Comments Add Comment

अब वीरगञ्जमै मुटु सम्बन्धी जटिल समस्याको उपचार

११ जेठ, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्जले मुटु सम्बन्धी रोगको उपचारका लागि अत्याधुनिक मेशिन जडान गरेको छ । मेडिकल कलेजले प्रदेश २ मै पहिलो पटक आधुनिक मेशिन जडान गरेको दावी गरेको छ ।

मुटु सम्बन्धी उपचारमा प्रयोग हुने आधुनिक मेशिनहरुको जडानपछि मुटुमा लाग्ने विभिन्न रोगहरुको उपचारमा सहज भएको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन् ।

आधुनिक क्याथ ल्याबको स्थापना तीनजना मुटु रोग सम्बन्धी जटिल समस्या भएका बिरामीहरुको सफल उपचार भइसकेको छ ।

जेठ ७ गतेदेखि मेडिकल कलेजले एन्जियोग्राफी, एन्जियोप्लाष्टि विधिमार्फत कार्डिएक स्टेन्टको सेवा सुरु गरेको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले नेशनल मेडिकल कलेजले प्रदेश २ मा कतै नभएको सेवा ल्याएको दावी गरे । ‘अस्पतालले मुटु सम्बन्धी जाँचका लागि अत्याधुनिक मेशिनसहितको क्याथ ल्याब सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘मुटुको जाँच र शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो । त्यसको अब अन्त्य भएको छ । ‘

कलेजले जेठ १४ गतेसम्म विशेष छुटमा एन्जियोग्राफिको ६ हजार र एन्जियोप्लाष्टि १ लाख २० हजारमा गर्ने जानकारी उनले दिए ।

त्यसैगरी अब अस्पतालले मुटु भित्रको सेल सञ्चालन नभएमा शल्यक्रिया गरी टेम्पोररी, परमानेन्ट पेशमेकर जडान गर्ने, मुटु पानी जमेको अवस्थामा निकाल्ने सेवा समेत दिन सक्ने र आवश्यक भएको खण्डमा वाइपास सर्जरी समेत हुने अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा जितेन्द्र कुमार मिश्रले आधुनिक मेशिन आएपछि जटिल प्रकारका समस्या समाधान गर्न समेत सम्भव भइरहेको बताए । ‘पहिला लक्षण अनुसार मुटु रोगको समस्या हुन सक्छ भनेर अनुमानमा समेत औषधि चलाउनुपर्ने बाध्यता थियो । होइन भने काठमाण्डु रिफर गर्दै आएका थियौं,’ उनले भने, ‘अब क्याथ ल्याब सञ्चालनमा आएपछि जसको मुटुको रक्तसञ्चार बन्द हुन्छ त्यसलाई ल्याबमा लैजान्छौं । हात वा खुट्टा हुँदै तारको माध्यमबाट मुुटुको रक्तसञ्चारमा जान्छौं, क्याथेटरले स्क्यान गर्छौ, रगत सञ्चालन कहाँ अवरुद्ध भएको हो त्यसलाई खोल्नुपर्ने हो वा होईन हेछौं । त्यसपछि बन्द भएको रक्तसञ्चारलाई बेलुनले फुलाएर त्यसमा जाली राखिदिन्छौं ।’

डा मिश्रले क्याथ ल्याब स्थापना पछि विगत एक वर्षदेखि मुटु सम्बन्धी रोग भएको आशंकामा तीन वटा औषधी खाँदै गरेकी एक विरामीको औषधिीटुटाउन सफल भएको बताए ।

डा मिश्रले बंगलादेशबाट एमविविएस गर्नुको साथै एमडी कार्डियोलोजीमा पाकिस्तानमा ६ वर्ष तालिम लिएका छन् ।

मुटु रोग विभागकै अर्का मुटुरोग विशेषज्ञ डा अच्युतानन्द लाल कर्णले नेशनल मेडिकल कलेजमै अबदेखि बाईपास सर्जरी समेत सम्भव भएको जानकारी दिए ।

क्याथ ल्याब सञ्चालनका लाथि दुई जना मुटुरोग विशेषज्ञ, एक जना मुटुरोग सर्जन, असिस्टेन्टहरु गरी ११ जनाको टिम रहेको नेशनल मेडिकल कलेजले जनाएको छ ।
चिकित्सकहरुका अनुसार नेशनल मेडिकल कलेजले दुईवर्षदेखि क्याथ ल्याब सञ्चालनका लागि गृहकार्य गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment