Comments Add Comment

डा. लोचन अर्थात डाक्टर कुट्ने गिरोहविरुद्धको ‘लडाकू’

'बुबा भन्नुहुन्थ्यो, डाक्टर भनेका आधुनिक धामी हुन्'

मानिसहरुको भीडमा उनी आफूलाई चिकित्सकका रुपमा चिनाउन चाहँदैनन् । अस्पताल या क्लिनिकको कुरा बेग्लै होला, तर समाजमा घुलमिल हुन उनी आफूलाई डा. लोचन कार्की होइन, केवल ‘लोचन’ भनेर चिनाउन रुचाउँछन् ।

‘आफूलाई डाक्टरको रुपमा चिनाउँदा अरुसँगको सम्बन्धमा एउटा पर्खाल खडा भएजस्तो लाग्छ । म विशेष मान्छेका रुपमा होइन, आम मान्छेकै रुपमा मानिसहरुसँग सम्बन्ध राख्न रुचाउँछु’, डा लोचन भन्छन् ।

उनको परिचय ‘लोचन’मा मात्र सीमित भने छैन । पेसाले जनरल फिजिसियन (इन्टरनल मेडिसिन) डा. लोचन हाल वीर अस्पतालमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् । नेपाल चिकित्सक संघमा महासचिवको कार्यभार पनि उनकै काँधमा छ । उनी सिनामंगलस्थित नोबेल हस्पिटलका मेडिकल डाइरेक्टर पनि हुन् ।

राजनीतिमा लगाव

नेपाल चिकित्सक संघ महासचिव बनेदेखि कार्की चिकित्सकहरूको हकहित तथा अधिकारका लागि लड्दै आएका छन् । यो प्रेरणा भने उनले सानैदेखि पाएका हुन् । लोचनमा सानैदेखि राजनीतिको प्रभाव रह्यो । बुवा तोरण कार्की तात्कालीन प्रतिवन्धित नेपाली कांग्रेसका तर्फबाट प्रजातन्त्र स्थापनाको संघर्षमा होमिएका थिए ।

आन्दोलनका गोप्य वार्ता तथा छलफल उनकै घरमा हुन्थ्यो ।  जसले गर्दा कलिलै उमेरमा लोचनमा एक किसिमको राजनीतिक सचेतना जागृत भइसकेको थियो । उनमा राजनीतिप्रति विशेष लगाव पनि थियो ।

प्रतिवन्धित अवस्थामा उनी रातभर बाहिर गएर पर्चाहरू बाँड्थे । २०४८ सालमा कक्षा आठमा पढ्दा उनले नेपाल विद्यार्थी संघको स्कुल प्रतिनिधि भएर भोट हालेका थिए ।

‘गिरोहले ठाउँ-ठाउँमा आफ्नो मान्छे राख्दोरहेछ । कुनै विरामी मर्न लाग्यो भन्ने सुन्नासाथ पैसाको बार्गेनिङ गर्दोरहेछ । पैसा उठाउने, नभए तोडफोड गर्ने र उठाएको पैसामध्ये पनि थोरै रकम विरामी पक्षलाई दिएर धेरै आफूले राख्ने प्रवृत्तिको विकास भइदियो’

‘राजनीतिमा चाहिनेभन्दा बढी सक्रिय भएछु । परिवारका सदस्य र बुवाका साथीहरूले समेत मलाई राजनीतिभन्दा पढाइमा बढी केन्दि्रत हुन सुझाव दिनु परेको थियो’, लोचन सम्झन्छन् ।

विराटनगरस्थित सेन्ट जोसेफ स्कुलबाट एसएलसी पास गरेका लोचन उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । टंगालस्थित काठमाडौं विश्वविद्यालयमा आईएस्सी भर्ना भए । कलेज पढ्दा पनि उनलाई राजनीतिको रन्कोले छाडेन । यही कलेजमा पढ्दा उनी स्टुडेन्ट वेलफेयर काउन्सिल (विद्यार्थीहरूको हकहितका लागि लड्ने संस्था)को प्रतिनिधि पनि भए ।

डेरा नपाउँदाको निराशा

काठमाडौमा डेरा पाउन मुस्किल । कहिल्यै घर नछोडेको मान्छे, फेरि पहिलो पटक काठमाडौं आएका । लोचनलाई सुरुमा त डेरा पाउनै धौधौ भयो । डेरा नभेटेकै कारण उनले करिब एक महिना होटलमा बस्नुपरेको थियो ।

जति खोज्दा पनि डेरा नपाएपछि लोचन कुन हदसम्म ‘फ्रस्ट्रेट’ भए भने उनले विज्ञान विषय छोड्नेसम्मको सोच बनाए । र बुवासँग यसबारेमा सल्लाह मागे ।

बुबालाई आफ्नो एक्लो छोरो डाक्टर भएको हेर्ने रहर पटक्कै थिएन । आफू पनि सक्रिय राजनीतिमा लागेकाले छोरो प्रशासक वा राजनीतिज्ञ बनोस् भन्ने बुबाको चाहना थियो ।

‘हेर छोरा, डाक्टर भनेका आधुनिक धामी हुन् । इञ्जिनियर भनेका आधुनिक कामी हुन् । यो कुनै ठूलो पद होइन । आधुनिक धामी र आधुनिक कामी सबैलाई कजाउने भनेको कि त प्रशासनमा बस्नेले हो कि त नीतिनिर्माण तहमा बस्ने राजनीतिज्ञले हो,’ बुवाको सल्लाह रह्यो ।

हजुरआमा तथा आमालाई पनि छोरा-नाति चिकित्सक भएको हेर्ने कुनै रहर थिएन । विशेषगरी, मोटो किताब तथा ठूलो बुवाले गरेको मेहनतका कारण अभिभावकका दृष्टिमा चिकित्सक हुनु भनेको ‘दुःखी पेसा’ अपनाउनु हो भन्ने थियो । तैपनि लोचनले विज्ञान विषयको पढाइ छाडेनन्, बरु एमबीबीएस पढेरै छाडने संकल्प लिए ।

ठूलो बुवाको प्रेरणाले डाक्टर

स्कुल पढ्दै गर्दा लोचनको मनमा पनि इञ्जिनियर तथा पाइलट बन्ने चाहना नपलाएको होइन । पाइलट बन्नकै लागि उनले केही प्रक्रियासमेत पूरा गरिसकेका थिए । भारतीय दूतावासको छात्रवृत्तिमा समेत उनले नाम निकाले ।

तर, उनको अभ्यन्तरमा डाक्टर बन्ने रहर गडेको थियो । सानैदेखि ठूलो बुवा (कन्सल्टेन्ट साइकियाटि्रस) बाट उनी प्रभावित थिए । ठूलो बुवाकहाँ जचाउन गाउँघरका मानिसको ओइरो लागेको उनले देखेका थिए । एक त त्यसबेला चिकित्सक धेरै थिएनन् । ठूलो बुवामा बेलायतको अनुभवसमेत भएकाले गाउँमा उनको ठूलै मान थियो ।

ठूलोबुवाको क्लिनिकमा भीड लागेको देख्दा लोचनलाई चिकित्सा पेसा निकै सम्मानित, मर्यादित तथा सेवा प्रदायक पेसा रहेछ भन्ने बोध भयो । राजनीतिक पृष्ठभूमि भएका लोचनलाई लाग्यो, चिकित्सा पेसालाई जनतासित नजिक हुने तथा आफूले चाहेको खण्डमा निःस्वार्थ भावनाले सेवा गर्न सकिने पेसा रहेछ । अन्ततः उनले चिकित्सा पेसा नै अँगाल्ने सोच बनाए ।

एमडी नपढ्दै झरे कपाल

चिकित्सा पेशा पढ्ने निधो गरेपछि लोचनले यसबारेमा ठूलो बुवासँग सल्लाह मागे । तर ठूलो बुवाबाट पनि सकारात्मक सल्लाह पाएनन् उनले ।

‘बाबु यो धेरै दुःखको पेसा हो । यो पेसामा लागेर धेरै पैसा कमाउँछु भन्ने लाग्छ भने भुलेर पनि यो पेसामा नआउनू । बरु विजनेसतिर जानू’, साइक्याटि्रक्स ठूलो बुवाले दिएको सल्लाह उनले सम्झिए ।

नभन्दै, ठूला बुवाको वाणी सत्य सावित भएको लाग्यो उनलाई । एमबीबीएस अध्ययनका लागि बंगलादेशस्थित चिटगाउँ विश्वविद्यालयमा भर्ना भएपछि लोचनका दुःख तथा संघर्षका दिन सुरु भए ।  दिनरात नभनी पढ्नुपर्ने । अभ्यासका लागि रातरात भर ड्युटी गर्नुपर्ने । उस्तै परे ७२ घण्टासम्म पनि ड्युटी गर्नुपर्ने कारण पनि उनले विद्यार्थी जीवनमा धेरै संघर्ष गर्नुपर्‍यो ।

‘दुःख कति गरियो भने वीर अस्पतालमा एमडी सुरु गरेदेखि नै होला शायद मेरो कपाल र्झन थालेको’, उनी ठट्यौली पारामा भन्छन् ।

डाक्टर कुट्ने ‘गिरोह’

अस्पालमा बिरामीको मृत्यु भएको बहानामा पछिल्लो समय चिकित्सक कुट्ने प्रवृत्ति बढेसँगै मर्यादित तथा सम्मानित पेसा भइकन पनि यस पेसामा चुनौती थपिँदै गएको डा. लोचनको अनुभव छ ।

‘०६२/६३ पश्चात्त देशको परिस्थिति भिन्न भयो । स्कुल तथा कलेज बन्द गरेर, तर्साएर, धम्काएर तथा तोडफोड गरेर जे कुरा पनि पुग्छ भन्ने संस्कृति विकास हुँदै गयो । देशमा कानुन भएपनि त्यसलाई सही तरिकाले लागू गर्न सकिएन,’ डा. लोचन भन्छन् ।

डा. लोचनका अनुसार एउटा यस्तो गिरोहको जन्म भयो, जुन गिरोहले विरामी र तिनका आफन्तको संवेदना भड्काएर कमाउने धन्दा नै बनायो । डाक्टर कुट्न सोही गिरोह सक्रिय हुने गरेको उनको अनुभव छ ।

‘अहिले धेरै चिकित्सक विदेश पलायन भइरहेका छन् । नयाँ पुस्तामा चिकित्सा शिक्षा पढ्ने रुचि घट्दो छ । पढिहाले पनि सर्जरीको सट्टा छाला रोग, रेडियोलोजी लगायतका विषय छान्न थालेका छन्’ ।

‘गिरोहले ठाउँ-ठाउँमा आफ्नो मान्छे राख्दोरहेछ । कुनै विरामी मर्न लाग्यो भन्ने सुन्नासाथ बार्गेनिङ गर्दोरहेछ । पैसा उठाउने, नभए तोडफोड गर्ने र उठाएको पैसामध्ये पनि थोरै रकम विरामी पक्षलाई दिएर धेरै आफूले राख्ने प्रवृत्तिको विकास भइदियो,’ डा. लोचन भन्छन् ।

उपचारका क्रममा कुनै कारणले विरामीको ज्यान गएमा वास्तविक तथ्य नबुझी हचुवाकै भरमा ‘अस्पतालको लापरवाही’ भनिदिने र उपद्रव मच्चाउने काममा सोही गिरोह सक्रिय भएको उनको अनुभव छ ।

उनका अनुसार यसलाई मिडियाले पनि उक्साउन थाले । मृत्युको कारणबारे सत्यतथ्य बाहिर आउनुपूर्व नै मिडियाले चिकित्सक वा अस्पतालकै लापरवाही भनिदिन थाले । परिणामस्वरूप, यस्तो परिस्थितिको सिर्जना भयो कि मर्न लागेको विरामीलाई कुनै पनि निजी अस्पतालले भर्ना लिनै आनाकानी गर्न थाले ।

‘यस्तो प्रवृत्ति बढ्दै गएपछि चिकित्सकको सुरक्षालाई लिएर हामीले धेरै पटक लड्नु पनि पर्‍यो । अहिले धेरै चिकित्सक विदेश पलायन भइरहेका छन् । नयाँ पुस्ताले चिकित्सा शिक्षा नै पढ्न छोडेको छ । पढिहाले पनि सर्जरीको सट्टा छाला रोग, रेडियोलोजी लगायतका विषय छान्न थालेका छन्,’ उनी भन्छन् ।

चिकित्सकहरुको हकहितमा काम गर्ने संस्था नेपाल चिकित्सक संघको महासचिवको जिम्मेवारीमा रहेकाले यस्ता गिरोहविरुद्ध पनि संघर्ष गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘डाक्टरहरु विरामीलाई बचाउन रोगसँग लडिरहेका हुन्छन् । तर, मृत्युको बहानामा डाक्टरविरुद्ध जाइलाग्ने गिरोहविरुद्ध पनि लड्नुपर्ने जिम्मेवारी छ ।’

डिभोर्स रोक्ने काइदा

नेपाल चिकित्सक संघमा आवद्ध हुँदा कसैकसैले डा. लोचनलाई ‘बिग्रने भइस्’ पनि भने । फिजिसियन भएकाले संघमा काम गर्ला की नगर्ला भनेर धेरैले उनीप्रति शंका पनि जाहेर गरे । उनी भने आफ्नो भूमिकामा प्रस्ट थिए ।

उनलाई थाहा थियो, समयको सही व्यवस्थापन गर्न सकेको खण्डमा जस्तोसुकै काम पनि सजिलै गर्न सकिन्छ । त्यसका लागि केलाई बढी प्राथमिकता दिने त्यो महत्वपूर्ण हुन्छ ।

‘मानिसले जे जति काम गरेपनि त्यो पूरा गर्ने भनेको २४ घण्टाभित्रै हो । र, ती सबै कुरालाई पूरा गर्न समयको सही व्यवस्थापन जरुरी छ,’ उनी भन्छन् ।

यति धेरै व्यस्ततावीच घरपरिवारलाई उनी कत्तिको समय दिन्छन् त ?

‘सकेसम्म म घर परिवारलाई समय दिन्छु । काम धेरै छ, कार्यव्यस्तता पनि चर्कै छ । त्यसलाई व्यवस्थित गर्ने भनेको एउटै कुराले हो, समयको उचित व्यवस्थापन,’ डा. लोचनको जवाफ छ ।

दुवैतिर काम गर्दा घर विग्रने र डिभोर्स नै हुनसक्ने अवस्था नआओस् भनेर उनले विशेष नियम नै बनाएर घर परिवारलाई समय दिए । ‘सूचना नै प्रकाशित गरी सातामा एक दिन अनिवार्य विदा लिनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गराएका थियौं,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment