Comments Add Comment

ट्रयापमा धुर्मुसः सरकारले पैसा नदिने, चन्दा उठाउन पनि नदिने

१७ जेठ, काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसको अगुवाईमा देशकै पुरानो वीर अस्पताल काँचुली फेर्ने क्रममा छ ।

गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस-सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । पछि यसमा अरु थुप्रै सामाजिक अभियन्ताहरु जोडिए ।

सरकारका सरसफाइ दूत रहेका धुर्मुस सुन्तलीले आफै अहोरात्र अस्पतालमा खटेर सरसफाइको नेतृत्व गरे । यही क्रममा उनले अस्पताललाई नमूना रुप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन पनि आवश्यक रहेको भन्दै मन्त्री अर्याल र अस्पताल व्यवस्थापनसँग यसका लागि प्रस्ताव राखे ।

मन्त्रीले खुशी भएर सहमति दिइन् । अस्पताल प्रशासन पनि तयार भयो । त्रिपक्षीय मौखिक सहमतिपछि धुर्मुुुसले उधारोमा रंग ल्याएर काम सुरु गरिहाले ।

अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन । धुर्मुस उधारोमा रंग लगाउँदै गएका छन् । अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

धुर्मुसले वीरमा रंगरोगन गर्न थालेको र रंगको पैसा उधारो रहेको कुरा बाहिर आएपछि स्वतस्फुर्तरुपमा केही आर्थिक सहयोग आउन थालेको थियो । अहिलेसम्म १४ लाख रुपैयाँ यसरी संकलन भएको जानकारी धुर्मुसले दिएका छन् ।

तर, बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् । सरकारले खर्च व्यहोर्छ त भन्ने पत्रकारहरुको सवालमा उनले कुनै जवाफ दिइनन् । जबकी यो सबै कार्य आफ्नै अगुवाईमा भइरहेको गर्वसाथ बताइन् ।

रंगरोगनको काम अझै आधाउधी बाँकी छ । पूरा काम सक्न करिब १ करोड लाग्ने अनुमान छ । ओपीडी वार्डको भित्री भागहरुको रंगरोगन भोलि सकिनेछ भने पछाडिको बिल्डिङ पुरै बाँकी छ ।

‘सहयोग लिन पनि नपाइने, सरकारले पैसा पनि नदिने हो भने कसरी काम सिध्याउने ?’ धुर्मुस निकट स्रोतले अनलाइनखबरलाई भन्यो ।

अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले केही दिनअघि अनलाइनखबरसँगको अन्तरवार्तामा अस्पतालको रंगरोगन तथा सरसफाइको सम्पूर्ण खर्च अस्पतालले नै गरिरहेको दावी गरेका थिए । सरकारले खर्च गर्ने भनेपछि किन धुर्मुसले सहयोग लिइरहेका छन् भनेर प्रश्न पनि उठ्यो । उनै निर्देशकल बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामीले रंगरोगनको लागि एक पैसा खर्च गरेका छैनौं, यो खर्च जुटाउने जिम्मेवारी सामाजिक अभियन्ताहरुको हो ।’

निर्देशकले सबै खर्च धुर्मुसको थाप्लोमा हाल्नु र अर्कोतर्फ मन्त्रीले चन्दा उठाउन नपाउने उर्दी लगाएपछि धुर्मुस समस्यामा परेका हुन् ।
पत्रकार सम्मेलनमा धुर्मुस स्वयम् पनि उपस्थित थिए । उनले सुरुदेखि नै स्वास्थ्यमन्त्री र वीर अस्पतालका निर्देशकसँग समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

‘मैल जे गरेको छु, उहाँहरुसँग सोधेर सहमतिमा गरेको छु,’ उनले भने । पछिल्ला दिनमा केही मिडियाहरुमा आफूमाथि अवाञ्छित आरोपहरु आएको भन्दै धुर्मुस पत्रकार सम्मेलनमा भावुक बनेका थिए ।

‘आफ्नो व्यक्तिगत काम सबै छोडेर, घरपरिवार छोडेर दिनरात देश सेवामा खटिएको छुृ, तर, ममाथि नै विभिन्न आरोपहरु सञ्चारमाध्यममा आएको देख्दा पीडाबोध भएको छ,’ धुर्मुसले भने, ‘मेरा सबै काम पारदर्शी छन्, यदि कुनै काममा एक रुपैयाँ पनि हिनामिना भएको कसैले प्रमाणित गरेमा त्यो दिनबाट म यो धरतीमा रहन्न ।’

उनले अहिलेसम्म वीर अस्पतालका लागि आफूले चन्दा आह्वान नगरेको बताए ।

‘जब पनि संकलन भएको छ, स्वतस्फुर्तरुपमा भएको हुँ । हाम्रो कामबाट प्रभावित भएर दाताहरु आफैं आएर सहयोग गर्न चाहेपछि नलिनु कसरी ?’ धुर्मुसले भने ।

अहिलेसम्म आफूले जति पनि काम गरेको छ, निश्वार्थरुपमा गरेको भन्दै उनले अनेकथरी प्रश्न उठाइँदा चित्त दुख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment