Comments Add Comment

संसदमा क्रमभंग : नीति तथा कार्यक्रमलाई कांग्रेसले पनि दियो समर्थन

समृद्धिको सपना हाम्रो पनि-खाँड, सबैका आकांक्षा सम्बोधन हुन्छन्-पौडेल

तस्वीर : रासस

१३ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा प्रमुख विपक्षी नेता शेरबहादुर देउवाको आक्रोश र कांग्रेस सांसदहरुको संशोधनले सत्ता र विपक्षबीच सहमतिको कुनै सम्भावना देखिएको थिएन ।

प्रधानमन्त्रीले जवाफ दिएपछि पनि कांग्रेस सांसद मिनेन्द्र रिजालले आफ्नो संशोधन फिर्ता नलिएपछि मतदानबाट टुंगो लगाइयो ।

तर लगत्तै सभामुख कृष्णवहादुर महराले आर्थिक वर्ष २०७५/७६ कोलागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने आवाज विपक्षी बेन्चबाट आएन । सभामुखले ‘यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्’ भन्दा कसैको आवाज आएन ।

हुन्न भन्ने आवाज नआएपछि सत्तापक्षका सांसदहरुले र मन्त्रीहरुले विपक्षी बेञ्चतिर हेरे । कांग्रेस सांसदहरुले मौनतापूर्वक नीति तथा कार्यक्रमको समर्थन गरे । हुन्छ भन्ने सांसदहरुको स्वर गुन्जिएसँगै सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।

नेपालको संसदीय इतिहासमा अपवादबाहेक सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षले समेत समर्थन गरेको यो सम्भवतः पहिलो अभ्यास हो । सबै दलहरु सम्मिलित अन्तरिम सरकारलाई अपवाद मान्ने हो भने,सत्तापक्ष र प्रतिपक्ष भएको बेला नीति तथा कार्यक्रममा प्रतिपक्षले हुन्न भन्ने गरेको पाइन्छ ।

सत्तापक्ष भन्छ -परम्पराको क्रमभंग

चार पटक सभामुख भइसकेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका अनुसार २०४८ सालपछि सत्तापक्ष र प्रतिपक्ष भएको अवस्थामा सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको पहिलो पटक हो । यसले नेपालको संसदीय अभ्यासलाई सकारात्मक ढंगले क्रमभंग गरेको नेम्वाङले बताए ।

सरकारले राम्रो काम गर्न खोज्दा र राम्रो नीति तथा कार्यक्रम ल्याउँदा पनि विपक्षीको धर्म निर्वाह गर्न विपक्षमा मतदान गर्ने प्रचलन तोडिएको प्रतिक्रिया उनले दिए । आफूले पनि रोष्टमबाटै विपक्षलाई यस्तो आग्रह गरेको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएपछि सत्तापक्ष उत्साहित देखिएको छ । २०४८ सालपछि संसदमा प्रतिपक्ष पनि सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिएको पहिलो घटना भन्दै नेकपाले सबैका आकांक्षा पूरा गरिने आश्वासन दिएको छ ।

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले संसदीय अभ्यसमै पहिलोे पटक सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित हुनु सुखद पक्ष रहेको बताए । उनले प्रधानमन्त्रीले सबैका गुनासाहरु सम्बोधन गरिने आश्वासनसहित सर्वसम्मत बनाउन गरेको आग्रह विपक्षले स्वीकार गरेको बताए ।

पौडेलले भने ‘यो पहिलो पटक हो प्रतिपक्षले पनि नीति तथा कार्यक्रमको विपक्षमा मत दिएन । हामीले पनि आआफ्ना ठाउँबाट पहल गर्‍यौं । प्रधानमन्त्रीले पनि आग्रह गर्नुभयो । कतिपय पार्टीले संशोधन प्रस्तावनै फिर्ता लिनुभयो । सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित हुनु महत्वपूर्ण घटना हो ।’

कांग्रेसले भन्यो-सर्वसम्मत गराएकै हो

प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले तीब्र विकासमार्फत सुखी नेपाली, समृद्ध नेपाल बन्ने कुरामा कांग्रेसको विरोध नरहेकाले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गर्न सघाएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘सरकारको नीति र कार्यक्रममा धेरै कमजोरी थिए । हाम्रा सांसदले संशोधन पनि राख्नुभयो ।

प्रधानमन्त्रीज्यूले कतिपय कुरा रियलाइज पनि गर्नुभयो । अब कार्यन्वयन गर्ने काम सरकारको भएकाले नीति तथा कार्यक्रम पारित गर्दा हुन्न भन्ने आवाज राखेनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment