Comments Add Comment

विवाह : प्रेमको मिलन कि सामाजिक व्यवहार ?


साहित्यमा सबैभन्दा धेरै कुन विषयमा कलम चलेको होला ? मानिसहरु सबैभन्दा धेरै कुन विषयमा चर्चा गर्छन् होला ? सबैले सजिलै भन्न सक्ने विषय हो प्रेम । हो, साहित्यमा कलम चलाउनेले छुँदै नछोएको वा लेख्दै नलेखेको र पढिँदै नपढिएको विषय होइन, प्रेम ।

बरू धेरै लेखिएको, बोलिएको र पढिएको विषय हो । बट्रन रसेलदेखि फ्रायड, मार्क्सदेखि ओशोसम्म सबैले प्रेमका बारेमा चर्चा गरेका छन् ।

यहाँ मैले भने प्रेम र विवाहका विषयमा चर्चा गर्न खोजेकी हुँ । प्रेम समाजसंग जोडिएपछि कसरी यो व्यक्तिगत भयो त ? प्रेमलाई व्यक्तिगत दायरामा राख्न मिल्छ र ? प्रेमसंगै आउँछ विवाह र यौन पनि ।

प्रेमसंग यौन जोडिनसक्छ तर प्रेम र विवाह फरक कुरा हुन् । प्रेम विवाहमा परिणत भएपछि फरक परिवार, फरक परिवेश, फरक संस्कृति जोडिन आउँछ । के यसलाई समाजशास्त्रीय दृष्टिकोणले हेर्न आवश्यक छैन र ?

मानिसका आफ्नै मौलिक तथा आधारभूत इच्छा, चाहना र आवश्यकता हुन्छन्ा् । यी नैसर्गिक र प्राकृतिक हुन् । ऊ त्यसलाई प्राप्त गर्न खोज्छ । हरेकलाई हरेक कालखण्डमा मन मिल्ने कोही आओस्, सुखदुख सोधिदेओस्, सञ्चो विसञ्चो, खाए नखाएको बुझिदेओस् भन्ने लाग्दो होला ।

बितेका रमाइला पल पनि मष्तिष्कमा घुम्दा हुन् र, त्यही सफलताका रोमाञ्चित क्षण फेरि एक पटक प्राप्त गर्न पाए हुने भन्ने पनि लाग्दो होला ।
ठीक छ, कहिलेकाहीँ उमेरान्तरको प्रेम पनि शास्वत हुन्छन्, भएका पनि छन् । उमेरान्तरमा पनि मष्तिष्कमा प्रेमको अपार उर्जा भरेर जीवन सुन्दर र सुखमय बनाएका पनि छन् ।

यसो भनिरहँदा कसैले अनावश्यक प्रशंसा गर्नु, बढी चासो दिनु, प्रेमप्रतिको आशक्ति होइन ? यदि होइन भने जसरी ‘म तिमीलाई माया गर्छु, प्रेम गर्छु’ भनेर निस्फिक्री भन्नेले किन ‘म तिमीलाई मन पराउदिन ‘भन्ने जवाफ सुन्न चाहँदैन ? जसरी पनि उसलाई मैले पाउनै पर्छ भन्ने अहम्ा किन राख्छ ? के प्रेमको अर्थ पाउनै पर्छ भन्ने हो र ?

आमाले छोरालाई गर्ने प्रेम, बुवा-छोरीको प्रेम, दाजुभाई-दिदीबहिनीको प्रेम, साथी-संगीको प्रेम, प्रेमी-प्रेमिकाको प्रेम र मानिस र जनावरको प्रेम । सबैमा माया तथा आत्मीयता भेट्छौं । त्यसैले प्रेम आफैमा एक महान सत्य र जैविक तथ्य हो भन्ने लाग्छ ।

फेरि पनि यसो भनिरहँदा जसलाई आमा-बुबाजतिकै विश्वास, सम्मान र भरोसा गरिएको हुन्छ, त्यही व्यक्तिले प्रेम प्राप्तिको आशा गर्नुलाई के भन्ने ? प्रेम वा शारीरिक आशक्ति के हो ? ‘म तिमीलाई प्रेम गर्छु, तिम्रो घरमा तिम्रो हात माग्न आउछु’ भन्नु के हो ? प्रेम भएपछि विवाह गर्नैपर्छ भन्ने छ र ? कि प्रेमको परिभाषा नै विवाह हो ? यदि होइन भने यो कस्तो प्रेम हो त ? त्यसैले प्रेमलाई समाजशास्त्रीय दृष्टिकोणले हेर्न हामीले बिर्सियौ कि जस्तो लाग्छ ।

खासमा विवाह त एउटा सामाजिक, साँस्कृतिक कर्मकाण्डी सम्झौता न हो । अझ भनौं सामाजिक अनुमोदन अनि बन्धन न हो । प्रेम भावनात्मक मिलन हो भने विवाह सामाजिक बन्धन हो । प्रेम त मनदेखिको भावनात्मक र हार्दिक आकर्षण होइन । आफ्नो मनलाई समर्पण गरेर अरूलाई आकर्षण गर्न प्रेम प्रकट भएको हो ।

तसर्थ प्रेम सम्झौता र वन्धन हुँदै होइन । मन मार्गमा हृदयगतिमा स्वछन्द यायावर भै सललललल बग्नु हो प्रेम । नदीजस्तै कहिले घट्दै सुक्दै त कहिले भरिभराउ भएर छङ्छङाउदै, कहिले यो किनार भत्काउँदै त कहिले त्यो किनार । पोखरी जस्तो घेरिएर, बन्धनभित्र भलादमी भएर वा कुनै अभियन्ताले बनाइदिएको नहरको डिलको बन्धनमा घेरिएर, त्यतिमा सीमित भइ बग्नु होइन प्रेम । समाजका उच्चतम मानवीय मर्यादा कायम राख्दै निरन्तर बग्नु हो प्रेम ।

यो समाजले प्रेम र विवाहलाई परिपूरक ठान्छ तर होइन । मनले गरिएको प्रेम पो प्रेम त । पद, प्रतिष्ठा र धनको प्रलोभनमा परेर गरिएको र बन्धनमा बाँधिएर गरिएको प्रेम मनसँग नजिक हुदैहुदैन भने त्यसलाई कसरी प्रेम भन्ने ? नाता सम्बन्ध नभएरै, आशमा नपरेरै, मनसँग जोडिएको मनको तारको प्रेमलाई भने कसैले छेक्न सक्दैन ।

तपाईले शारीरिक रुपमा सम्बन्ध विच्छेद गरे पनि यदि मनले गरेको प्रेम छ भने त्यो प्रेमलाई कुनै कानूनले पनि छेक्न सक्दैन । त्यसैले अरुको भावनामा ठेस पुर्‍याउनु, एक्लो देखेर, रूप हेरेर, उमेर र जवानीमा लठ्ठिएर वासनाको लालसाले उन्मक्तिएर शारीरिक सुखको वैधानिक चाहनामा विवाहको प्रस्ताव राख्नु अपराध जस्तै होइन र ?

यति भनिरहँदा एकहोरो भएर हेरियो कि जस्तो पनि लाग्यो । र र्फकन मन लाग्यो अर्कोे पाटोतर्फ । जब कोहीसँग चिनजान हुन्छ, कुराकानी हुँदै जान्छ, गफकै सिलसिलामा जब हाँसेर बोलिन्छ, उसलाई लाग्दो रहेछ उसलाई मन पराएर हाँसेर बोलेकी । नत्र उ किन मसँग हाँसेर बोल्छे भनेर आफ्ना साथीभाइसँग चिया गफ बन्ने गर्छ । हामीलाई थाहै हुँदैन कि हामी त कतिखेर चिया गफ बनिसकेका हुन्छौं ।

हाम्रो मनमा प्रेम र वासनाको त्यस्तो कुनै चाह र भाव दुबै हुदैन । तर, उनीहरुले त कतिलाई सुनाउन भ्याइसकेका हुन्छन् । समाजका लब्ध प्रतिष्ठितहरुले पनि आफ्नो मानसिक औकात देखाइदिन्छन् । अत्यन्तै सम्मान गरेको व्यक्तिले समेत यस्तो सोच्दा र भन्दा हामीले कसलाई विश्वास गर्ने ? प्रेमको पवित्रता र स्वच्छताप्रति २१ औं शताब्दीका भनिएका यस समाजका विवेकशील मानिस किन यति धेरै अनुदार ? सायद हामीले नै यसलाई पचाएर, लुकाएर र प्रतिवाद नगरेर पो हो कि ?

मैले समाजशास्त्रीय दृष्टिकोणको कुरा गरेकी थिएँ । अपराधको कोटीमा राखिएको कामलाई मात्र कानुनले परिभाषा र नियमन गर्दछ ।

विवाहलाई दर्ता विवाह र साँस्कृतिक सामाजिक रीत अनुसार गरिने विवाहका रुपमा कानुनले परिभाषा गरेको भए पनि प्रेमलाई कानूनले परिभाषा गरेको छैन । गर्भ र जन्मको अवस्था रहेछ भने वा पतिपत्नी जनाउने प्रमाण रहेछन्ा् भने पनि विवादित अवस्थामा विवाह मानिन्छ ।

विवाहबाट अधिकार, कर्तव्य र दायित्व सिर्जना हुने भएकाले र सामाजिक, पारिवारिक सम्बन्ध र मान्यता स्थापना हुने गरेकाले त्यसको परिभाषा र व्यवस्थापन कानुनले गरेको छ ।

प्रेम त स्वतन्त्र हुन्छ, यसमा न कुनै दायित्व, न अधिकार, काम, कर्तव्य नै हुन्छ । प्रेम अपराध पनि होइन र सामाजिक पारिवारिक सम्बन्धको औपचारिकतामा बाँधिएको पनि हुँदैन, त्यसैले कानुनले वास्ता गरेन । तर समाजले यसलाई नियालिरहृयो । आखिर कानुन समाजकै लागि र समाज मानवको हित र भलाइका लागि हो । तर साँचो प्रेमका अगाडि यो समाज, कानून, बन्धन सबै सबै फितलो हुन्छ ।

बंगलादेशमा एक लेखकले आफ्नै माइली छोरीकी साथीसँग विवाह गरेको प्रेम कस्तो हो ? ८५ वर्षको व्यक्तिले ३५ वर्षकी युवतीसँग गरेको प्रेम कस्तो हो ? एक भन्दा बढी व्यक्तिलाई के एकैसाथ प्रेम गर्न सकिदैन ?

मनको तारले जोडिएकाहरुको सम्बन्धलाई के भन्ने ? विवाह भएर पनि अरुसँग प्रेम हुन सक्दैन र ? कसैले कसैलाई मन पराउन उसको स्वीकृति या अनुमति लिन जरुरी छैन । उसले मन नपराउनु अलग कुरा हो । सुन्दा असहज लागे पनि यी सत्य हुन र भएका र भइरहेका घटना पनि हुन् ।

(झापाकी स्थायी बासिन्दा माया न्यौपाने साहित्यमा मायामितुका रुपमा परिचित छिन् । समाचार, कथा र कविता उनका लेखनका मुख्य विधा हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment