Comments Add Comment

अब मुख्य राजमार्ग यसरी बन्नेछन् ‘एक्स्प्रेस-वे’

भायडक्टको प्रतिकात्मक तस्वीर

११ जेठ, काठमाडौं । सरकारले अहिलेका मुख्य राजमार्गहरुलाई ‘एक्स्प्रेस-वे’का रुपमा विकास गर्ने नीति ल्याएको छ । सडक विभागकाअनुसार अहिलेका ठूला र रणनीतिक महत्वका राजमार्गलाई एक्स्प्रेस-वेका रुपमा विकास गर्ने योजना अघि सारिएको हो ।

अहिलेसम्म पूर्वपश्चिम राजमार्गसहित विशेष महत्वका राजमार्गहरु दुई लेनमै सीमित छन् । तर, ‘एक्स्प्रेस-वे’का रुपमा विकास गर्दा त्यसलाई विस्तार गरेर कम्तिमा ४ लेनको बनाउने रणनीति सरकारले लिएको हो ।

आगामी आर्थिक वर्षदेखि विभागले मुख्य राजमार्गहरु मात्र हेर्ने प्रवक्ता मुक्ति गौतमले बताए । उनकाअनुसार साना र शहरी सडकहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा छ ।

स्थानीय तह र प्रदेशलाई हस्तान्तरण भएपछि विभाग मुख्य राजमार्गलाई उच्चगतिमा गाडी गुडाउन सकिने किसिमबाट विस्तारमा केन्द्रित हुनेछ । नेपालमा एक्स्प्रेस-वेका रुपमा फास्ट ट्रयाक निर्मणाधीन छ । विभागले पहिलो एक्स्प्रेस-वेेमा काम गर्न नपाए पनि मुख्य राजमार्गहरुलाई आफैंले ४ लेनको बनाउँदै जाने नीति लिएको एक अधिकारीले बताए ।

मुख्य राजमार्गहरुलाई यस्ता एक्स्प्रेस-वेका रुपमा अन्तर्राष्ट्रिय स्तरको बनाउन नयाँ प्रविधिको प्रयोग पनि गरिनेछ ।

एसियाली विकास बैंकको सहयोगमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डलाई ४ लेनको बनाउने तयारी भइसकेको छ । यसका लागि निर्माण कम्पनी छनोट अन्तिम चरण्मा पुगेको छ ।

काँकडभिट्टादेखि पथलैयासम्मको सडकलाई पनि चार लेनको बनाउन डीपीआर निर्माण गर्ने योजना छ । बुटवलदेखि महेन्द्रनगरसम्मको खण्डलाई विस्तार गर्दै एक्स्प्रेस-वे बनाउन डीपीआर गर्ने तयारी छ ।

यसबाहेक बाँकी खण्डलाई चार लेनको बनाउने योजनाअनुसार कोशी-कमला खण्डको डीपीआर तयार छ । यसको निर्माणका लागि सरकारले आगामी बजेटमा रकम छुट्याउने बताइएको छ ।

दूरी छोट्याउन सुरुअात सिद्धार्थ राजमार्गबाट

सडक विभागले सडक यातायात सञ्चालनको लागत र दूरी कम गर्न सडकको रेखाङ्कन पनि कम गर्ने नीति लिएको छ । घुमाउरा मोड धेरै भएका मुख्य राजमार्गको रेखाङ्कन अब सीधा गर्ने योजना विभागको छ ।

अहिले धेरै राजमार्ग घुम्तीयुक्त र साँघुरा छन् । अब घुमाउरो सडक निर्माण गर्ने परम्परालाई तोड्ने योजना सरकारको छ । यसको शुरुआत सिद्धार्थ राजमार्ग अर्थात पोखरा-बुटवल सडकबाट हुनेछ ।

सरकारले अहिलेसम्म पहाडी क्षेत्रमा धेरै घुम्ती भएका सडकको रेखाङ्कनलाई सीधा गर्ने काम थालेको थिएन । ठूला नदी पार गर्ने मामिलामा मात्रै पुल राख्नेबाहेक सडक सोझो लाइनमा बनाउने प्रयास पनि भएको छैन ।

तर, सिद्धार्थ राजमार्गबाट ठूला पहाड छिचोल्न सुरुङमार्ग र दुई पहाड जोड्न ‘भायोडक्ट’ निर्माण गर्ने महत्वकांक्षी उद्देश्य राखेर काम थालिँदैछ । यसलाई अन्य राजमार्गमा पनि प्रयोग गर्दै हाईवेलाई एक्स्प्रेस-वे बनाउने योजना बनाइएको विभागका एक अधिकारीले बताए । यद्यपि सिद्धार्थ राजमार्ग तत्कालै ४ लेनको नबन्ने भएकाले यो एक्स्प्रेस-वे भने बन्ने छैन ।

अहिले बुटवल-पोखरा खण्ड १५७ किलोमिटर लामो छ । सडक विभागले अहिले डिजाइन गरेअनुसार यो खण्ड विस्तार भए १३७ किलोमिटरमा छोटिनेछ । यसरी सडक छोट्याउन खोलामा मात्रै पुल निर्माण गर्ने परम्परागत सोचलाई छाड्दै छोटा दूरीका डाँडाहरुलाई जोड्न पनि भायोडक्ट बनाउने तयारी छ । यस वर्षको बजेटले नै यसका लागि बजेट विनियोेजन गर्नेछ ।

सिद्धार्थ राजमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । ९ अर्ब रुपैयाँ खर्च गर्दा यो खण्ड २० किलोमिटर छोटो बन्ने विभागका अधिकारीरु बताउँछन् । यो राजमार्गमा भालुपहाड लगायतका स्थानमा ४ सय मिटरसम्मका छोटा सुरुङ बनाइनेछ । भायोडक्ट पनि ४/५ स्थानमा बन्नेछन् ।

यो योजनाले भौगोलिक रुपमा अप्ठ्यारा स्थानमा पुलबाटै पहाड जोड्ने प्रविधिमा जान नयाँ अनुभव र आत्मबल दिनेछ । यसैको अनुभवलाई आधारमा बनाएर अन्य राजमार्गलाई ४ लेनका बनाउँदै सुरुङ र भायोडक्टमार्फत सडकको दूरी र रेखाङ्नकन परिमार्जन गरिने विभाग स्रोतले बताएको छ ।

एक्स्प्रेस-वेका लागि लागि आगामी आर्थिक वर्ष ‘आधार वर्ष’ हुने सडक विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment