Comments Add Comment

मधुशाला: मधुर धुनसँगै स्वादिलो खाना

जसै साँझ ढल्दै जान्छ, दरबारमार्गमा थरीथरीका गीतहरूको एकमुष्ठ धुन गुञ्जन थाल्छ । यो मादक साँझमा मधुर ध्वनि पछ्याउँदै जाँदा पुगिन्छ मधुशाला ।

मधुशाला । यो नाम सुन्नासाथ तपार्इ हरिवंश रायको चर्चित कृति सम्झिहनुभएको होला !

‘मधुर भावनाओं की सुमधुर नित्य बनाता हूँ हाला,

भरता हूँ इस मधु से अपने अन्तरका प्यासा प्याला

उठा कल्पना के हाथों से स्वयं उसे पी जाता हूँ,

अपने ही में हूँ मैं साकी, पीनेवाला, मधुशाला ।’

माथिका हरफहरू गुनगुनाउँदै जब तपाई ‘मधुशाला गीत-गजल रेष्टुरेन्ट एन्ड बार’ प्रवेश गर्नुहुन्छ, साँच्चै नै तपाईलाई मधुर संगीतले स्वागत गर्छ । ढोकाबाट प्रवेश गरिरहँदा दायाँतर्फको मञ्चमा संगीत-समूह देखिनेछ । र, त्यही मञ्चमा भेटिनेछन्, युगल संगीतका चर्चित जोडी उदय सोताङ र मनिला सोताङ ।

‘तिमी बिना बाच्नै गाह्रो भो’, ‘माया नमार है, माया नमार’, ‘उकाली चढौंला’ मा भाका हालिरहेका । सोझै भनौं, यही जोडीले सञ्चालन गरेको रेष्टुरेन्ट हो यो । त्यसैले यहाँको खास खुराक संगीत नै हो । संगीतले आँत त रसाउँछ तर भरिँदैन । आँत भर्नका लागि थरीथरीका परिकार नखाई भो त ?

भेज सिजलरदेखि पोर्क ग्रील्ड चपसम्म

मधुशालाको मेनुमा तपाईंले थरीथरीका खान्की चाख्न सक्नुहुनेछ । संगीतमा झुम्दै पोर्क चप चपाए भो, ग्रील्ड चिकेनले मुख मिठ्याए भो ।

रेष्टुरेन्टमा रैथाने स्वादको खान्कीदेखि कन्टिनेन्टल परिकारसम्म उपलब्ध छ यहाँ । त्यसबाहेक पनि यस्ता केही परिकार छन्, जुन अन्यत्र सायदै पाइएला । किनभने यी परिकार मधुशालाले आफ्नै स्वादमा तयार पारेको हो । सेफ सुवास कार्की भन्छन्, ‘केही परिकारलाई हामीले फरक स्वादले डिजाइन गरेका छौँ ।’

जस्तो कि, मिक्स नन भेज प्लाटर, चिकेन सासलिक, पोर्क ग्रील्ड चप, भेज सिजलर । हुन त यी परिकार अन्यत्रको मेनुमा पनि पाइन्छ । तर, ‘मधुशाला’को थालीमा भने यसको स्वाद फरक लाग्नेछ ।

मिक्स नन भेज प्लाटरमा तन्दुरी चिकेन, चिकेन टिक्का, फिस तावा, प्राउन तन्दुरी, मटन सेकुवा, प|mेन्च प|mाई, भेजिटेबल छ । यसलाई ताजा कागती र मिन्ट ससले थप तिख्खर स्वादको बनाउँछ ।

मधुशालामा धेरै माग हुने परिकार भनेको चिकेन सासली हो । कुखुराको छातीको मासुबाट बन्ने यो परिकारको कम्बिनेसन कुनै पेयसँग मिलाउन सकिन्छ । पोर्क ग्रील्ड चप पनि निकै रुचाइएको छ । यस्तै चिकेन ग्रील्ड, भेज सिजलरको स्वाद लिन सकिनेछ ।

पारिवारिक रेष्टुरेन्ट

रात्रिकालीन रेष्टुरेन्टहरूमा अलि बढी नै तडकभडक हुन्छ । चर्को ध्वनि, होहल्ला हुन्छ । तर, मधुशालाको माहौल भिन्न छ । यहाँ मधुर संगीतमा थरीथरीका खानपानले जिब्रोको तलतल मेटाउन सकिन्छ ।

मधुशाला पारिवारिक रेष्टुरेन्ट हो । पारिवारिक जमघटका लागि यहाँ तपाईले उपयुक्त वातावरण पाउनुहुनेछ । म्यानेजर राजनप्रसाद तिवारी भन्छन्- ‘रेष्टुरेन्टको आन्तरिक सज्जा पनि पारिवारिक जमघटलाई लक्ष्य गरेर तयार गरिएको छ ।’ व्यस्त दिनचर्याबीच पारिवारिक विश्राम लिनका लागि मधुशाला उपयुक्त गन्तव्य हुनसक्छ । तपाई दिनभरको दौडधुपबाट थकित ज्यानलाई केही समय भए पनि रिफ्रेस गर्न चाहनुहुन्छ भने, मधुशाला पुगे हुन्छ ।

त्यसो त जन्मदिन लगायत विशेष अवसरमा खुसी साट्नका लागि पनि मधुशाला उपयुक्त हुन्छ । यहाँ विशेष अवसरमा विशेष सांगीतिक कार्यक्रम हुन्छ ।

मधुशालामा ऊ अनि म

उदय सोताङको ‘म’ शब्दसँग बेग्लै अट्याचमेन्ट छ । उनकी जीवनसंगिनी, मनिला जसको नाम ‘म’बाट सुरु हुन्छ । उनीहरूलाई स्थापित गराउने एल्बम थियो, मर्म । गीत, ‘माया नमार ।’

‘म’सँगको यही घनिष्ठताले होला, उदयले दरबारमार्गमा रेष्टुरेन्ट स्थापना गरे । र, नाम जुराए, मधुशाला ।

गायन जोडीले सञ्चालन गरेको रेष्टुरेन्टमा गीत-संगीत सुन्न पाइने नै भयो । यसका लागि उदय-मनिलासँगै छुटै गायन टोली छन् ।

रेष्टुरेन्टमा जीवन कलाप्रेमी, सरला पिसीले सांगीतिक खुराक पस्कन्छन् । बाद्यवादनको कुरा गर्दा लिड गीतारमा आगा लामा, किबोर्डमा अशोक दास, तबलामा गौतम श्रेष्ठ तथा प्याड ड्रममा भूपेन्द्रले साथ दिन्छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment