तपाईले यहाँ मम खान सक्नुहुनेछ, चाउमिन खान सक्नुहुनेछ, पिज्जा खान सक्नुहुनेछ । नेपाली ग्रामिण स्वाददेखि शहरिया स्वादसम्म लिन सक्नुहुनेछ । नेपालीदेखि कन्टिनेन्टल परिकारको मेनु छ यहाँ । तर, यी खानेकुराहरुमा रैथाने फ्लेबर भेट्न सकिनेछ ।

बाँसको बान्की

एकैछिन खानेकुराको कुरा थाँती राखौं । यसको आन्तरिक सज्जा पनि ग्रामिण शैलीको छ । व्यस्त सडकबाट केही मिटर भित्रको वातावरण भने शान्त छ । तपाई परिवारसहित त्यहाँ रमाउन सक्नुहुनेछ । मिठो-मसिनो खाँदै आपसमा गफिन सक्नुहुनेछ ।

दुई तलाको रेष्टुरेन्ट बाँसले बनाइएको छ । झट्ट हेर्दा बाँसै-बाँस देखिन्छ । बाँस र त्यसका भाटा खिपेर आकर्षक ढंगले भवन ठड्याइएको छ । यस्तो सजावटको घरमा बसेर रैथाने स्वादमा रमाउनु आफैमा नौलो अनुभूति हुनेछ ।

चियाको असली स्वाद

हामीकहाँ चिया पिउने परम्परा नै छ । हरेकको दैनिकी चियाबाटै सुरु हुन्छ । तर, हामी सिटिसी चियामा दुध र चिनी मिश्रण गरेर पिउँछौं । यो असली स्वादको चिया होइन । चियाको मिश्रण मात्र हो ।

अनौठो त के भने, हामीले कृषि उपजमा सबैभन्दा बढी निर्यात गर्ने बस्तु हो चिया । नेपालमा उत्पादित चियाको विश्वमै पारखी छन् । यहाँ ठूल-ठूला चिया बगान छन् । त्यहाँ उत्पादित चिया विश्व बजारमा पुग्छन् । तर, हामी भने मिश्रणयुक्त चियाको स्वादमा मात्र अल्भिmएका छौं । चियाको असली स्वाद कस्तो हुन्छ ? हामीमध्ये धेरैलाई अनुभव छैन ।

यदि असली चियाको स्वाद चाख्ने नै हो भने, चियापान सही गन्तव्य हुनसक्छ । इलाम, पाँचथर, धनकुटा लगायतका पहाडी भेगमा उत्पादन गरिएको चिया यही पाइन्छ । त्यो पनि स्वाद, स्वादको । चाहे तपाई ह्वाइट टि पिउनुहोस् वा ग्रीन । चाहे वुलङ टि पिउनुहोस् वा त पर्ल ब्ल्याक । हामीकहाँ जे-जति थरीका चिया बन्छन्, ति सबैको स्वाद चियापानमा चाख्न पाइन्छ । त्यसबाहेक अनेक फ्लेवर मिश्रण गरिएको चिया पनि पिउन सकिने चिया मास्टर चिरन दाहाल बताउँछन् । उनका अनुसार, यर्चागुम्बादेखि लेमन फ्लेबरको चिया पिउन सकिन्छ ।

रैथाने रेष्टुरेन्ट

आवरण, खान्की र विशेषता सबै कुरा फरक छ, चियापानको । यसलाई अध्यक्ष बिमल ढकालले रैथाने स्वाद मात्र पस्कने थलोको रुपमा विकास गर्ने योजना बनाएका छन् । ‘सुरुमा हामीले रेष्टुरेन्टको अवधारणा सुरु गर्दा पनि रैथाने स्वाद मात्र पस्कने जमार्को गरेका थियौं’ उनले थपे, ‘त्यसलाई अब पूर्ण रुपले विकास गरिनेछ ।’

यस्तो रेष्टुरेन्ट, जहाँ भेग विशेषमा प्रचलित खानेकुरा पाइनेछ । जस्तो कि, इलामको चिया, पाल्पाको चुकौनी, तराइको भक्का । यहाँ पश्चिम पहाडका कालो सिमीको दालदेखि टिमुरको अचारसम्म उपलब्ध हुनेछ ।

प्रबन्ध निर्देशक केशव शर्माका अनुसार रेष्टुरेन्ट परिसरमै ढिंकी, जाँतो, पानी घट्ट तयार गर्ने योजना छ । अतः तिनै प्रविधिबाट खानेकुरा तयार गरेर आगन्तुकलाई चखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment