Comments Add Comment

ग्राहकको हत्या गरेको आरोपमा नेपाली सेफलाई अष्ट्रेलियामा जेल सजाय

११ जेठ, सिड्नी । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् ।

५१ वर्षीय सेफ हरिप्रसाद ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ ।

उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी पनि ठहर भए ।

ढकालका वकिल थियो अलेक्जान्डरका अनुसार उनले २००० मा नेपाल छाडेका थिए । ‘आफ्नो पत्नी र दुई बच्चालाई जोगाउन नेपाल छोड्नुपरेको थियो । यो समय ढकालको लागि धेरै नै सङ्कटपूर्ण थियो’ अलेक्जान्डरले भने ।

उनले अष्ट्रेलियामा प्रोटेक्सन भिसाका लागि आवेदन पनि दिएका थिए तर, त्यो अस्वीकृत भयो । २००० र २०१६ को बीचमा ढकाल न्यू साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियामा बस्ने गर्थे ।

अलेक्जान्डरले भने, ‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’

ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले बताए ।

रेष्टुरेन्टमा ग्राहकको हत्या गरेपछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए ।

न्यायाधीशले ढकालको परीक्षण प्रमाण र उनको बयानको रेकर्ड अस्वीकार गरेको अभियोजनकर्ता पाट बोउर्कले बताए । ‘उनलाई छिटो रिस उठ्यो र उनले त्यस्तो कार्य गरे’ न्यायाधीश लेक्स लास्रीले भने ‘यो निकै नै दुःखद मुद्दा थियो ।’

‘तपाईको पक्षलाई देखेर मलाई धेरै नै नमज्जा लाग्यो । उनी धेरै अप्ठ्यारो परिस्थितिमा छन् । उनलाई देखेर नमज्जा नलाग्ने कुरै हुँदैन’ लेस्रीले वकिल अलेक्जान्डरलाई भने ।

सात दिनको परीक्षणमा ढकाल कमै मात्र कठघरामा बसे र कहिलेकाँही मात्रै चर्को स्वरमा कुरा गरे । उनले नियमित रुपमा अनुहार र टाउको टिस्यु पेपरले पुछे र पानी पिए ।

ढकालले हत्यामा आफ्नो दोष नरहेको बयान दिए । उनले सिद्दिकीलाई मारेको अस्वीस्कार त गरेनन् तर, उनले आत्मरक्षाको लागि सिद्दिकीमाथि आक्रमण गरेको बताए ।

अभियोजनकर्ताहरुले सिद्दिकीले रक्सी पिउँदै सेफलाई अश्लील गाली गलौज गर्दै अपमान गरेकोेे र त्यसको झोँकमा ढकालले हत्या गरेको दावी गरेका थिए । ‘ढकालले एक निशस्त्र मानिसलाई आक्रमण गरेर हत्या गरे किनभने उक्त मानिसले अपमान गरेर उनलाई रिस उठाएको थियो । उसले उनलाई रिस उठाए पनि डरलाग्दो आक्रमण गरेको थिएन’ अभियोजनकर्ता प्याट बोउर्कले भने ।

ढकालका वकिल अलेक्जान्डरले त्यसको प्रतिवाद गर्दै भने, ‘सिद्दिकीले विवादका क्रममा चक्कुले आक्रमण गर्न लागेपछि ढकाललाई डर लाग्यो । आक्रमण गरे ।’

ढकाललाई मेलबर्नमा जुन १ देखि जेल सजाय दिइनेछ । उनको सजाय सकिएपछि नेपाल फिर्ता पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment