Comments Add Comment

मापदण्डविपरीतका संरचना हटाउँदै बागलुङ नगरपालिका

१२ जेठ, बागलुङ । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए ।

सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उनको भनाइ छ ।

‘मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,’ उनले भने, ‘स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।”

सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उनको भनाइ छ ।

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ । सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ । ‘नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,’ नगरप्रमुख पौडेलले भने, ‘अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।’

शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment