Comments Add Comment

कांग्रेसको ‘महोदय ज्यू’ र मधेसवादीको संविधान संशोधनमा प्रधानमन्त्रीको के आउला जवाफ ?

संसदका दुवै सदनमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेशवादी दलका सांसदले नीति तथा कार्यक्रममाथि संशोधन समेत हालेका छन् । विशेष गरि कांग्रेसले राष्ट्रपतिबाट सम्बोधन हुने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै संशोधन हालेको छ ।

कांग्रेसले नीति तथा कार्यक्रमका अन्य विषयमा भन्दा पनि राष्ट्रपतिले सभामुख महोदय र अध्यक्ष ज्यू नभएको कुरालाई संसदमा पनि महत्वका साथ उठाएको छ । स्वयं कांग्रेस सभापति शेरवहादुर देउवाले समेत नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा यो विषय उठाएका थिए ।

सरकारले भने संघीय संसद सचिवालयको संयन्त्रले दिएको राय सुझाव र संसदले बनाएको बिधी अनुसारनै राष्ट्रपतिको सम्बोधन तय भएको बताइसकेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले अनलाइनखबरमार्फत कांग्रेसले उठाएको सम्बोधन विवाद औचित्यहीन रहेको बताएका थिए ।

प्रधानमन्त्रीले आज यस विषयमा पनि जवाफ दिनेछन् । नीति तथा कार्यक्रममाथि छलफलका क्रममा मधेशवादी दलले संविधान संशोधनको प्रतिबद्धता नआएको बताएका छन् । उनीहरुले यस विषयमा संशोधन समेत हालेका छन् ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । नीति तथा कार्यक्रममाथि बिभिन्न ६ वटा संशोधन पेश भएका छन् ।

संसदमा सरकारको पक्षमा सुबिधाजनक बहुमत रहेकाले ती संशोधन पास हुने सम्भावना छैन । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले सोही कार्यक्रम कार्यन्वयनका लागि जेठ १५ गते बजेट पेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment