Comments Add Comment

चक्रपथमा मोनोरेल चलाउन चिनियाँ कम्पनीसँग समझदारी


११ जेठ, काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।

एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको छ । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी थिए ।

महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल-वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको हो ।

सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्‍याए ।

‘मोनोरेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं,’ मेयर शाक्यले भने ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले महानगरबासीलाई सरल जीवनयापन गर्ने सुविधाका लागि मोनोरेल सुन्दर उपहार हुने बताए ।

अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो महानगर क्षत्रमा पर्ने जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न तत्पर रहेको बताए ।

‘मोनोरेल निर्माण, व्यवसथापन तथा सञ्चालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्छ । त्यसैले सम्भाव्यता अध्ययनबाट प्राप्त सूचना र प्रगतिका हरेक सवालमा ललितपुर महानगरसँग सहकार्य गरिने छ,’ काठमाडौं महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भने ।

सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि काठमाडौंको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रवन्धक, होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment