Comments Add Comment

गोरेको बयान लम्बियो, आइतबार सनमलाई यातना दिएको भिडियो देखाउने तयारी

११ जेठ, विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान लम्बिएको छ । जिल्ला अदालत मोरङमा तीन दिनदेखि गोरेको बयान लिने क्रम जारी छ ।

गएको बुधबारदेखि थालिएको बयान लिने क्रम आइतबारसम्म चल्ने जिल्ला अदालत मोरङले जनाएको छ । निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबारसम्म गोरेको बयान सक्ने लक्ष्य छ । त्यसपछि थुनछेक बहस शुरु हुनेछ ।

आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ । गोरेले बयानमा औपचारिक भन्दा पनि अनौपचारिक विषयमा बढी केन्द्रीत भएकाले बयान लम्बिएको अदालतका कर्मचारीहरु बताउँछन् ।

जिल्ला अदालत मोरङमा शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घण्टासम्म उनको बयान लिइएको थियो । शुक्रबारसम्म बयान लिने क्रममा अदालतका कर्मचारीले गोरेले दिएको बयान २७ पानामा उतारेका छन् ।

यसअघि पहिलो दिन बुधबार ५ घण्टा र दोस्रो दिन बिहीबार पनि ५ घण्टा बयान भएको थियो । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

सुन काण्ड र सनम हत्या काण्डमा संलग्न भएको आरोपमा बिहीबार उर्लाबारीबाट पक्राउ परेका रेवत आचार्यलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।

प्रहरीले आर्चायलाई शुक्रबार अदालतमा हाजिर गराएर अनुसन्धानका लागि म्याद लिएको हो ।

उर्लाबारीका सुन ब्यापारी आर्चायलाई गोरेले अदालतमा दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment