Comments Add Comment

डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार

तीन दिनमा एक पटक आउँछ धारामा पानी

१३ जेठ, डडेल्धुरा । डडेल्धुरमा सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ ।

गर्मी मौसम सुरु भएसँगै मुहान सुकेपछि खानेपानीको हाहाकार खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष रवि केसीले जानकारी दिए ।

सदरमुकाममा रहेका १०० घरधुरीको लागि ०५५ सालमा स्थापना भएको खलंगा खानेपानीलाई जनघनत्व बढेर अहिले १२ सय ५० घरधुरी पुगेकाले पानी पुर्‍याउन समस्या भएको छ ।

सदरमुकाम खलंगाबाट वितरण गरिने खानेपानि योजनाको मुहान १९.५ किलो मटर टाढा अमरगढी २ को मातारामा रहेको छ ।

पछिल्लो १० वर्षमा सदरमुकाम क्षेत्रको जनसंख्या दोब्बरले बृद्धि भएर जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरु बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

ट्याङ्कीमा पानीको मात्रा कम भएकाले बुधबारबाट तीन दिनमा एक पटक मात्रै उपभोक्तालाई पानी दिने व्यवस्था मिलाइएको अध्यक्ष रवि केसीको भनाइ छ ।

तत्कालका लागि तीन दिनमा एक पटक पानी दिने व्यवस्था मिलाएको र मुहानमा पानीको मात्रा बढेपछि नियमित रुपमा दिनको एक पटक पानी उपलब्ध गराउने उनले जानकारी दिए ।

खलंगा खानेपानी उपाभोक्त समितिसँग भएको १२ फिटको ट्याङ्कीमा अहिले ४ फिट मात्रै पानी संचित भइरहेको जनाइएको छ ।

सदरमुकामवासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन् । मूल तथा खोलाको फोहर पानीका लागिसमेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन ।

पानीका लागि सदरमुकामबाट टाढा रहेका खोला तथा न्वौलामा गएर नुहाइधुवाई गर्ने गरेको डेरामा बसिरहेका प्रज्वल भट्टको भनाइ छ । ‘शनिवार विद्यालयको विदा हुन्छ त्यो दिन बाईमा घण्टौको यात्रा गरेर सबै कपडा धुन जाने गरेको छु’ उनले भने ‘आजाभोली त जारको पानी किनेर खानुपर्ने अवस्था छ ।’ कहिले काँही त सौचालय जान पनि पानी नहुने उनको गुनासो छ ।

अहिले डडेल्धुराका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ । होटलमा पानी नहुँदा बास बस्न आएका ग्राहक पनि फर्किने गरेको डडेल्धुरन होटल व्यवसाय संघका अध्यक्ष सुदाम थापाले बताए । उनले भने ‘होटमा आएका गेष्टले पानी नपाएर किचकिच गर्छन, होटल संचालन गर्न ट््याकंरबाट पानी किन्नुपर्ने बाध्यता छ ।’

अध्यक्ष भन्छनः ‘अब १४ महिना मात्र’

केही वर्ष अघिदेखीे खानेपानी समस्या भोग्दै आइरहेका डडेल्धुरा सदरमुकामका वासीले अब राहत पाउने भएको छन् ।

केही वर्ष यता अव्यवस्थित रुपमा बसोवास बढेर खानेपानीको हाहाकार भएपछि डडेल्धुरा सदरमुकाममा साना शहरी खानेपानी योजना निर्माण गर्न लागेको छ ।

१८ महिनामा काम सम्पन्न गर्ने गरी डडेल्धुरा सदरमुकाम अमरगढीमा साना शहरी खानेपानी योजनाको काम सञ्चालन थालिएको हो । ३० करोड ६२ लाख लागतमा निर्माण भई रहेको योजना निर्माण कार्य १८ महिनामा सकिने बताइएको छ ।

कुल ३० करोड ६२ लाख मध्ये ७० प्रतिशत एसीयाली विकास बैँक, २५ प्रतिशत साना सहरी तथा खानेपानी आयोजना र ५ प्रतिशत खलंगा खानेपानीका उपभोक्ताको लागत रहेको छ ।

खलंगा खानेपानीको ट्याङकीमा अहिले ६ लिटर प्रतिसेकेन्ड पानी आइहेकोमा साना सहरी योजना सम्मन्न भएपछि १५ लिटर प्रतिसेेकेन्ड आउने भएकाले २४ घण्टा पानी वितरण गर्न सकिने खलंगा खानेपानी उपाभोक्त समितिकाका अध्यक्ष रवि केसीले बताए । उनले भने, ‘ अबको १८ महिना मात्र यँहाका स्थानीयलाई सास्ती छ, यो योजना सम्पन्न भएपछि सबैले २४ औ घण्टा खानेपानी पाउनेछन ।’

विगत ४ महीनादेखी योजनाको काम दु्रतगतीमा भइरहेको र अहिले मुहानमा ईन्टेक निर्माणका लागि आवश्यक सामाग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलंगामा पनि ट्यांकि निर्माणको कार्य थालेको उनको भनाइ छ ।

साना सहरी तथा खानेपानीको उक्त योजना सम्पन्न भएपछि १३ सय धाराबाट खानेपानी वितरण हुनेभए पनि त्यसको क्षमता १५ सय धारा रहनेे बताइएको छ ।

नगरपालिकाले दियो केही राहत

सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि अमरगढी नगरपालिकाले निःशुल्क पानी वितरण गर्न थालेकोे छ । नगरपालिका सदरमुकाममा खानेपानीको चरम अभाव भएपछि स्थानीयलाको सहजताका लागि शुक्रबारदेखि नगरपालिकाले दमकलबाट पानी वितरण गर्न शुरु गरेको हो ।

खोलाबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई पानी वितराण गरिँदैछ ।

खोलाबाट ल्याइएको पानी नगरवासीहरुले लुगाकपडा धुन तथा सरसफाइमा प्रयोग गरिरहेका छन्। नगरपालिकाले आˆनै दमकलमा पानी ल्याइ प्रतिव्यक्ति २० देखि ५० लिटरसम्म पानी वितरण गरिरहेको अमरगढी नगरपालिकाले जनाएको छ ।

दमकलमा पानी ल्याइ सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुर, खलंंगालगायतका क्षेत्रमा पानीको वितरण गरिरहेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।

खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उदेश्यले नगरपालिकाको आˆनै दमकलबाट निःशुल्क रुपमा नगरबासीलाई पानी वितरण गरिरहेको नगर प्रमुख ओझाको भनाइ छ ।

खानेपानीको हाहाकार मच्चिएका बेला नगरपालिकाले पानी वितरण गरेपछि यहाँ नागरिकलाई केही राहत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment