Comments Add Comment

८ महिनामा औषधि मात्र झण्डै २० अर्बको आयात


१४ जेठ, काठमाडौं । पछिल्लो ८ महिनामा मात्र झण्डै २० अर्बको औषधि आयात भएको पाइएको छ । र, आयात विगतका वर्षहरुमा भन्दा बढ्दो दरमा छ ।

आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनामा भारत, चीन र तेश्रो मुलुकबाट नेपालमा कुल १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ । सबैभन्दा धेरै भारतबाट
१५ अर्ब ६५ करोड र चीनबाट कुल ४८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ ।

त्यस्तै, बंगलादेश, श्रीलंका लगायतका तेश्रो मुलुकबाट कुल तीन अर्ब ७४ करोड रुपैयाँको औषधी आयात गरिएको आर्थिक सर्वेक्षण मा ०७४/७५ मा उल्लेख छ ।

करिब आठ महिनाको अवधीमा नेपालमा आयात गरिएका यी औषधि गत वर्षको तुलनामा धेरै हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा भारत, चीनका साथै तेस्रो मुलुकबाट कुल १६ अर्ब २० करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।

आर्थिक वर्ष ३०७३/७४ भरमा भारत, चीन र तेस्रो मुलुकबाट कुल २५ अर्व ४४ करोड रुपैयाको औषधि आयात भएको थियो । यो यस वर्ष अझ बढ्ने देखिएको छ ।

आयात हुने औषधिहरुमा करिब १५ हजार भन्दा बढी ब्राण्डका सिटामोल देखि लाइफ सेभिङ ड्रगसम्म छन् । नेपालमा लाइफ सेभिङ ड्रगको उत्पादन हुन नसक्नु, चिकित्सकहरुलाई विदेशी औषधिको गुणस्तरीयतामा बढी विश्वास हुनु, विदेशी औषधि तुलनात्मक रुपमा नेपालमा उत्पादित औषधी भन्दा सस्तो हुनुले पनि नेपालमा आयात हुने औषधीको संख्या प्रत्येक वर्ष बढ्दै गएको नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य बताउँछन् ।

‘नयाँनयाँ रोगहरु थपिँदै गएका छन् तर, त्यसको तुलनामा नेपालमा लाइफ सेभिङ ड्रगहरुको उत्पादन निकै कम हुने गरेको छ’ महासचिव आचार्यले अनलाइनखबरसँग भने, ‘भएका पनि नेपालमा उत्पादित औषधि केही महंगो हुन्छन् ।’

यही कारण नेपालमा आयात हुने औषधिको संख्या प्रत्येक वर्ष बढ्दै गएको संघले जनाएको छ ।

संघका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ३६ अर्ब रुपैयाँ बराबरको औषधी खपत हुने गर्छ । त्यसमध्ये करिब २० देखि २५ अर्ब बराबरको औषधि आयात हुन्छ ।

बाँकी १६ अर्ब बराबरको औषधि भने नेपाली उद्योगहरुबाटै उत्पादन हुने गरेको छ । नेपाली उद्योगले सिटामोलदेखि मुटु, मुधमेह लगायत गम्भीर रोगहरुको उपचारमा प्रयोग हुने औषधिसमेत उत्पादन गर्छन् । ५० भन्दा बढी उद्योगहरुले नेपालमा हजार भन्दा बढी औषधि उत्पादन गर्दै आएका छन् ।

छ वटा उद्योग सञ्चालनका क्रममा छन् । त्यसबाहेक, नेपालमा सरकारी स्तरमा स्थापना भएको एक मात्र उद्योग छ, नेपाल औषधी लिमिटेड, जसले करिब डेढ वर्ष अघिबाट नेपालमा सिटामोल तथा जीवनजलको उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment