Comments Add Comment

प्रधानमन्त्रीकै गृहनगरमा असुरक्षित चर्पी

नगर क्षेत्र खुला दिसामुक्त नबन्दा नदी दुर्गन्धित


१२ जेठ, झापा । प्रधानमन्त्रीको गृहनगर भन्नेबित्तिकै धेरैलाई यो व्यवस्थित छ भन्ने लाग्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको कथा भने अलि बेग्लै छ । यहाँका अधिकांश क्षेत्रमा अझै पनि चर्पीकै पिरलो छ ।

प्रधानमन्त्रीको गृहनगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भइसके । तर व्यवहारमा भने अझै खुला दिसामुक्त हुन सकेको छैन ।

विभिन्न वडाले संकलन गरेको तथ्यांक अनुसार, नगरपालिका क्षेत्रभित्रका ५ सय घर चर्पीविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना स्वयं नै प्रधानमन्त्रीको गृहनगर असुरक्षित चर्पीको चेपुवामा परेको स्वीकार्छन् ।

राष्ट्रिय जनगणना–२०६८ अनुसार दमक नगरपालिकामा १८ हजार १ सय ४ घरधुरी छन् । यसमध्ये ५ हजार ७ सय ९४ प्रतिशत असुरक्षित चर्पी रहेका थिए भने १० हजार ४ सय ७० सुरक्षित चर्पी रहेका थिए । यस तथ्यांकलाई आधार मान्ने हो भने कूल चर्पीको ३५.६२ प्रतिशत चर्पीहरु असुरक्षित छन्।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली असुरक्षित चर्पीको तथ्यांक आफूहरुसँग नभएको बताउँछन् । ‘वाटरसिल प्यान नभएको चर्पी असुरक्षित मान्ने हो भने दमक नगरपालिकाभरिका करिब २५ प्रतिशत चर्पी फेर्नुपर्ने हुन्छ’, ओलीको भनाइ छ ।

तथ्यांकमै गडबडी

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको तथ्यांक अनुसार दमकका १ सय १९ घरमा सुरक्षित चर्पी छैन । ‘नगरपालिकाका सबै वडा खुल्ला दिसामुक्त घोषणा हुँदा नगरपालिकाभरमा ७ सय ४९ घरधुरीमा चर्पी थिएन’, प्रमुख प्रशासकीय अधिकृत तिम्सिना भन्छन्, ‘त्यसपछि पनि नगरपालिकाको सहयोगमा ३ सय ८३ घरधुरीमा चर्पी बने भने सोही अवधिमा ९६ घरधुरीले आफ्नै लगानीमा चर्पी बनाए ।’

दमक नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहिसकेका दमक–८ का वडाध्यक्ष पशुपति राज गौतमले मापदण्ड अनुसारका चर्पी गणना गर्ने हो भने दमक नगरपालिकामा कम्तीमा पनि दुई हजार चर्पी बनाउनुपर्ने बताए । उनका अनुसार अहिलेसम्म चर्पी गणना गरिएको छ, सुरक्षित–असुरक्षित हेरिएको छैन । यसैगरी वडा नं. १ को पूर्वी भेगको सुकुम्बासी बस्तीमा चर्पी नै छैन । वडा नं. ७ र ८ मा दर्जनौं घरधुरीमा चर्पी बनाउने जग्गा नै छैन । वडा नं. ५ को डिकिनी खोलामा चर्पीको दिसा सीधै खोलामा मिसाइएको छ ।

वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटा आफ्नो वडामा मात्र सयभन्दा बढी घरमा चर्पी नभएको बताउँछन् । वडा नम्बर १ मा हालसालैमात्र ८० नयाँ घर थपिएको र तीमध्ये अधिकांश घरमा चर्पी नभएको वडाध्यक्ष तारा अधिकारीको भनाइ छ । यी थपिएको घरमा चर्पी भए नभएको तथ्यांक नगरपालिकासँग छैन । तथ्यांक अनुसार वडा १ मा मात्र ७५ घरधुरीमा चर्पी बन्न बाँकी छ, जसमा यी घरधुरी जोड्दा १ सय ५५ घरमा सुरक्षित चर्पी बन्नुपर्ने हुन्छ ।

नगरपालिका सधैंभरि अन्यौलमै

सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि इकाइ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यसभित्रका सम्पूर्ण घरधुरीको सुरक्षित शौचालयमा पहुँच हुनु अनिवार्य छ । तर, दमक नगरपालिकाका तत्कालीन वडाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा कुनै पनि वडाका सतप्रतिशत घरधुरीमा सुरक्षित चर्पीको पहुँच थिएन । स्थानीय तह पुनःसंरचना हुनुअघि खुल्ला दिसामुक्त घोषणा गरिएको साविक वडा नं. २ मा १८ घरधुरी चर्पीविहीन थिए भने वडा नं. ३ मा ७३ घर र वडा नं. ४ का १५ घरधुरीमा चर्पी थिएन । हाल वडा नं. ९ मा गाभिएको तत्कालीन वडा नं. १५ खुल्ला दिसामुक्त घोषणा हुँदा ५८ घरमा चर्पी थिएनन् भने हाल वडा नं. १० मा गाभिएका तत्कालीन वडा नं. १७ मा ३४, वडा नं. १८ मा ४० र वडा नं. १९ मा ३६ घरमा चर्पी नबन्दै खुल्ला दिसामुक्त घोषणा भए ।

बुधबारको बैठकमा नगरपालिकामा उपस्थित वडाध्यक्षहरु, वातावरण शाखा तथा सामाजिक शाखाका कर्मचारीहरुले समेत प्राविधिक विषयमा अनभिज्ञता प्रकट गरे । ‘९५ प्रतिशत घरधुरीमा चर्पी बनेमा खुल्ला दिसामुक्त घोषणा गर्न पाइन्छ भन्ने थियो, त्यसै गरियो’, सामाजिक शाखाका डम्बर बराल भन्छन्, ‘पहिले नै प्राविधिक विषय थाहा पाएको भए पहिल्यै समस्या समाधान गरिन्थ्यो ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपाने दमक नगरपालिकाभित्र रहेका सबै वडा नागरिक मञ्चका संयोजक र सामाजिक परिचालकहरुका लागि सरसफाइ प्रबद्र्धनसम्बन्धी गोष्ठी सञ्चालन गरिएको बताउँछन् ।

डिभिजन कार्यालयका प्राविधिक न्यौपाने समेत नगरपालिकाबाट प्राप्त तथ्यांकको आधारमा समितिले निर्णय गरेको र नगरपालिकाले पटक पटक खुल्ला दिसामुक्त घोषणा गर्न तयार रहेको विवरण आफूहरुलाई दिएकोले यहाँ सहजीकरणको जिम्मेवारी नदिइएको बताउँछन् । ‘आवश्यक पर्दा म आफै पनि नगरपालिका पुगेको छु, विभिन्न वडामा गएर अनुगमन गरेको छु’, उनले भने, ‘अहिले असुरक्षित चर्पी पनि धेरै देखिए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment