Comments Add Comment

तुइन हटाउने प्रधानमन्त्रीको वाचा अधुरै, अढाइ लाख गर्छन् झुन्डिएरै वारपार


१३ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर भिन्न–भिन्न विषय परेका छन् । कुनैले स्वास्थ्य क्षेत्रका बेथिति उधिनेका छन् भने कुनैले सुन तस्करीबारे खबर लेखेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले आज एक दशकदेखि परराष्ट्र मामिलामा सरकारलाई दिइएका कुनै पनि प्रतिवेदन कार्यान्वयनमा नआएको विषयलाई मुख्य समाचार बनाएको छ । हिंसा पीडित महिलाको कथासँगै सुन तस्करीमा हुन्डी कारोबारी संलग्न भएको समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिका दैनिकले आज औषधि अभावको विषयलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार निःशुल्क औषधिलाई सरकारले १ अर्ब बजेट छुट्याए पनि ४४ थरी औषधिको अभाव भएको छ ।

नागरिक दैनिकमा अढाइ लाख नागरिक तुइनको जोखिपूर्ण यात्रा गर्न बाध्य भएको खबर छ भने गोरखापत्रले राजधानीमा बर्डफ्लू भेटिएकोलाई एंकर बनाएको छ ।

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक पर्यटन विज्ञ समूहमा

फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञ समूहमा मनोनित भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार, विवादित व्यक्ति विज्ञ समूहमा मनोनित भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ ।

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञ समूहमा राखेको शाक्य तिनै व्यक्ति हुन् जसले फेवातालको ६५ मिटरभित्र कुनै संरचना बनाउन नपाइने नियमको धज्जी उडाउँदै किनारको १० मिटरभित्रै संरचनाको जगमै होटलको संरचना बनाएका छन् ।

निःशुल्क औषधिलाई एक अर्ब तर ४४ थरी औषधि छैन

सरकारले निःशुल्क उपलब्ध गराउने भनेका अधिकांश औषधि किन्नै सकेको छैन । खरिद प्रक्रियामा टेन्डर नै परेको छैन ।

सरकारले ७० प्रकारको औषधिको १०४ डोजेज फम निःशुल्क उपलब्ध गराउने भने पनि ४३ औषधिको ४४ डोजेज फम खरिद नै हुन सकेको छैन । नयाँ पत्रिका दैनिकका अनुसार सरकार आफैंसँग नभएपछि स्वास्थ्य संस्थामा निःशुल्क औषधि अभाव छ ।

सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको दाबी आजको कारोबार दैनिकले गरेको छ ।

सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । तर एमाले–माओवादी एक भएपछि प्रतिनिधिसभाको सभामुख र उपसभामुखका एकै पार्टीबाट प्रतिनिधित्व भइरहेको छ । हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

कारोबारले ठाकुरलाई सभामुखको प्रस्ताव गएको दाबी गर्दै छिट्टै अध्यक्ष मण्डलको बैठक यसबारे निर्णय गर्न बस्न लागेको जनाएको छ ।

तुइन हटाउने ओलीको वाचा अधुरै, अढाइ लाख नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य

पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए । ०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुइन दुई वर्षभित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा सही धस्काएका थिए ।

नागरिक दैनिक लेख्छ– ओलीले उक्त निर्णय गरेको अढाई वर्ष बितिसक्दा पनि प्रदेश ७ तुइनमुक्त हुन सकेको छैन । तुइन विस्थापित नहुँदा अढाइ लाख नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

कहाँ छन् गोरेका तीन थान हतियार ?

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरेको हतियार फेला परेको छैन ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीनवटा पेस्तोल खोजिरहेको छ ।

स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए । विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी सुरु गर्ने गरेको स्रोतले जनाएको छ ।

३३ किलो सुनका मालिक भनिने एमके (मोहनकुमार) अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेका थिए ।

३३ किलो सुन गायव भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटकपटक मानसिक यातना दिएको नागरिक दैनिकमा खबर छ ।

कूटनीतिक नियोगको संख्या कटौती गर्ने तयारी

कारोबार दैनिकका अनुसार आवश्यकता, औचित्य र प्रभावकारिताका आधारमा मात्रै राजदूतावासलगायत नियोगहरु सञ्चालनमा ल्याउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।

समाचार अनुसार कूटनीतिक नियोग पुनरावलोकनका लागि परराष्ट्र मन्त्रालयले गृहकार्यसमेत अघि बढाइसकेको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment