Comments Add Comment

राजदूतसँग प्रवासी नेपालीको प्रश्न- स्पेनमा दूतावास त आयो, समस्या किन हटेन ?


बार्सिलोना । स्पेनमा नेपाली दूतावासस स्थापना भए पनि नेपालीहरुले भोग्ने समस्याहरु यथावत रहेको भन्दै त्यहाँ रहेका नेपालीहरुले राजदूतसँग गुनासो पोखेका छन्।

दिल्लीमा रहेको स्पेनिस दूताबास तथा काठमाडौंस्थित कन्सुलर सेवा प्रभावकारी नभएको भन्दै राजदूत समक्ष स्पेनबासीहरुले गुनासो पोखेका हुन्।

एनआरएनए स्पेनले शुक्रबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत भरतबहादुर रायमाझीलाई सम्बोधन गर्दै समस्या समाधानका लागि पहलकदमी चाल्न उनीहरुले अनुरोध गरे।

व्यवसायी रमेश निरौलाले दूतावास स्थापना भएकोमा स्वागत गर्दै परिवार पुनर्मिलनका लागि स्पेनस्थित दिल्ली दूतावासले अनावश्यक झन्झट दिँदै आएको बताए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनका पूर्वमहासचिव विष्णु रिजालले काठमाडौंमा रहेको स्पेनिस कन्सुलर सेवाले समेत दुःख दिइरहेको गुनासो गरे ।

आवश्यक कागजपत्रमा छाप तथा हस्ताक्षरका लागि कन्सुलर सेवाले दुःख दिदै आए पनि दूतावासले ध्यानकेन्द्रित नगरेको आरोप उनले लगाए ।

अन्तरक्रियामा सहभागीहरुले परिवार पुनर्मिलनका लागि बत्तीसपुतली काठमाडौंमा रहेको स्पेनिस कन्सुलेटको कार्यालयबाट प्रक्रिया अगाडि बढे दिल्लीस्थित दूतावास धाइरहनु नपर्ने भन्दै राजदूतको ध्यानआकर्षण समेत गराएका थिए। नेपाल सरकारले चासो राखेर स्पेन सरकारसँग कूटनीतिक पहल गर्न सकेको खण्डमा यो प्रक्रिया सम्भव रहेको समेत उनीहरुले बताए।

म्याड्रिडमा दूतावास स्थापना भएपछि पहिलोपटक बार्सिलोना आएका राजदूत रायमाझीले सबै समस्याहरुको समाधनका लागि सम्बन्धित निकायमा पुग्न आफू तयार गरेको बताए।

एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment