Comments Add Comment

माधव घिमिरेः शिशुजस्तै स्नेही बाल कविताका सर्जक


राष्ट्रकवि माधव घिमिरे यतिबेला दिल्लीको मेदान्त अस्पतालमा उपचाररत छन् । केही महिनापछि १०० वर्षमा (शताब्दी जन्म उत्सव) प्रवेश गरिरहेका नेपाली साहित्यका बहुमुखी प्रतिभा घिमिरेको भिन्न–भिन्न आयामलाई क्रमशः प्रकाशन गर्ने योजना अनलाइनखबरडटकमले बनाएको छ । यो लेख त्यसैको पहिलो कडी हो ।

बुख्याँचाः हातमा दियौ गुलेली शिरमा टोप छतरी
किन्तु हातै चलेन बाण हानूँ कसरी
झूटाे मान्छे हो भनी पशुले नि बुझ्या’छ
खेतधनीः बाली खायो साँढेले के हेरिस् हे बुख्याँचा !
बुख्याँचाः खेत कुर्न लगायौ खेतचाहिँ दिएनौ
खेत मेरो हो भनी चेतचाहिँ दिएनौ
मलाई किन झुक्यायौ ? मेरो चित्त दुख्या’छ
बाली खायो साँढेले के हेरिस् हे बुख्याँचा !

सुनपङ्खी चरी बालकविता सङ्ग्रहमा सङ्गृहीत यो कविता पढेपछि मेरी श्रीमतीले कविवर माधव घिमिरेलाई यस कविताको रचनागर्भबारे सोधेकी थिइन् । कुरा २०५३/५४ सालतिरको हो, त्यो कृति भर्खर बजारमा आएको थियो र बालसाहित्यमा रुचि भएका कारण मैले किनेर ल्याएको थिएँ । त्यसबेला कवि घिमिरे साहित्यिक कार्यक्रमको सिलसिलामा विराटनगर पुग्नुभएको थियो र राससको अतिथि कोठामा बस्नुभएको थियो । म विराटनगरस्थित राससको क्षेत्रीय प्रमुखको रूपमा त्यसबेला कार्यालयकै माथिल्लो तलामा रहेको आवासमा बस्थेँ ।

कविवरले कविता लेखनको पृष्ठभूमि बताए । उनले भने, ‘घरबाट देखिने खेतमा बुख्याँचा उभ्याइराखेको मैले देखेँ । त्यसबाट मैले कविताको विषय पाएँ र लेखेँ ।’

वास्तवमा उनी जताततै कविता देख्छन् । महत्वपूर्ण कुरा, उनी मानव मात्रको हृदय र मस्तिष्कलाई झकझक्याउने कविता लेख्छन् । आउँदो असोज ७ गते उनी १०० वर्ष प्रवेश गर्दै छन् ।

माधव घिमिरे नेपाली साहित्यका यस्ता विशिष्ट प्रतिभा हुन् जसले नेपाली काव्य, गीत र बालकविताका क्षेत्रमा दिएको योगदान कसैसँग तुलना गर्न सकिँदैन । १५ वर्षको उमेरमा सुरु भएको उनको लेखनयात्रा शतायुसम्म जारी रहनु आफैंमा एउटा रेकर्ड हो । उनका थुपै्र काव्यकृतिमध्ये गौरी (२०१५), राजेश्वरी (२०१७), मालतीमङ्गले (२०३९) र अश्वत्थामा (२०५३) जस्ता उत्कृष्ट काव्यहरू नेपाली जनमानसमा अत्यन्त लोकप्रिय पनि छन् । उनको कवित्व शक्तिको स्पष्ट झलक चैत–वैशाख (२०६०) कविता सङ्ग्रहका प्रत्येक कवितामा पाइन्छन् ।

माधव घिमिरेका बालकविता उनीजस्तै स्पष्ट, बोलीजस्तै मीठो र व्यवहारजस्तै स्नेहसिक्त छन्

हामीभन्दा अघिल्लो पुस्ता उनले लेखेको राष्ट्रिय गीत गाएरै हुर्केको हो र हामी पनि विद्यालयमा हुँदा त्यही गीत गाएर हुर्कियौँ । आजपर्यन्त उनको यो गीत उत्तिकै लोकप्रिय छः

‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल’

यस गीतले नेपाली राष्ट्रियताका विविध पक्षलाई अत्यन्त ओजस्वी रूपमा प्रस्तुत गरेको छ । त्यसैले जहिले जतिखेर सुन्दा पनि यसले हाम्रो मन र मस्तिष्कमा अत्यन्त विशिष्ट प्रभाव पार्छ । गीतकारका रूपमा पनि उनी अद्वितीय छन् । स्वरकिन्नरी तारादेवीले गाएको मनको बाँधको यो गीत कहिले पुरानो हुन्छ र ?

‘फूलको थुँगा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै यो जिन्दगानीमा…’

अनि स्वरसम्राट नारायणगोपालको आवाजले अझ मर्मस्पर्शी बनाएको यो गीत पनि उत्तिकै बेजोड छः

‘आजै र राति के देखेँ सपना मै मरी गएको..’

उनका गीतमा गहन भाव र मर्मस्पर्शी प्रस्तुति मात्र हुँदैनन्, तिनमा पाइने मिठास उत्तिकै विशिष्ट हुन्छ । ‘किन्नर–किन्नरी’ (२०३३) गीत सङ्ग्रहलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । नेपाली बालकविता क्षेत्रका पनि उनी अत्यन्त महत्वपूर्ण हस्ताक्षर हुन् । नेपाली बालकविताका क्षेत्रमा पनि ‘सुनपङ्खी चरी’बाहेक उनका ‘घामपानी’ (२०१०), ‘बालालहरी’ (२०२६) र ‘बिजुले र बिजुला’ (२०६३) बालकविता सङ्ग्रह प्रकाशित छन् ।

यसबाहेक पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित बालकविताको सङ्ख्या पनि उल्लेख्य छन् । उनले बालकविताका क्षेत्रमा कलम चलाउन थालेका बेला यो क्षेत्र प्रारम्भिक अवस्थामै थियो । तर प्रारम्भमै घिमिरेजस्ता प्रतिभाका कारण नेपाली बालकविता क्षेत्र एउटा उचाइ प्राप्त गर्न सफल भयो । उनले वि.सं.२००५ सालमै गाउँसहरस्थित आधार स्कुलमा प्रधानाध्यापक भएको बेलादेखि नै बालकविता लेखनलाई निरन्तरता दिए । उनी बालबालिकाको रुचि, उनीहरूको दैनन्दिनी र मनोविज्ञान बुझेर कविता लेख्छन् । साथै बाल र लोकभाषाको प्रयोग अनि मनोरञ्जनलाई पनि ध्यान दिनाले ती बालप्रिय हुन पुगेका छन् ।

‘बालालहरी’को भूमिकामा उनले भनेका छन्, ‘शिशु यो उज्यालो जगत् र स्वयं प्रफुल्लित आफैंलाई देखेर छक्कै पर्छ – शिशुका उत्सुकता सङ्गीतमय र नृत्यमय हुन्छन् । शिशुहरू जो देख्छन् त्यसैमा आफू पूर्ण प्रतिविम्बित हुन्छन्– त्यसैसँग बोल्दछन् र त्यसैसँग खेल्दछन् । उनीहरूका जिज्ञासा नै विचार हुन्, चञ्चल लीला नै शिल्प हुन् र सरल बोली नै गीत हुन् । त्यसैले बालकहरूले गाउने गीतमा उनीहरूको अङ्गप्रत्यङ्ग चल्नुपर्छ र सारा हृदय नै ढल्नुपर्छ ।’ सोही विचारअनुरूप नै कवि घिमिरेले आफ्ना बालगीत र बालकवितालाई बालअभिरुचि अनुकूल बनाई प्रस्तुत गरेका छन् ।

बालबालिकाको संसारलाई बुझेर त्यसलाई अाफ्नाे सिर्जनामा प्रस्तुत गर्नसक्ने खुबी उनको महत्वपूर्ण विशेषता हो । विषयवस्तुका दृष्टिले पनि उनका बालगीत तथा कविताहरू विविधतापूर्ण छन् । पुतलीखेल शीर्षकको निम्न कवितांशले कविको बालअनुभूति र काव्यशैलीलाई स्पष्ट पार्छः

‘टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठूली पनि हैन रे
जीउ सुत्त परेकी, पहेँली र पातली
कति राम्री पुतली
लाइद्यूँ कि बुलाकी
टिकी राम्रो होला कि
कोरिबाटी चुलठी, अँखियामा गाजली
कति राम्री पुतली ’

उनका बालकवितामा बालसंसारका पशुपक्षी, घामपानी, जूनतारा, पुतलीखेल आदिलाई विषय बनाएको पाइन्छ । कविहरू प्रकृतिका उपासक हुनुका साथै प्रकृतिको सौन्दर्य, भूबनोट र रूपरङ्गप्रति आसक्त पनि हुन्छन् । कवि घिमिरे पनि यसका अपवाद छ्रैनन् । उनी आफ्ना बालकवितामा प्रकृतिको सौन्दर्य, भूबनोट र रूपरङलाई विशिष्टतासहित प्रस्तुत गर्न अत्यन्त कुशल देखिन्छन् । उनका कतिपय कवितामा राष्ट्रपे्रमका भावना पोखिएका छन् भने केही कवितामा हाम्रो संस्कृति शब्दबद्ध भएका छन् । यस प्रकार कवि घिमिरेले बालकवितामा विषयवस्तुको विविधतासँगसँगै त्यसलाई रोचक र सम्प्रेषणीय बनाउन नेपाली लोकलय र झर्रा शब्दहरूको प्रशस्त प्रयोग गरेका छन् । यी कविताहरूले बालबालिकालाई केवल मनोरञ्जन प्रदान गरेका छैनन्, उनीहरूलाई स्वस्थ र सुन्दर बनाउने कविको उद्देश्यलाई साकार पार्नेतर्फ समेत योगदान पुर्याएका छन् । कविको ‘बालगीत र बालकविता ‘बूढापाकाले दिने उपदेश होइन र शिशुका निष्पाप एवं कोमल प्रवृत्तिलाई स्वस्थ र सुन्दरतिर ढल्काउनु मात्र यसको उद्देश्य हो’ भन्ने भनाइ यहाँ स्मरणीय देखापर्छ ।

‘सुनपङ्खी चरी’मा भएका बालकविता अझ प्रखर, सुललित र बालसुलभ छन् । बालबालिकाले रुचाउने सरल एवम् अनुकरणात्मक बालशब्दहरूको प्रयोग गरिएको छ । लयात्मकता, सरल भावबोध र बालसंसारभित्रका विषयहरूको प्रस्तुतिका दृष्टिले पनि ‘सुनपङ्खी चरी’ बालबालिकाबीच छोटो समयमै लोकप्रिय हुन पुगेको हो । वास्तवमा कविमा हुनुपर्ने गुण कल्पना शक्ति ९क्ष्mबनष्लबतष्खभ एयधभच० पनि हो । कवि माधव घिमिरेले आफ्नो कल्पनाशक्तिद्वारा कतिपय विषयलाई मीठो कवितात्मकता प्रदान गरेको तथ्य सुनपङ्खी चरीभित्रका कतिपय कविताले दिन्छन् । यस लेखको शुरूमा उद्धृत गरिएको बुख्याँचा यसको उदाहरण हो । यसबाहेक बिजुले र बिजुलाभित्रको हुलाकी, हुलाकी ! शीर्षकको कवितालाई पनि यसको उदाहरणको रूपमा लिन सकिन्छ । कति मीठा छन् यी पङ्क्तिहरूः

स्वस्तिसिरी फलाना
हाम्रो घरको ठेगाना
हुलाकी, हुलाकी ! यौटा चिठी होला कि ?
हाम्रोे मामाघरको
जस्तै अझ परको
क्वै रमाइलो देशको हालचाल होला कि ?
हुलाकी, हुलाकी ! यौटा चिठी होला कि ?

बालकवितामा नेपाली जनजीवनमा प्रचलित सवाई, आहान र गाउँखाने कथालाई समेत आधुनिक स्वरूपमा ढालेर प्रस्तुत गर्ने कवि घिमिरेले अनुकरणात्मक एवं झर्रा शब्दहरूको मीठो प्रयोगका साथै बालबोलीलाई समेत हुबहु प्रयोग गरेका छन् । यो उनको सफलता पनि हो । उनका बालकविता उनीजस्तै स्पष्ट, उनको बोलीजस्तै मीठो र व्यवहारजस्तै स्नेहसिक्त छन् । उनी हाम्रा आस्थाका, हाम्रा विश्वासका र हाम्रो सिर्जनका हिमचुली हुन् ।

(प्रमोद प्रधान बालसाहित्यका अध्येता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment