Comments Add Comment

सुध्रिएनन् सार्वजनिक संस्थान, ११ वटा अझै घाटामा

१९ वटा संस्थान सञ्चित नोक्सानीमा, जनक शिक्षा चरम घाटामा


१३ जेठ, काठमाडौ । सरकारको लगानी रहेका विभिन्न सार्वजनिक संस्थानहरुको वित्तीय अवस्थामा अझै सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालनमा रहेका ३७ वटा संस्थानमध्ये ११ वटा संस्थानहरु घाटामा रहेको देखिन्छन् ।

गत आर्थिक वर्षमा १३ वटा संस्थानहरु घाटामा थिए । तर, सञ्चालनमा रहेका संस्थानहरुको संख्या अहिले ३७ पुगेको छ, जुन अघिल्लो वर्ष ३५ थियो ।

२०७४ को जेठमा दुईवटा सार्वजनिक संस्थानहरु राष्ट्रिय प्रशारण गि्रड कम्पनी र विद्युत उत्पादन कम्पनी थपिएका थिए ।

सञ्चित नोक्सानी भएका संस्थानहरुको संख्या पनि गत आर्थिक वर्षको तुलनामा बढेको देखिन्छ । आर्थिक सर्वेक्षणका अनुसार गत आर्थिक वर्षमा सञ्चित नोक्सानी भएका सस्थानको संख्या १७ रहेकोमा यसपाली बढेर १९ पुगेको छ ।

नोक्सानीका हिसाबले हेर्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सबैभन्दा घाटामा चलिरहेको छ । यो बाहेक दुग्ध विकास संस्थान, खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट सवैभन्दा बढी घाटामा छन् ।

चालु आर्थिक वर्षको सर्वेक्षणअनुसार जनक शिक्षा सामाग्रीको चालु आर्थिक वर्षमा ३१ करोड ६२ लाख पुगेको छ । दुग्ध विकास संस्थानको नोक्सानी २१ करोड ३९ लाख छ भने नेपाल खानेपानी सस्थानको २० करोड ७९ लाख रुपैयाँ छ ।

त्यसैगरी नेपाल औषधी लिमिटेड १३ करोड ८७ लाख घाटामा देखिन्छ । नेपाल म्याग्नेसाइट कम्पनी यो वर्ष ११ करोड ९५ लाख घाटामा देखिन्छ । यसरी हेर्दा ५ वटा संस्थानहरु यो वर्ष ९९ करोड ६२ लाख घाटामा गएका छन् ।

सञ्चित नोक्सानीका हिसाबले हेर्ने हो भने नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि अग्रस्थानमा छ । चालु आर्थिक वर्षसम्ममा यसको सञ्चित नोक्सानी ४ अर्ब ४२ करोड ७२ लाख पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

२०५८ सालदेखि खरिढुंगा उत्खनन् कार्य बन्द भएपश्चात यसले कुनै व्यवसायिक उत्पादन गरेको छैन ।

जनक शिक्षा सामाग्री केन्द्रको सञ्चित नोक्सानी २ अर्ब ७ करोड ७४ लाख पुगेको छ । त्यसैगरि दूग्ध विकास सस्थानको खुद नोक्सानी ५४ करोड ९९ लाख पुगेको छ । खानेपानी संस्थानको सञ्चीत नोक्सानी १ अर्ब २० करोड लाख छ ।

नेपाल औषधि लिमिटेडको सञ्चित नोक्सानी १ अर्ब ४४ करोड ९९ लाख रहेको छ । चालु आर्थिक वर्षमा यसको सञ्चालन आय १५ लाख मात्रै छ ।

२६ वटा संस्थानहरु नाफामा

चालु आर्थिक वर्षमा २६ वटा संस्थानहरु भने नाफामा गएका छन् । गत आर्थिक वर्ष २०७३/०७४ मा २३ वटा संस्थानहरु नाफामा थिए भने यसपाली बढेर २६ वटा संस्थानहरु नाफामा गएको देखिन्छ ।

आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा रहेको ३५ संस्थानमध्ये १२ वटा घाटामा थिए । आर्थिक सर्वेक्षणअनुसार सस्थानहरुको सञ्चालन आय गत आर्थिक वष २०७२/०७३ को तुलनामा ३३.९ प्रतिशतले वृद्धि भएको छ । संस्थानहरुको खुद नाफामा भने गत आर्थिक वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भएको छ ।

खुदनाफाका हिसाबले यस वर्ष नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेकिलम अग्रस्थानमा छ । टेलिकमले चालु आर्थिक वर्षमा १५ अर्ब ३७ करोड २८ लाख खुद मुनाफा कमाएको छ । यसको सञ्चित नाफा भने ७६ अर्ब ३३ करोड रहेको छ ।

उच्चतम नाफा गर्ने सस्थानहरुमा दुरसञ्चारसँगै, नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक पनि रहेका छन् । नेपाल आयल निगम लिमिटेडले चालु आर्थिक वर्षमा १० अर्ब ४१ करोड मुनाफा कमाएको छ भने अहिलेसम्म यसको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment