Comments Add Comment

‘दुर्लभ’ बन्यो सामाजिक सद्भावको सेतु मितेरी साइनो

मितेरी साइनोले भिजेको नेपाली संस्कृति

‘मितेरी साइनोमा, माया बसेछ’

‘नरिसाउ मितिनी ज्यू, खुट्टैमा गर्दिन्छु म त ज्यू-ज्यू’

वर्तमान समाजले भुल्दै गएको साइनो-सम्वन्ध हो, मितेरी । अहिलेका पुस्तासँग सोधीखोजी गर्ने हो भने थाहा हुन्छ, उनीहरुका ‘मीत’ छैनन् । ‘मीतिनी’ छैनन् । तपाईलाई लाग्न सक्ला, ‘मित/मितिनी नहुनुले के फरक पार्छ ?’

फरक पार्छ । यो एउटा यस्तो सम्बन्धको सेतु हो, जसले दुई फरक भूगोल, फरक परिवेश, फरक पृष्ठभूमि, फरक संस्कृति, फरक समाज, फरक परिवार र फरक व्यक्तिलाई जोड्छ । सोलुखुम्बुको शेर्पा र सर्लाहीका यादवलाई एउटै थालमा खाने घनिष्ठ मित्र बनाइदिन्छ । झापाको क्षेत्री र पाँचथरका लिम्बुलाई एउटै ओछ्यानमा सुत्ने सानिध्य प्राप्त गराउँछ । यसले परस्पर दुई समुदाय, समाजबीच मित्रवत सम्बन्ध स्थापित गराइदिन्छ ।

तर, अहिले मितेरी साइनो ‘दुर्लभ’ भइसकेको छ । सामाजिक सदभाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने यो सेतु प्रयोगहीन हुँदैछ ।

मित्रताको गाँठो मित

भनिन्छ, प्रेमभन्दा ठूलो कुरा संसारमा अर्को छैन । अनि त्यही प्रेम प्रकट हुने सबैभन्दा महत्वपूर्ण माध्यम मित्रता हो । असल मित्रको संगत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा दुर्लभ कुरा पनि हो । मित्रताका आयाम धेरै छन् तर जुन रूपमा प्रकट हुने भए पनि त्यसको मूल सार वा मित्रताको भाव भने साझा हुन्छ, उस्तै हुन्छ ।

मित्रता मनोवैज्ञानिक सम्बन्ध हो । एकअर्कासँगको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई नै मित्रता भन्न सकिन्छ । मित्रसँग बस्दा एक प्रकारको निर्धक्क वा फुक्कापन महसुस हुन्छ, केही लुकाउनु नपर्ने वा नापजोख गरेर बोल्नु नपर्ने, हृदय खोलेर ढुक्कसँग आफूलाई अभिव्यक्त गर्न सकिने हुनाले मित्रहरूसँगको बसउठले जीवनमा ऊर्जा भर्ने तथा बहार ल्याउने काम गर्छ ।

मित्रतालाई मानव समाजको विकाससँगै वा अति प्राचीनकालदेखि नै महत्व दिइँदै आएको पाइन्छ । मानिसका अनेक ग्रन्थहरूमा मित्रताका विषयमा अनेकौं प्रसंग भेटिन्छन् । खोजिपसे मित्रताका त्यस्ता अनेकौं उदाहरण प्रशस्त पाइन्छन् ।

यही मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कार वा भनौं चलन छ, त्यो हो मित लाउने चलन । मित लगाउनु एक प्रकारले मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । अनुहारको रूपरंग, जातधर्म, वेशभुषा, उमेर आदिजस्ता कुनै पनि कुरा मित गाँस्ने सन्दर्भमा बाधा बन्दैनन् । मित मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने क्रममा सुखदुःखलाई साझा भोगाइमा ल्याएर जीवनको मिठास बाँड्ने सम्बन्ध हो ।

भनिएको छ-

चन्दनं शीतलं लोके, चन्दनादपि चन्द्रमाः ।

चन्द्रचन्दनयोर्मध्ये शीतला साधुसंगतिः ।।

चन्दनलाई संसारमै शीतल मानिन्छ, चन्द्रमा चन्दनभन्दा पनि बढी शीतल हुन्छ तर एउटा असल मित्र चन्द्रमा र चन्दन दुवैभन्दा बढी शीतल हुन्छ ।

मित्रता कस्तो हुनुपर्छ त ? उत्तर धेरै छन् । कसैले भनेका छन्- मित्रता दूध र पानीको जस्तो हुनुपर्छ । दूधले आफूसँग मिसिएको पानीलाई दूध नै बनाउँछ । पानी दूधकै भाउमा बिक्री हुन्छ । अनि पानीले पनि आफू छउन्जेल दूधको ऋण तिर्छ । आफू वाफ बनेर उड्छ र दूधलाई जोगाइराख्ने प्रयास गर्छ । फेरि दूध पनि आफ्नो मित्र पानी वाफ बनेर उडेको देख्दा मन थाम्न नसकी आगोमा फाल हाल्छ ।

हो, मित्रता यस्तो हुनुपर्छ । जसमा दुवैले दुवैलाई दिन खोजुन् । त्यागको भावना प्रदर्शन गरून् अनि मित्रको पीडामा स्नेहको लेप लगाउन् । अनि खुसीको क्षणमा पनि खुसी दोब्बर बनाउन अग्रसर होउन् ।

मित्रताका उदाहरण

पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वरुण दुई दाजुभाइको मित्रता निकै आदर्शयुक्त देखिन्छन् ।

यिनीहरूको मित्रता हेर्दा मित्रताको वास्तविक अर्थ के हुन्छ र मित्रको कर्तव्य के हुन्छ भन्ने कुरा ज्ञात हुन्छ ।

महाभारतमा दुर्योधन र कर्णको मित्रता अनुपम मानिन्छ । आजसम्म पनि जहाँ मित्रताको चर्चा हुन्छ, त्यहाँ दुर्योधन र कर्णको कुरा आइहाल्छ । एकअर्काप्रति उनीहरूको निष्ठा एवं प्रेम प्रशंसनीय छ ।

मित्रताका आयाम धेरै छन् तर जुन रूपमा प्रकट हुने भए पनि त्यसको मूल सार वा मित्रताको भाव भने साझा हुन्छ, उस्तै हुन्छ

उनीहरूको मित्रता झल्काउन यही एउटा उदाहरण पर्याप्त छ- महाभारत युद्ध हुनुअघि श्रीकृष्ण दूत बनेर हस्तिानपुर पुगेका थिए । त्यहाँबाट फर्कंदा उनले कर्णलाई भने, ‘हे कर्ण, तिमी सूतपुत्र होइनौ, कुन्तीपुत्र हौ, तिमीले पाण्डवहरूतर्फ लागेर युद्ध गर्‍यौ भने पाण्डवहरूको जीत हुनेछ र तिमीले हस्तिनापुरको राज्य पाउनेछौ ।’

त्यतिखेर कर्णले भनेका थिए, ‘हे कृष्ण ! तपाईं पाण्डवहरूको पक्षमा भएपछि निश्चित रूपले युद्धमा पाण्डवहरू नै विजयी हुनेछन् । तर दुर्योधनले मलाई आजसम्म जुन सम्मान तथा राज्यसमेत दिएका छन्, जुन हिसाबले सबबाट परित्यक्त मलाई स्विकारेका छन् अनि अहिले पनि मेरै भरोसामा युद्ध गर्न तम्सिएका छन्, यस्तो अवस्थामा मैले उनलाई छोडेँ भने त्योभन्दा ठूलो अन्याय अर्को हुन सक्दैन, यो मित्र धर्मको विरुद्ध हुन्छ । तसर्थ हारिन्छ भनेर जान्दाजान्दै पनि, युद्धमा मारिनेे सम्भावना बढी भए पनि म दुर्योधनको साथ छाड्न सक्दिनँ ।’

कर्णको यो भनाइबाट उनीहरूको साँचो मित्रता झल्किन्छ ।

मित लगाउने नेपाली चलन

मित लगाउने कामले भावनात्मक सम्बन्ध कसिलो बनाउँछ । सुखदुःखमा मेरा पनि कोही छन् है भन्ने भाव जगाउँछ । अनि नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए पनि मितको घरमा वास पाइने मान्यता छ ।

एकअर्को समुदायसँग घुलमिल हुनका लागि सजिलो माध्यम मितेरी सम्बन्ध गाँस्नुलाई नै मानिन्छ । नेपाली समाजमा यस्तो अभ्यास धेरै समय अघिदेखि नै चलिआएको पाइन्छ । कतिपय अवस्थामा समान हैसियत एवं अवस्था भएका बीच पनि सम्बन्ध थप प्रगाढ बनाउन मित लगाउने चलन चलाएको पाइन्छ । मित लगाएपछि मितको सम्मान गर्नुपर्ने भएकाले आपसी शत्रुता हट्ने हुँदा विरोधी पक्षका केही व्यक्तिबीच यस्तो सम्बन्ध गाँसिदिने अभ्याससमेत नेपाली समाजमा प्रशस्त भएको पाइन्छ ।

मितेरी साइनो केवल मितमा मात्र सीमित हुँदैन । मित वा मितिनीका पति तथा पत्नीलाई पनि मित र मितिनी नै भनेर सम्बोधन गरिन्छ । त्यस्तै मितदाइ, मितभाइ, मितिनी दिदी वा बहिनी, मितबा, मितिनी आमाजस्ता साइनो पनि नेपालीबीच पि्रय छन् । यस्ता साइनो नेपाली समाजको जरासम्म भिजेको पाइन्छ ।

नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको कुरा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथाबाट थाहा पाउन सकिन्छ । त्यसमा व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म पतिलाई, पति नभए छोरालाई, छोरा नभए मित छोरालाई दिनू भनेर मितेरी सम्बन्धको महत्व उजागर गरेको छ ।

कतिपय अवस्थामा मितेरी साइनो स्वार्थका लागिसमेत गाँसिएको पाइन्छ । फरक भूगोलमा गाँसिएको मितेरी साइनोमा दुवै पक्षको सहजता हेरिन्छ । हिमाली तथा पहाडी क्षेत्रका बासिन्दाबीच मितेरी साइनो गाँस्ने चलन पहिले व्यापक मात्रामा थियो । त्यसमा दुवै पक्षको स्वार्थ गाँसिएको हुन्थ्यो र स्वार्थ मिलुन्जेल मित्रता पनि कायम रहन्थ्यो । स्वार्थकै आधारमा गाँसिएको भए पनि त्यस्तो सम्बन्धमा दुवै पक्षलाई फाइदा नै पुग्थ्यो, घाटा हुँदैनथ्यो ।

हिजोआज मित लगाउने चलनमा कमी आए पनि पूरै हटेको भने छैन । विभिन्न समयमा यो चलनलाई सामाजिक सदभाव बढाउनका लागि समेत प्रयोग गरिएको देखिन्छ । केही समय पहिले उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले राउटेसँग मित लगाएको प्रसंग निकै चर्चित भएको थियो । यस कार्यले लोपोन्मुख राउटे समुदायप्रति समाजमा विद्यमान दृष्टिकोणमा धेरै हदसम्म सकारात्मक परिवर्तन देखिएको थियो ।

यसैगरी मधेसमा द्वन्द्व चर्किएको समयमा सामाजिक सदभाव खलबलिन नदिन मधेसी र पहाडी समुदायबीच मितेरी सम्बन्ध गाँसेर स्थिति नियन्त्रण पार्ने अभियानसमेत चलेको थियो । केही वर्षअघि चुनावका क्रममा विभिन्न राजनीतिक दलले मतदातालाई रिझाउन मितेरी सम्बन्ध गाँस्ने अभियान नै चलाएकाजस्ता समाचारसमेत आएका थिए ।

कतिपय अवस्थामा भने मित्रता गाँसेकै कारण घाटा बेहोर्नुपरेका उदाहरणसमेत पाइन्छ । यस्तै प्रसंग नेपाली इतिहासमा भेटिन्छ । नेपालको इतिहास हेर्दा एकीकरणकर्ता पृथ्वीनारायण शाहको मितेरीले ठूलो अर्थ राख्छ । उनले भक्तपुरका राजा रणजीत मल्लका छोरा तथा काठमाडौंका राजा जयप्रकाश मल्लसँग मित लगाएका थिए । मित्रताकै आडमा उनले उपत्यकामा आएर यहाँको वस्तुस्थिति राम्रोसँग बुझ्ने अवसर पाएका थिए । फलतः गोरखा राज्यले काठमाडौं उपत्यकामाथि विजय पाउन सकेको थियो ।

मित लगाउँदा के हुन्छ ?

मनोचिकित्सकहरू भन्छन्- मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पिर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छन् । नेपालमा यो बिषयमा व्यवस्थित अध्ययन नभए तापनि यस्ता किसमका धेरै घटना समाचारमा आएका छन् ।

मित्रताका विषयमा विद्वान्हरूको विचार

जसले मित्रता तोडिने डरले सावधानी अँगाल्छ त्यो मित्र होइन । -गौतम बुद्ध

कोही पनि मित्रहरूविना बाँच्न चाहँदैन, चाहे उसँग संसारका बाँकी सबै राम्रा चीजबीज नै किन नहोउन् । -अरस्तु

प्रकृतिले जनावरहरूलाई समेत मित्रको पहिचान गर्ने ज्ञान दिएको हुन्छ । -कोर्निल

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्र हो । -तिरुवल्लुवर

विवेकी मित्र नै जीवनका लागि सबैभन्दा ठूलो वरदान हो । -युरिपिडिज

सबैसँग राम्रो गर, सर्वोत्तमलाई नै मित्र बनाऊ । -इसोक्रेटस

मित्र दुःखमा राहत हो, कठिनाइका समयमा पथप्रदर्शक हो, जीवनको खुसी हो, जमीनको खजाना हो, मानिसका रूपमा देवदूत हो । -जोसेफ हल

मित्रता दुईवटा तत्व मिलेर बनेको छ- एउटा सच्चाइ र अर्को कोमलता । -इमर्सन

मित्रताको परीक्षा विपत्तिको समयमा दिइएको सहयोगबाट हुन्छ र त्यस्तो सहयोग निःशर्त हुनुपर्छ । -महात्मा गान्धी

साँचो मित्रतामा कुशल वैद्यको जस्तो निपुणता एवं परख हुन्छ, असलभन्दा असल माताको जस्तो धैर्य एवं कोमलता हुन्छ, यस्तो मित्रता गर्ने प्रयास सबैले गर्नुपर्छ । -रामचन्द्र शुक्ल

जीवनमा मित्रताभन्दा ठूलो सुख अर्को छैन ।  -जोन्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment