Comments Add Comment

सबस्टेशन निर्माणमा बाधा पुर्‍याउनेे प्रवर्द्धकलाई जरीवाना तिराउने कुलमानको चेतावनी


१४ जेठ, काठमाडौं । लमजुङको कीर्तिपुरमा विद्युत प्राधिकरणले सबस्टेशन निर्माण गर्न लागेको छ । तर, २५ मेगावाटको माथिल्लो दोर्दी ए ले विद्युत गृह बनाउने ठाउँ खन्दा निस्किएको ढुंगा माटो सबस्टेशन निर्माणस्थलमा फालिदिएकाले प्राधिकरणले काम सुचारु नै गर्न सकेको छैन ।

एकातिर यसरी निजी आयोजनाका कारण प्राधिकरणले काम सुरु गर्न सकेको छैन भने अर्काेतिर यही आयोजनाको प्रवर्द्धक नै प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेशनत निर्माण नगरेका कारण विद्युत् खेर जाने भयो भनेर भन्दै हिडेका छन् ।

४८ रोपनी जग्गामा सबस्टेश बनाउने भनेपनि प्राधिकरणले ठेकेदारलाई साइट दिन सकेको छैन ।

‘सबस्टेसन बन्ने जग्गामा ढुंगामाटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनालाई निर्देशन दिंदै भने, ‘तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपाइर्ंहरूका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरीवाना तिराउँछौ ।’

कुलमानको यस्तो आक्रोशपछि आयोजनाको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्न सहमत भएका छन् ।

प्राधिकरणले प्रसारण लाइन समयमा नबनाईदिंदा विद्युत खेर जाने अवस्था आउन लागेको सार्वजनिक भएपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत आयोजनाको स्थिति बुझ्न स्थलगत निरीक्षणमा गएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा गएका हुन् ।

माथिल्लो दोर्दी ए आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८ भित्र निर्माण सक्ने दावी गरेका छन् ।

प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावासायिक रुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) भने अगस्ट २०१९ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सव स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने बताए । उनले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइनका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत पनि खेर जान नदिने प्रतिबद्धता जनाएको छ ।

‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारण लाइन नबनाइदिंदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’, उनले भने, ‘ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउँछौ, प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिंदैनौं ।’

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सव स्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र वुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर-उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पिपिएअनुसार, आयोजनाको आरसिओडी पनि अगस्ट २०१९ नै रहेको छ ।

प्राधिकरणका प्रवक्ता एवं विद्युत ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको जानकारी दिए ।

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन बनाउनु पर्छ उदिपुर-मार्किचोक प्रसारण लाइन बन्नु पर्छ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिरन्तन राणाले बताए ।

‘उदिपुर-मार्किचोक-भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८बाट टेक्का कार्यान्वयनमा आइसकेको छ’, राणाले भने,’१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ खुदीमा सव स्टेसन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment