Comments Add Comment

पूँजीबजारमा मल्हमपट्टी लिएर निस्कने कि तरबार ?

सम्माननीय अर्थमन्त्रीज्यू नमस्कार,

तपाईं अर्थमन्त्री हुनुभएको दिन अरुजस्तै म पनि देशले विज्ञ अर्थमन्त्री पाएकोमा खुशी भएकी थिएँ । आशा थियो, वाम गठबन्धनको सरकारसँगै विज्ञ अर्थमन्त्री देशले पाएको छ, अब अर्थतन्त्र पनि सही दिशामा हिँड्ने छ, पूँजीबजार उदयमान हुनेछ । धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ ।

म पनि ढुक्क थिएँ । तर, आज म गलत सावित भएकी छु । केही महिनादेखि निरन्तर ओरालो लागेको पूँजी बजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो । र, पूँजी बजारको व्यूटी पनि यही हो भन्नेहरुको पनि पूँजी बजारमा कमी छैन । तर, यसो हुँदै गर्दा यहाँहरुलाई विपक्षले लगाएको दाग वामपन्थी भनेका पूँजी बजारका लागि अभिसाप नै हुन् भन्ने कुरा पनि अछुतो रहेन है ? निरन्तर ओरालो लाग्दा विशेष गरी साना नयाँ लगानीकर्ता निकै चेपुवामा पर्ने गरेका छन् । डाक्टरसाव जिम्मेवार व्यक्तिले सम्वेदनशील क्षेत्रको बारेमा असम्वेदनशील कुरा गरिदिँदा त्यसको कति गम्भीर असर पर्दोरहेछ भन्ने कुरा नेपालको पूँजीबजारले देखाइसक्यो । यस्ता असान्दर्भिक तर्कले डुब्ने त आखिर साना लगानीकर्ता नै हुन् । उनीहरुको पीडाको कतैबाट पनि सुनुवाइ हुन सकेको छैन ।

हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । सेयर बजारमा लगानी गर्ने सबै करोडौंका मालिक हुँदैनन् । यहाँ कयौं गृहिणीहरुले आफूले नखाएर, ५० लाख युवाहरू आज पनि विदेशमा रगत पसिना बगाएर, कैयौंले घरजग्गा धितो राखेर लगानी गरेका छन् ।

अझ भनौं हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर आउँछ । दैनिक घरायसी खर्च कटाएर सेयर बजारमा लगानी गरेका उनीहरुको अवस्था निकै दयनीय बन्दै गएको देखिन्छ । यस्तै भइरहे त धेरै जनाले आत्महत्या गर्न बेर छैन । यसको सारा दोष तपाईं र तपाईंको पार्टीमा लाग्न सक्छ । रिसानी माफ गर्नुस्, सत्य बोल्ने साहस गर्नैपर्छ ।

मैले सेयर बजारलाई नै बढाइदिनु पर्‍यो भन्दै लेखेको आरोप लाउनु सक्नुहुन्छ तर डाक्टर सावलाई मैले सेयर बजार बढाउनु पर्छ भन्न खोजेकी हुँदै होइन है ! दुई मन्त्री दुई थरी कुरा (अर्थ र ऊर्जा) किन गरिन्छ ? एक मन्त्रीको अभिव्यक्ति अनुत्पादक क्षेत्र भन्ने आउँछ भने अर्को मन्त्री भन्छन् तपाईंसँग सेयर छ भने ज्वाइँ बनाउनेको लर्को लाग्छन् ।

अर्थ मन्त्रीज्यू,

विश्वकै महंगो ब्रोकर कमिसन घटाउनतिर खोइ पहल गर्नुभएको ? कमिसनलाई ०.१० % देखि ०.१५ % (हुन त यो पनि महँगो नै हो)सम्म गरिने छ भनेर बजेटमार्फत सम्वोधन गरिदिनुस् । राष्ट्र बैंकको अकर्मण्यताले गर्दाआज हामीले पुर्पुरोमा हात लगाउनु परेको छ । ७७ जिल्लाका नगरिक के नेपाली होइनन् ? तिनको खोइ पूँजी बजारमा पहुँच ? तपाईंले लगानीकर्ताका प्रतिनिधिसँगको भेटमा सबै नेपालीको सेयरमा लगानी होस्, एक-दुईवटा वण्ड पेपर घरमा होस्, केही रकम बैंक खातामा होस्, सेयर कसैको गोदाममा मात्रै थन्किनु पर्ने छ ? भनिरहँदा म पुलकित भएकी थिएँ । खोइ त्यतातर्फ पहलकदमी लिनुभएको ? अनलाइन ट्रेडिडङ समयमै ल्याउनको लागि पहल गरिदिनुस् ।

नेपालले पूँजीबजार लगानीकर्ता संघको भेटमा सफ्टवेयर बनाउने ‘यूमोरी’ प्रमुखले मेरो तर्फबाट समयमै सरकारलाई सफ्टवेयर हस्तान्तरण हुनेछ भन्नु भएको छ । कतै पेमेन्टको कारणले समयमा आउन नसक्ने त होइन ? बर्सेनी बजेटमार्फत एनआरएनलाई भित्राइने छ भनिन्छ । तर, कार्यविधि बनाइँदैन । उनीहरुले लगानी गरेपछि रिटर्न बाहिर लान खोज्छन् ।

के भोलेन्टिएर सर्भिसको लागि मात्रै लगानी गर्नु भन्न खोजिएको त होइन ? अनि अर्को कुरा बजारमा ठूला माछाले नानाभाँती हल्ला चलाएर साना माछालाई सकाउनै लागे, भ्याट, प्यान र सीजीटीको भूत देखाएर । यो किचकिच पुस्तौनी हो । यसलाई पनि बजेटमार्फत सेफ लियाण्डिङ गरिदिनुस् ।

अर्थमन्त्रीज्यू यहाँको केही दिन पहिलाको एउटा भाइरल भिडियोमा मैले पनि सुनेँ ‘चुरोट खाएको छ, स्कृनको अगाडि बसेको छ, सेयरको भाउ बढेन भनेको छ, के मैले सेयरको भाउ बढाइदिनुपर्ने ? तपाईंले यसो भनिरहँदा झण्डै २० लाख लगानीकर्ताको १७ खर्ब (२०७३ श्रावणमा २२ खर्ब थियो)लाई मजाक सम्झनु भएको हो ?

होइन तपाईंलाई सेयर मार्केटसँग साह्रै पेट पोलेकै छ भने बजेटमार्फत आजकै मितिदेखि सेयर कारोबारको दोस्रो बजार बन्द गरिएको छ भनी दिनुस् । गत डिसेम्बरमा चाइनाको सेयर मार्केटमा यस्तै फल आइरहँदा त्यहाँको अर्थमन्त्रीले नेशनल टिम खडा गरी ४५०० अंकसम्म बजारलाई ल्याउन टार्गेट दिएका थिए । नभन्दै आज चाइनिज सेयरमार्केटमा हेर्नुस् त कति सुधार भयो ?

तपाईंले पनि बजेटमार्फत चार लाइन लेखेर दिएर मार्केट मेकरको रुपमा कर्मचारी सञ्चय कोषलाई र नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा भित्राइ दिनुस् । बैंक व्याज हेर्नुस् त कहाँ पुग्यो ? ८ % मा लिएको सेयर कर्जा आज १६ % पुग्यो । के यो व्याज धान्न सक्छौं ? फास्ट ट्रयाकबाट विदेशी लगानी भित्राउन पहल गरिदिनुस् । मार्जिन खुकुलो गरी सेयर कर्जालाई ७० % पुर्‍याइदिनुस् । ताकि बजारका ठूला माछालाई छटपटी होस् । पक्कै पनि बजारमा फैलिएको हल्ला धेर थोर यहाँले पनि सुन्नु भएकै होला । समय घर्केपछि पछुताउनु र मरेको बाउलाई केरा खुवाउनु उस्तैउस्तै हो ।

आज जसरी देशले सक्षम सरकार पाएको छ, दुई तिहाइको यो सरकारले जे पनि गर्न सक्छ । तर सरकारमा रहनु हुने यहाँहरु जस्तो मन्त्रीको इच्छा शक्ति हुन जरुरी छ ।

संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निस्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको छ । नेपालको पूँजी बजार सतही रुपमा रहनुका साथै यसको दायरा संकुचित छ । पूँजीबजारमार्फत ठूलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।

तपाईंले भनेजस्तै कृषि, पर्यटन, हाइड्रो उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने रकम जुटाउने माध्यम त धितोपत्र बजार नै हो नि होइन र ? अनि कसरी धितोपत्र बजार अनुत्पादक क्षेत्र हुन्छ ? धितोपत्रको दोस्रो बजार नहुने हो भने प्राथमिक बजारमा कसले सेयर किन्छ र कम्पनीहरूले पूँजी संकलन गर्न सक्दछन् ? के उत्पादनशीलको नयाँ परिभाषाः स्वयं भएको पैसा सबका बैंकमा फिक्स डिपोजिटमा राख्ने, जग्गा जमिन र घर सकेसम्म जोड्ने, डलर साटेर थन्काउने अनि अरुलाई उत्पादनमुलक काममा लगानी गर भन्दै उपदेश दिँदै हिँड्ने ?

आज जनताहरु भन्न थालेका छन्, कि जनताबाट निर्वाचित जनप्रतिनिधिलाई मात्र सरकारमा मन्त्री बनाएको भए यसरी नकारात्मक अभिव्यक्ति दिएर बलेको आगोमा घ्यू थप्ने काम पक्कै पनि हुने थिएन । कुनै दिनको चर्चाले तपाईंलाई लोकपि्रयताको चुलीमा पुर्‍याएको थियो, तर आजको चर्चाले तपाईंलाई राजनीतिको सुली चढाउँदैछ । त्यसैले आज सबै कुरा ओझेलमा पर्नेगरी तपाईंकै चर्चा छ, सर्वत्र ।

०६६ सालमा गभर्नर छँदा तपाईंकै कार्यकालमा लगानीकर्ताले धेरै नै मार खेप्नुपरेको थियो । यसको अर्थ मैले विगतको कुरा गर्न लागेकी होइन, वर्तमानको पीडा यस पत्रमार्फत पोखेकी मात्र हुँ । तपाईंप्रतिको आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंलाई बीबीसीमा दिएको अन्तरवार्ता नै अभिसाप बन्न पुगिदियो । तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्डै झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।

श्वेतपत्रमार्फत पूँजीबजारलाई समेटनु हुनेछ र २० लाख लगानीकर्तालाई मलमपट्टी लगाउन चाहनुहुन्छ भने तपाईंसँग जनताको ठूलो अपेक्षा थियो तर हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो र हामीलाई खुइल्याइदिनु भो । तपाईंहरूको ब्यक्तिगत अहं तुष्टिका लागि हामी नागरिक तपाईंहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईंहरूको वादको बन्दी बनिरहने ? युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

यही जेठ १५ गते इतिहासकै शक्तिशाली आउन लागेको बजेटमा सीजीटी, भ्याट र प्यानको भूतबाट फेरि साना लगानीकर्ता मारमा पर्दैछन् । यसर्थ पुँजी बजारलाई अबको बजेटबाट सधैं भूतले झै तर्साउने यस्ता कुराहरु किनारा लाउनुपर्छ २० लाख लगानीकर्ताको मलमपट्टी बन्नु हुन्छ या त पेटमा लात हान्नु हुन्छ तपाईंकै हातमा छ ।

समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । नसम्झनु होला, यो परीक्षा विरोधीको मात्र हो, यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ ।

(पोखरेल नेपाल पूँजीबजार लगानीकर्ता संघकी उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment