“खेम सर, मेरो त डबल पेन्सन हुने भो नि,” रूद्र जीसीले एक दिन खेम बस्नेतलाई नारायणपुरमा सुनाए ।
खेम बस्नेत जिल्ल परे । स्वाभाविकै पनि थियो । सल्यानबाट सँगै तुलसीपुर झरेका थिए दुई भाइ, चौवालीस सालतिर । सँगै नै घर–घडेरी जोडेका थिए र लगभग सँगै जागिर पाएका थिए, एउटा निम्न माध्यमिक विद्यालयमा ।
सल्यानबाट प्रवेशिका सकेर झरेका उनीहरूलाई, त्यसताका मास्टरको जागिर पाउन खासै मुस्किल परेको थिएन । रहँदै–बस्दै जाँदा खेम बस्नेतले घोराहीबाट र रूद्र जीसीले हापुरेबाट बिहे गरेका थिए । उनीहरूका बालबच्चा पनि सँगसँगै भए, र सँगै खेलेर हुर्किए । सबै गोप्य कुरा थाहा पाएका खेमले यो डबल पेन्सनको कुरा बुझेनन् ।
‘हैन सर, दिउँसो स्कुलमा एउटा जागिर खाएको त मैले पनि देखेको हुँ । राति पनि अन्त कतै लुकीलुकी दरबानी गर्नुभयो कि क्या हो? नत्र कसरी आउँछ डबल पेन्सन?’ खेमले सोधे ।
‘कुरा गम्भीर छ । हिँड्नुस् न मसँग एकैछिन । फुर्सद छ ?’
‘फुर्सद किन नहुनु ? जौँ ।’
रुद्रले खेमलाई आफ्नो मोटरसाइकलमा राखे र हुइँक्याए, पश्चिमतिर । तुलसीपुरबाट सुर्खेत जाने बाटोतिर करिब तीन किलोमिटरजति गएपछि सडक किनारैमा मोटरसाइकल रोके, र एउटा बन्दै गरेको घरतिर लगे ।
‘जग हालेर एक तलो सकियो ।’
तपाईंको आफ्नै ?
हो त । हुन त यो मेरो छोराको नाममा छ । तर छोराको त आफ्नै सरह हो नि, होइन र ?
नहुन पनि सक्छ ।
रुद्र झस्किए । एउटा अपरिचितले झैँ हेरिरहे खेमको अनुहारमा ।
कहिले किन्नुभाथ्यो माटो ? कसरी पर्याे ?
अस्ति वैशाखमा किनेको । आनाको आठ लाख पर्याे । चार आना छ ।
खेमलाई अलि अलि लघुताभास पनि भयो । सँगै जागिर थालेका थिए उनीहरूले । साथीको यो तरक्की देख्दा आफ्नो नालायकीपनले अलि अलि कोक्यायो । तैपनि सोचेँ, छोराको काम हो, र आफैँलाई शान्त पारे ।
भनेपछि रमेशले राम्रै कमाएछ । हुन ब बैंकको जागिर, के नकमाओस् !
तर सबै उसैको कमाइचाहिँ होइन । मैले पनि सञ्चयकोषबाट केही झिकेँ, केही रिनपान गरेँ, र यो किन्यौँ । यो जग हालेर एक तलो बनाउँदा पनि पच्चीस लाखजति लागिसक्यो ।
घर अझै तयार भएको थिएन । कामदारहरू काममै थिए । हेर्दा लाग्थ्यो, अझै एक महिनाजति लाग्नेछ पूर्णतः तयार हुन त्यस घरलाई ।
यसैबीच, खेमले देख्दादेख्दै रुद्रले काम गरिरहेका कामदारमध्ये एकसँग अलिकति पानी मागे र एक चक्की औषधि स्वाट्ट निले । खेमले सोधे, ‘यो के खानुभा, सर ?’
‘उही । सबै खान्छन् ।’
के?
प्रेसर । एकदम कम पावरको हो यो चक्की । खासै फरक पार्दैन रे । उही रगतै पातलो पार्ने त हो भन्छ डाक्टर । दुई महिना भयो ।
अरु धेरै कुरा गरे दुई मित्रले । नारायणपुरमा ओल्लोघर पल्लोघर बस्ने भए पनि पछिल्लो समय त्यति बाक्लो भेटघाट भएको थिएन । अन्तरातलका धेरै कुरा खेमले सुनाए । रुद्रले पनि पछिल्लो समयका गतिविधिबाट खेमलाई अवगत गराए ।
केही समयपछि उनीहरू तुलसीपुर बजार फर्किए । बिहानको एघार बज्नै लागेको हुँदो हो । घर पुग्न अझै केही समय लाग्ने निश्चित थियो । रुद्रले प्रस्ताव राखे, ‘खाना यतै खाऔँ । निकै भोक लाग्यो । घर पुग्न अझै केही समय लाग्छ । म भोक खप्न सक्दिनँ ।’
पहिले पहिले यस्तो गुनासो गर्दैनथे रुद्र । उमेर बढेकोले होला भन्ठाने र खेम चुपै लागे ।
उनीहरू एक प्युठानी दम्पतीले चलाएको होटलमा परे बीपी चोकमा । टेबलमा खाना आएपछि रुद्रले औषधिको एउटा अर्को चक्की मुखमा हाले ।
सर, यो चाहिँ के नि फेरि ?
यो चैँ सुगरको । हल्का हो भन्थे बड्डाले । दिनमा एउटो चक्कीले ठीक गरिहाल्छ भन्थे ।
खेमले केही भनेनन् । टेबलमा खाना आयो । दुवै जना चुपचाप खाना खान थाले । खेमका मनमा भने सोचका धेरै तरङ्गहरू उठे र हराए । फेरि उठे, फेरि हराए । उनलाई लाग्यो, एक औसत नेपाली जागिरेको सम्पूर्ण जिन्दगी माटो जोड्दा र घर बनाउँदा लगभग बित्छ । आफ्नै घर बनेर सहर बजारमा सर्दासम्म त्यो मान्छे अनेक रोगको सिकार भइसकेको हुन्छ, र उसले, आफ्नो घरमा बसेर गर्ने भनेको फगत उपचार र मृत्युवरण हो । बेचबिखन गर्नलाई गाउँतिर पैतृक सम्पत्ति भएकाको कुरो अलि फरक हुँदो हो, तर आफैँले कमाएर जोरजाम गर्नेहरू करिब करिब लास हुँदासम्ममा मात्रै आफ्नो घरमा प्रवेश गर्छन् । खेमले यी सोचका तरङ्गहरूबीचमा पौडँदै गरेको रुद्रकै अनुहार देखे ।
खाना खाएपछि रुद्रले खेमलाई बबई किनार पुर्याए । लामो पुल र पुलमुनि बगेको बबईको कञ्चन पानी । नदी किनारमा बसे दुई मित्र, र जीवनका कुरा गर्न थाले ।
अनि डबल पेन्सनको कुरा के नि ?
अब हेर्नुस् । यो पुुसमा म साठी वर्ष पुग्दै छु । सरकारी पेन्सनको समय आयो । यो त बुझ्नुभाकै छ ।
हो ।
अब बन्दै गरेको अघिको घर ! हामीले साढे दुई तला बनायौँ । मैले त एकै तलो बनाऔँ, नारायणपुरको पनि नबेचौँ भनेको थिएँ । छोरो मानेन ।
भनेपछि नारायणपुरको जग्गा बेचिसक्नुभयो ?
बेचेको । तर हामी तुलसीपुर नसर्दासम्म त्यहीँ बस्न पाउने कागज गरेको छु ।
दशकौँको छिमेकी टाढिने सूचनाले खेम खिन्न भए । अवकाशको मिति त उनको पनि त आएको हो । उनलाई पनि अलिअलि रोगले च्याप्दै लगेको सत्य हो । तर रुद्र सरको छोराले जसरी उनका छोराले हिम्मत गरेन । उनले नारायणपुरलाई नै जिन्दगीको अन्तिम बिसौनी बनाउन निधो गरेका थिए ।
अतीतका धेरै कुरा आए उनको मस्तिष्कमा । बबई किनारमा उनीहरू आआफ्नै लयमा विगतमा फर्किए । पानी बगिरह्यो निरन्तर । निरन्तर उठिरहे पानीमा फोकाहरू र निरन्तर फुटिरहे चुपचाप चुपचाप, आफ्नै लयमा । डिलबाट कतै कतै माटो पनि खसिरहेको देखिन्थ्यो गिर्खा गिर्खा र पानीमा मिसिएर अज्ञात भविष्यतिर बग्दै गएको देखिन्थ्यो । त्यहाँ बगरसँग पनि कुनै निश्चितता थिएन । केही हदसम्म स्थिर देखिन्थे त केवल बगरका ठूल्ठूला ढुङ्गाहरू मात्रै । तर तीमाथि पनि मौसमको कहर र मन्द विषको प्रकोप छँदै थियो– मान्छेको जिन्दगीमा जस्तै ।
अनि अर्को पेन्सन ?
त्यो तल्लो तलो भाडामा लाग्छ । सडक किनारमै छ । दुई सटर पनि छन्, देख्नुभो नि । पूरै फ्ल्याट बीस हजारमा जान्छ रे । सटरको त चालीस हजार भन्दा रहेछन् । यो पनि पेन्सनै त हो नि, होइन र ?
खेमले केही बेर सोचे र भने, ‘हो, हुन त ।’
पक्का हो नि । हामी बाबुछोरा, बुहारी र नाति–नातिना बस्न माथिको डेढ तलाले पुगिहाल्छ नि । हैन र ?
त्यो पनि हो ।
रुद्र सरको अनुहारभरि खुसीको आभा पोखियो । खेम सर भने खासै प्रसन्न भएनन् । रुद्रलाई आश्चर्य लाग्यो । उनले सोचे, उनको प्रगति देखेर खेम खिन्न छन्, र अलि अलि ईष्र्या पनि गरिरहेका छन् । हुन त बितेका तीस वर्षमा उनले त्यस्तो भाव कहिल्यै देखाएका थिएनन् । प्रगतिमा त्यसरी ईष्र्या पनि गरेका थिएनन् । त्यसैले रुद्र कुनै निचोडमा पुगिहाल्नचाहिँ हत्तपत्त सकेनन् ।
तर सर !
तर सर केही होइन सर्, अब । मिल्छ भने तपाईं पनि बेच्नुस् नारायणपुरको घर । तपाईंको पनि वैशाखमा जागिर सकिन्छ नै । यसै गरी बनाऔँ घर । तपाईंको पनि डबल पेन्सन ।
बबई बगिरहेको थियो । पुलमाथि, तुलसीपुरबाट अमेलिया र अमेलियाबाट तुलसीपुर आउने जाने गाडी निर्बाध गुडिरहेका थिए । निकैवटा गाडी एकैचोटि गुड्दा दुई मित्रको संवाद केही बेरका लागि अवरुद्ध हुन्थ्यो । अनि पुनः जोडिन्थ्यो ।
यलपालि सन्नाटा निकै लामो रह्यो । दुवैका आँखा पुलमाथि । माथि चलायमान गाडी र पाइलाहरू । तल चलायमान नदी । बीचमा त्यो निश्चल पुल, वर्षौँदेखि तलका र माथिका चालहरू अभिलेख राखिरहेको थियो चुपचाप । दुवैले सोचे सायद, कुनै दिन त्यो पुल आफैँ चल्दियो भने के हुन्छ ?
तपाईंले गलत निर्णय लिनुभो सर, खेमले साहस बटुलेरै भने ।
मलाई त्यस्तो लाग्दैन ।
मलाई लाग्छ ।
सबै गाउँबाट सहरतिर सर्दै छन् । तर तपाईं सबै होइन । तपाईं तपाईं हो । गाउँबाट सहर सर्दैछन् मान्छेहरू । तर जिन्दगी गाउँ सर्दैछ, सर ।
एउटा पानी सर्प देखियो बबईमा । फुत्त टाउको निकालेर दुवैलाई हेर्याे र फेरि पानीमै हरायो । दिवास्वप्नजस्तो, कस्तो कस्तो । दुवैका आङ सिरिङ्ग भए । फेरि दुवै सम्हालिए ।
एउटा कुरा मान्छु । तपाईंको पुरानो छिमेकी अलि टाढिने भो । तर मनले सधैँ सँगै हुनेछ, मान्नुस्, रुद्र सरले भने ।
कुरा त्यो होइन सर । छिमेकी नयाँ–पुराना अरू पनि छन् । तपाईंको निर्णय तपाईंकै लागि हानिकारक छ ।
कसरी ?
त्यो म अहिले भन्दिन ।
संवाद सकियो । पेन्सनको विषयमा थप बहस भएन । रुद्रले मोटरसाइकल चलाए । दुवैजना नारायणपुर फर्किए ।
केही समयपछि एक दिन रुद्रका छोरो श्याम खेम सरको घर आयो । साँझपख, आँगनमा बसेर उनीहरूले धेरैबेर कुरा गरे ।
खुला आँगन । वरिपरि बोटबिरुवा । साँझको बेला, आँगन वरिपरिका रुखबिरुवामाथि बस्दै, फेरि उड्दै र फेरि बस्दै, आफ्नै लयमा चिर्बिराइरहेका चराको आवाज निकै मनोरम लाग्थ्यो । आँगनकै अगाडिपट्टिबाट उत्तरतिर लागेको खुला बाटो । बाटैभरि दुबो र मुलायम घाँस । रुखैभरि झ्यम्मै पात भएकोले होला, मन्द बतासले आँगनैभरि पङ्खा लगाइरहेको थियो । घरपछाडि ठूलो बारी । बारीभरि मकै । नजिकै गोठ । गोठको छानोमाथि कति हो कति फलेका फर्सीहरू र छेवैमा बेलैभरि काँक्रा । बारीभरि रायो साग, जताततै हरियो ।
साँझपख यहाँ बस्नुको आनन्दै बेग्लै । हैन सर ?
गाउँ भन्नु यही हो । कस्तो छ बाबाको खबर ?
बड्डा अलि बिरामी छन् । आजै घोराही लगेर ल्याएको । प्रेसर अलि बढी नै छ । सुगर ठीकै छ भन्थ्यो केरे ।
पहिल्यैदेखि उनको मुटु अल्लि कमजोरै हो ।
राति असिनपसिन हुन्छन् बड्डा । अचेल बढी नै छटपटी गर्न थालेका छन् ।
जिन्दगीमा कहिल्यै रिनपान गरेनन् । अलिकति ऋण लाग्यो कि छट्पटाउने मान्छे । फेरि थाहा छ, सुगर लागेको मान्छे अलि चिन्तामा गयो भने मुख सुक्ने, छट्पटी हुने पनि हुन्छ । ऋण लाग्या छ हैन ?
श्याम केही बोलेन । खेम सरका कुरा सत्य थिए । उसले पनि मनमनै बुझेको थियो यो तीतो यथार्थ । तर अब पछाडि फर्कने समय थिएन । यात्रा धेरै अगाडि पुगिसेको थियो ।
अनि कहिले सर्ने तुलसीपुर ?
अर्को बुधबारको साइत छ । अब छ दिन बाँकी ।
ए, त्यति छिटै पो ? ल ठीक छ ।
अब जाने नै भएपछि त जानै पर्याे केरे ।
तिम्रो बाबाको सबैभन्दा पुरानो साथी र छिमेकी हुँ म । मेरा केही अर्ति मान्नू ।
हजुर, अङ्कल ।
बाबाको मुटु कमजोर छ । ऋण धेरै छ भने पनि तिरिसकेँ भन्नू । साँचो कुरा लुकाउनू । घर सडककै छेउमा छ, हल्ला भइरहन्छ । हल्लाबाट बाबालाई टाढा राख्नू । घर भाडामा लाउँदा पैसा त आउला, तर भाडा बस्न आउनेको भीड र हल्लामा बाबा रमाउलान्–नरमाउलान् त्यो विचार पुर्याउनू । तिम्रो बाबाको स्वभाव र स्वास्थ्य विचार गर्दा उनलाई यही गाउँ ठीक हो । यहाँको हावापानी, शान्त वातावरण र हरियाली नै ठीक हो । यी चराको गीत नै ठीक हो । तर जानै नै भएपछि हामीले रोकेर हुँदैन केरे । अब हाम्रो हेरचाह गर्नू । हामीले त के भन्नू र ?
हुन्छ, अङ्कल ।
अरू पनि धेरै कुरा भए । अबेर राति श्याम घर फर्कियो । बाटोभरि उसको मनमा कुरा खेले । खेम सरले दिएका सबै अर्तीको ठीक विपरीत भइरहेको थियो घरमा । उसलाई गाउँलले पत्याउँदैनथे । रिनपान खोज्न उसका बाबु आफैँ कुद्थे ।
उनैले लिएको रिन करीब दस लाख पुगिसकेको थियो । उनै आफैँ घरलाई भाडामा लाउन इच्छुक थिए । सटर पनि भाडा लाएर कमाइ दोब्बर गर्ने कुरा गुन्थे । बढ्दो रक्तचाप र मधुमेहले सिथिल पनि उनै थिए ।
श्यामले लाचारीको सास फेर्याे । उसलाई सबै निर्णयहरू उल्ट्याऊँजस्तो पनि लाग्यो, तर समय धेरै नै घर्किसकेको थियो ।
बुधबार आयो । रुद्र सरले सपरिवार पुरानो घर छोडे । दिउँसो करिब १ बजेतिर ट्रकभरि सामान लादेर उनी तुलसीपुरतिर लागे । खेम सर कतै देखिएनन् ।
करिब पन्ध्र दिनसम्म केही खबर आएन । खेम पनि गएनन् तुलसीपुरतिर । पुरानो र सबैभन्दा करिबी छिमेकीसँगको बिछोडले उनी पनि आहत थिए । वनजङ्गलतिरै घुमेर मन बुझाए ।
सोह्र दिनमा रुद्र सरको फोन आयो । उनले भने, ‘खेम सर, खुसीको कुरो छ । तल्लो तलो भाडामा लाग्यो । फ्ल्याटै लियो एउटा मारवाडीले । दुइटै सटर उसैले लियो । एउटामा सिमेन्ट राख्यो, एउटामा रड ।’
सिमेन्ट र रड ? धुलो आउला । रडको खट्याङ्खुटुङ पनि त आउला ?
आ, अलि अलि त आइहाल्छ नि ।
अनि कति छन् उसको परिवारमा जहान ?
थुप्रै छन् । सातजना जति भएको बुझ्छु । तर कोठा ठूल्ठूला छन् । श्यामुले बुझेरै ठूला कोठा बनाउन लाएको ।
हजुर । अनि कति आउने भयो त भाडा ?
फ्ल्याटको बीस । सटरको चालीस । साठी आउँछ सर ।
ए, डबल त के, ट्रिपल पो भएछ त पेन्सन ।
हो सर । तपाईं पनि सोच्नुस् है । अब पुरानो पाराले हुँदैन जिन्दगी । यही वैशाखमा होइन तपाईं पेन्सन निस्कने ?
हो सर ।
त्यो लिएर यतै आउने । उता जाने होइन । म हेरिरहुँला नजिकै एउटा टुक्रो जग्गा । प्लोटिङ वाला मान्छे श्यामले चिनेको छ । तिनले पनि मद्दत गर्छन् ।
हुन्छ सर, सल्लाह गरौँला ।
खेमले सामान्य र फगत एक औपचारिकताको जवाफ दिएपछि त्यस दिनको संवाद टुङ्गियो । त्यसपछि फेरि धेरै दिनसम्म संवाद भएन ।
एक दिन श्यामले अलि आत्तिएको स्वरमा फोन गर्याे, ‘अङ्कल, बुवालाई सन्चो भएन । राप्ती अञ्चल अस्पतालमा भर्ना गरेको छ । हिजो ल्याएको ।’
ए । कोको छौ अस्पतालमा ?
म र बुबा मात्रै छौँ ।
त्यहाँका छरछिमेकी छैनन् ? आएनन् ?
श्यामले जवाफ दिएन ।
ल, म एक घण्टामा आइपुग्छु ।
एक घण्टापछि खेम बस्नेत राप्ती अञ्चल अस्पताल पुगे र हत्तपत्त रुद्र भएको वार्डमा पसे । बाहिर श्याम र भर्खरै जाउलो लिएर पुगेकी उसकी श्रीमती झोक्राएर बसेका थिए । दुवैका अनुहारमा विषाद मलिनता देखिन्थ्यो ।
खेम सीधै भित्र पसे र केही सोधे ।
हृदयाघात हो । प्रेसर नियन्त्रणभन्दा माथि थियो । मधुमेह पनि रहेछ । केही गर्न सकिएन ।
खेम फुत्त बाहिर निस्किए । श्यामसँग धेरैबेर बोलूँजस्तो लागेन उनलाई । उनले एउटै कुरो भने श्यामलाई, ‘नायाराणपुर लाने । यहाँ मलामी छैनन् सरका । सबै व्यापारी मात्रै छन् । म गाडी लिएर आउँछु ।’
यति भनेर उनी बाहिरिए । श्याम र उसकी श्रीमतीले अपलक हेरिरहे उनलाई ।