Comments Add Comment

‘छोटो लुगा लगाएकी केटी देख्दा उत्तेजित हुन्छु’

नमस्ते करुणाजी,

म विवाहित पुरुष हुँ । अहिले ३६ वर्षको भएँ  । १५-१६ वर्षको उमेरदेखि नै आकर्षक महिलाको तस्बिर वा छोटो लुगा लगाएको केटी मान्छे देख्दा आफू उत्तेजित भएको महसुस गर्दथेँ । यसले मलाई अप्ठ्यारो पाथ्र्यो । साथीहरूसँग कुरा गर्दा ‘यो उमेरमा सबैलाई यस्तै हुन्छ’ भनेर सम्झाउँथे । ‘विस्तारै सबै ठीक हुन्छ’ भन्थे ।

तर विवाहपछि पनि केही ठीक भएन । अहिलेसम्म पनि मलाई त्यस्तै अनुभूति भइरहन्छ । यस्तो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन । म श्रीमतीसँग पूर्ण सन्तुष्ट छु । तैपनि यस्तो भइरहन्छ । त्यस्ता तस्बिर खोजी खोजी हेर्न मन लाग्छ । छोटो लुगा लगाएको केटी मान्छे हेर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यस्तो कुरा कतै श्रीमतीले थाहा पाएर नराम्रो मान्ने हुन कि भन्ने डर पनि लागिरहन्छ । अनि कतै यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुदैन त्यो पनि जान्ने मन छ । यो समस्या कस्तो समस्या हो र किन यस्तो हुन्छ ? कतै यो मनोरोग त होइन ?- एन

महिला र पुरुषले एक अर्कालाई देख्दा यौन उत्तेजना हुने विषय महत्वपूर्ण मात्रै होइन,  चासोयुक्त पनि हो । यही कारण यो विषयमा धेरै अनुसन्धान भएका छन् र किताबहरू पनि लेखिएका छन् । सामान्य पुस्तकमा पनि यस विषयमा चर्चा हुने गरेको पाइएको छ । त्यस्ता लेख वा पुस्तकहरूमा उल्लेख गरिए अनुसार आकर्षक महिला वा छोटो पहिरनमा सजिएका महिलालाई देख्दा पुरुषहरूमा एक प्रकारको यौन उत्तेजना (भिजुअल अराउजल) हुन्छ भन्ने उनीहरूको विश्लेषण छ ।

यस्ता कुराको पुष्टि पनि गर्ने प्रयास गरिएको छ । यसलाई पुष्टि गर्न पुरुषहरूले बढी अश्लील फिल्म बनाउन मन पराउँछन् र हेर्न पनि मन पराउँछन् भन्ने तर्क गरिन्छ । यसले गर्दा उनीहरूलाई ‘भिजुअल अराउजल’ हुन्छ भनिएको छ । यसलाई मात्र आधार मानेर पुरुषमा भिजुअल अराउजल हुन्छ भन्नु तर्कसंगत हुँदैन । यो विषय चर्चामा छ र अध्येताहरूको लागि अनुसन्धानको उच्च प्राथमिकतामा छ । यस सम्बन्धमा धेरैले चासो र चर्चा गरिरहेकोे हुँदा यससम्बन्धी धेरै रोचक अनुसन्धान भएका पनि छन् ।

एउटा अनुसन्धानका क्रममा महिला र पुरुष दुबैलाई एकै प्रकारको यौन उत्तेजना हुने फिल्म देखाइएको थियो र दुईमध्ये कुनमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो । यन्त्रले उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह कति हुन्छ भनेर मापन गथ्र्यो । यसरी गरिएको अनुसन्धानले दुवैजनामा रगतको प्रवाह एकै किसिमले भएको र यौन उत्तेजना बराबर भएको पाइएको थियो । यसरी अनुसन्धानले महिला र पुरुष दुवैमा भिजुअल अराउजल हुने र उनीहरू दुवैको दृष्टि क्षमता बराबर हुने कुराको पुष्टि गरेको थियो । यसका अध्येताहरूले पुरुषहरूमा मात्र विपरीत लिङ्गीलाई देखेर बढी भिजुअल अराउजल हुन्छ भनेर मान्न नसकिने बताएका थिए । यसको अर्थ चलनचल्तीमा भन्ने गरिएजस्तो पुरुषलाई मात्र कुनै दृश्य देखेर यौन उत्तजना हुन्छ भन्नु गलत हो ।

एउटा कुरा फरक छ । त्यो के भने भिजुअल अराउजल अभिव्यक्त गर्ने तौरतरिकामा भने महिला र पुरुषमा फरक स्वभाव देखिएको छ । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनेच्छा अभिव्यक्त गर्नुलाई पापको रूपमा लिइन्छ । कतै सामाजिक रूपमा स्वीकार्य हँुदैन । कतिपय समाजमा महिलामा कुनै किसिमको यौनेच्छा आउँछ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनेच्छा व्यक्त गर्दैनन् । त्यसैले कतिपय लेख वा पुस्तकले महिलामा भिजुअल अराउजलबारे ठोस रूपमा उल्लेख गर्न नसकेको होला भन्न कर लाग्छ ।

एन जी, अब फर्कौं तपाईंको प्रश्नमा । तपाइर्ंले अनुभूति गरेको कुरामा भन्दा पनि श्रीमतीले थाहा पाउने कुराको बढी डर तपाईंलाई महसुस भइरहेको हो कि जस्तो बुझिन्छ । त्यसो हो भने तपाईंमा उब्जिएको डरचाहिँ मनोरोग हुन पुग्छ । लामो अन्तरालपछि महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंसँगको डरले चाहिँ तपाइर्ंको दैनिक जीवनलाई असर गर्न थाल्छ । श्रीमतीसँगको सम्बन्धमा पनि असर पर्न सुरु हुन्छ ।

तपाईंको कुरा अनुसार अहिलेसम्ममा श्रीमतीसँगको सम्बन्ध राम्रो भइरहेको बुझिन्छ । त्यसैले तपाईले अहिले महसुस गर्नुभएको डर अनि महिलाप्रतिको अनुभूतिहरूलाई श्रीमतीसँग बाँड्न सक्नुहुन्छ । आकर्षणको कुरा हो भने तपाईंले चाहेअनुसार श्रीमतीलाई कसरी आकषिर्त बनाउन सकिन्छ त्यो पनि छलफल गर्न सक्नुहुन्छ । तपाईंलाई र उहाँलाई मन पर्ने लुगाहरू सँगै गएर किन्न सक्नुहुन्छ । त्यति मात्र होइन, एकअर्कालाई प्रशंसा गर्नुले पनि सकारात्मक परिणाम दिनसक्छ ।

तपाइर्ंले बुझ्नैपर्ने अर्को कुरा के हो भने तपाईंमा छोटो लुगा लगाएको महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौन सम्पर्क पनि राख्न मन लाग्ने हो ? त्यसमा पनि तपाई प्रस्ट हुन जरुरी छ । उही महिलासँग यौन सम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाइर्ं कुनै बेलामा अप्ठ्यारोमा पर्न सक्नुहुन्छ र कानुनी झमेलामा पर्न सक्नुहुन्छ । आफ्नो समस्यालाईसमयमै पहिचान गर्नुहोस् । अनि मात्र आगामी दिन खुसीले बिताउन सक्नुहुन्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई  [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment